‘लकडाउन’ मा इन्स्टाग्रामबाट धेरै कमाउने रोनाल्डो



लन्डन, एजेन्सी ।

इटालियन कलब युभेन्ट्स तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो कोरोनाबाट सुरक्षित रहन गरिएको लक डाउन अवधिमा सामाजिक सन्जाल इन्स्टाग्रामबाट सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।

युरोपमा लकडाउन सुरु भएयता रोनाल्डोले कूल १.९ मिलियन पाउन्ड इन्स्टाग्रामबाट आम्दानी गरेको जनाएको छ । यो समग्र खेलकुद विधाको मूल्यांकन हो । रोनाल्डोले सो अवधिमा मात्रै चार पोस्ट गरेका छन्, जुन व्यावसायिक पोस्ट हुन् । अर्थात्, यस अवधिमा रोनाल्डोले गरेका आफ्ना प्रायोजकहरूको चार पोस्टले १.९ मिलियन पाउन्ड कमाइ गर्न सफल भएको हो । जुन अन्य कुनै पनि खेलाडीको भन्दा अधिक हो ।

रोनाल्डोले कूल १.९ मिलियन पाउन्ड कमाइ गर्दा हरेक पोस्टबाट ४ लाख ७० हजार पाउन्डभन्दा बढी आम्दानी गरेका छन् । सन् २०१९ मा पनि उनले इन्स्टाग्रामबाट करिब ३९ मिलियन युरो आसपास कमाइ गरेका थिए, जुन सर्वाधिक बनेको थियो । उनले गत वर्ष क्लबको वार्षिक कमाइभन्दा पनि बढी इन्स्टाग्रामबाटै आम्दानी गरेका थिए ।

रोनाल्डोपछि लक डाउन अवधिमा इन्स्टाग्रामबाट सर्वाधिक कमाउने खेलाडी हुन् स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेसी । मेसीले यस अवधिमा इन्स्टाग्रामको पोस्टबाट कूल १.३ मिलियन पाउन्ड आम्दानी गरेको जनाइएको छ । मेसीपछि पीएसजीका ब्राजिलियन स्टार नेयमारले लक डाउन अवधिमा १.२ मिलियन पाउन्ड कमाइ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्