कोरोना संक्रमितलाई जीपी कोइरालाको आइसोलेशनमा राखेर उपचार



मिला दरै,तनहुँ ।

तनहुँको ऋषिङ गाउँपालिकाका कोभिड १९ बाट संक्रमित भएका दुवै जनालाई आइसोलेशनमा लगिएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना पुष्टि भएका थप दुई जनाको शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा राखी उपचार हुने बताइएको छ ।

भारतको नयाँ दिल्लीबाट आएका सोही गाउँपालिकाका ३९ र ४० वर्षीय पुरुषमा ऋषिङ गाउँपालिका स्थित शुक्ला माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका थिए । बुधबार जिल्ला अस्पतालले स्वाव संकलन गरी परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा थियो ।

सिमानाकाबाट जेठ १२ गते ४६ जनाको समूहमा तनहुँ आइपुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताउनुभयो । गत सोमबार सोही गाउँपालिकाका व्यास नगरपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय एक पुरुष र शुक्रबार ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका दुई पुरुष गरी जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या तीन जना पुगेको छ ।

शुक्रबार तनहुँमा कोरोना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा ५६ जना पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्