चेल्सीले टिमो वेर्नरलाई भित्र्याउने



लन्डन, एजेन्सी ।

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले नयाँ सिजनका लागि जर्मन बुन्डेसलिगा टोली आरबी लेइपजिगका स्टार टिमो वेर्नरलाई भित्र्याउने भएका छन् ।

कोरोना भाइरसका कारण इङ्गलिस प्रिमियर लिग क्लबहरु आर्थिक संकटबाट गुज्रिरहेको भएपनि चेल्सीले यसपटकको ट्रान्सफर विन्डोमार्फत् २४ वर्षीय वेर्नरलाई भित्र्याउन लागेको हो । वेर्नरले अब चेल्सीबाट हप्ताको दुई लाख पाउण्ड पाउने छन् ।

यसअघि अर्को इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले पनि वेर्नरप्रति चासो देखाएका थिए । तर, लेइपजिगले वेर्नरका लागि ५३ मिलियन पाउण्ड रिलिज क्लज राखेपछि लिभरपुल पछि हटेको थियो । वेर्नरले यो सिजन लेइपजिगका लागि सबै खाले प्रतियोगितामा गरी ३१ गोल गरेका छन् । स्टुटगार्टबाट २०१६ मा लेइपजिग आएदेखि नै वेर्नर टोलीको महत्वपूर्ण खेलाडी बन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्