सरकारद्वारा ८ करोड सहयोग उपलब्ध नगराए डायलसिस सेवा बन्द हुने मुटु अस्पतालको चेतावनी



यमलाल भुसाल, बुटवल ।

सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलसिस सेवा बन्द गर्ने भएको छ ।

विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलसिस तथा मुटु, क्यान्सर लगायतका विरामीलाई उपचारमा सहुलियत दिने सरकारको घोषणा अनुरुप मुटु अस्पतालले विगत ४ वर्षदेखि निशुल्क डायलसिस सेवा उपलब्ध गराउंदै आएको थियो । विपन्न वर्गका विरामीलाई डायलसिस सेवा उपलब्ध गराए वापत अस्पतालले प्राप्त गर्नुपर्ने पौने आठ करोड रकम भुक्तानी हुन नसकेको अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष एजाज आलमले स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको ११ महिनाको पौने ८ करोड रकम भुक्तानी नगर्दा अस्पतालले दिएको डायलसिस सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको जानकारी दिनुभयो ।

अध्यक्ष आलमले तिन तहका सरकारका विचमा अस्पतालहरुको नविकरणका विषयमा भएको अलमलका कारण ११ महिना वितिसक्दा पनि रकम निकासा हुन नसकेको बताउनुभयो ।

विपन्न वर्गका नागरिकको लागि नेपाल सरकारले उपचारमा दिने सहुलियतका लागि अस्पताल सूचिकृत भई २०७३ साल पुष १७ गतेदेखि निशुल्क डायलसिस सेवा संचालन गर्दै आएको थियो ।

हाल प्रदेश ५ मा साढे ६ सयको हाराहारीमा मृगौलाका विरामी रहेको भएपनि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्र साढे ३ सय जना विरामीले निशुल्क डायलसिस सेवा लिंदै आएका छन् । त्यो संगै चालु आर्थिक वर्षको ११ महिनामा विपन्न वर्गका २ सय ६३ विरामीले सहुलियतमा मुटुको उपचार सेवा लिएका छन् । तर सरकारबाट भुक्तानी हुनुपर्ने रकम रोकिएका कारण डायलसिसको लागि आवश्यक डाइलाईजर, फ्लुड, हेपारिन, ट्युब, फिस्टुला लगायतका सामग्री उपलब्ध गराउंदै आएका सप्लायर्सले समेत उपलब्ध गराउन बन्द गराएपछि असार १ गतेदेखि सेवा बन्द गर्न बाध्य भएको अध्यक्ष आलमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्