सर्भिसलेनमा भारतीय गाडीको रजाई, सरोकारवाला निकाय मुकदर्शक



यमलाल भुसाल, बुटवल ।

कोरोना भाईरसका कारण लकडाउनको बेला नेपाली ट्रक लगायत मालबाहक गाडीहरु बन्द भएपनि भारतीय गाडीले भने मालसमान बोकीरहेका छन् ।

लकडाउनको शुरुदेखि अहिलेसम्म भारतीय लामा मालबाहक गाडीहरुले बुटवल भैरहवा लगायतका ठाउँंमा सामान बोकेर आउने गरेका छन् । विशेष गरेर भारतीय १६ चक्के टेलर मालबाहक गाडीहरुले भारतबाट दैनिकजसो बुटवल क्षेत्रमा सामान ल्याउने गरेका छन् ।

नेपाली व्यवसायीका सामान बोकेर आएका भारतीय गाडीले बुटवलको सर्भिसलेन प्रयोग गर्ने गरेका छन् । लकडाउनको मौका छोपेर व्यवसायीले आधा भन्दा बढी भाग सर्भिसलेन प्रयोग गरेर भारतीय गाडीहरु पार्किङ गर्ने गरेका छन् ।

लकडाउनको बेला नेपाली गाडीहरुलाई चल्न नदिएको अवस्थामा पनि बुटवल आएका भारतीय गाडीहरुले सर्भिसलेन प्रयोग गर्दापनि नजिकै रहेको प्रहरी र नगर प्रहरीले कूनै चासो दिएको देखिदैन ।

अतिआवश्यक कामले सामान्य मोटरसाईकल चलाएका नेपाली नागरिकलाई नगर प्रहरी र नेपाल प्रहरीले परिचयपत्र खोज्दै सडकमा रोकेर तिनपुस्ते सोधर अनावश्यक दुख्ख दिने गरेको छ तर लक डाउनको बेलामा दिन दाहाडै भारतीय मालबाहक गाडीहरुलाई निर्वाद रुपमा छोड्ने गरेको प्रहरीले सर्भिसलेन प्रयोग गर्दा पनि मुकदर्शन बन्ने गरेको छ ।

विशेष गरेर भारतीय टेलर गाडीहरुले मार्वल, टायल लगायत घर निर्माणमा प्रयोगहुने सामान बोकेर दैनिकजसो रुपन्देहीको तिलोत्तमा र बुटवल लगायतका क्षेत्रमा आउने गरेका छन् ।

तिनै मार्वल र टायल बोकेका भारतीय गाडीहरुले व्यवसायिक रुपमा सर्भिस लेन प्रयोग गर्ने गरेका छन् । विशेष गरेर तिलोत्तमा नगरपालिकाको जानकीनगर आसपास र बुटवलको कालिकानगर क्षेत्रमा मार्वल र टायल बोकेर आएका भारतीय गाडीहरुले आधा भन्दाबढी सर्भिसलेन पार्किङको रुपमा प्रयोग गरेको दृष्य दैनिक रुपमा देख्न सकिन्छ ।

बुटवलको कालिकानरको एक मार्वल पसलले छ लेन सडकको सर्भिस लेनमा भारतीय गाडी दुइ दिनसम्म पार्किङ गरेर लकडाउनको बेला मार्वलको व्यापार गरेको छ ।

यो एउटा उदाहरणको एक पात्र मात्र हो । मार्वल व्यवसायीले लकडाउनको बेलामा लकडाउनको कूनै पनि निर्देशन पालना नगरी सर्भिस लेनलाई पार्किङको रुपमा प्रयोग गर्ने गरेका छन् ।

नेपाली गाडहीहरु रोकेर परिचयपत्र खोज्नमा सक्रिय देखिने प्रहरी भने ठूलाठूला मार्वल बोकेका भारतीय लामा गाडीहरु दुई दिनसम्म सर्भिस लेनमा पार्किङ गर्दापनि देखेपनि नदेखे जस्तै गर्ने गरेको छ ।

लकडाउनको बेला रुपन्देहीको बुटवल क्षेत्रमा एक दुइवटा चलेका नेपाली गाडीलाई भने प्रहरीले कडाई गर्ने गरेको छ । भारतीय गाडीहरुलाई निर्वाद रुपमा चल्न दिएको प्रहरीले नेपाली गाडीहरुलाई कारवाहीसमेत गर्ने गरेको यातायात व्यवसायीको गुनासो रहेको छ । तिलोत्तमाको जानकीनगर र बुटवलको कालिकानगर आसपासमा भारतीय कामदारसहित भारतीय गाडीहरुले सामान झारी रहेको अवस्थामा जनप्रतिनिधि र प्रहरीलाई खवर गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीय अग्नी थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्