एक्काइसौं शताब्दीको जातीय विभेद



गङ्गा खनाल

जन्मले हामी सबै शूद्र हौँ, जसले ब्रह्म जानेको छ त्यो मात्र ब्रह्मण हो भनेर वेद र उपनिषद्ले भन्दाभन्दै पनि शास्त्रको विभिन्न अपव्याख्याद्वारा जातीयतालाई स्थापित गर्ने प्रयत्न गरियो । नेपालको जातीय विभेदका अध्यताहरूले नेपालको मुकुकी ऐन १९१० ले जातीय विभेदलाई कानुनीरूपमा स्थापित गरेको तर्क गर्छन् ।

करिब साढे दुई वर्षअघि कमल खत्रीको बहुचर्चित गीत ‘जाऊँला रेलैमा…’ भर्खरै युटुबमा सार्वजनिक भएको थियो । जातीय विभेदले कसरी एक मानिसलाई आफू जन्मे–हुर्केको परिवार र समाजलाई चटक्कै छाडेर बिरानो बन्न बाध्य बनाउँछ भन्ने यथार्थलाई गीतले मार्मिक ढङ्गमा प्रस्तुत गरेको छ । मलाई यो गीत यति धेरै मन प¥यो कि एकपटक सुन्न अनुरोध गर्दै धेरैलाई फेसबुक मेसेन्जरमा सेयर गरेँ । ती मध्ये धेरै साथी थिए भने केही परिवारका सदस्य र आफन्त थिए । त्यत्तिकैमा मेरो आफन्तमध्येकै एकजना दिदीले मेजेस गर्नुभयो र भन्नुभयो, ‘ए केटी, तैंले पठाएको गीत त राम्रै छ तर यस्तो गीत सुन्नलाई मात्र हो नि, बुझ्नलाई हैन । राम्ररी बुझेस् । फेरि यस्तै–यस्तै सिकेर जात फाल्लिस् । बिहे गर्ने उमेर हुन लाग्या छ, बुद्धि पु¥याएस् ।’

म दङ्ग परेँ । मास्टर्स पास गरेकी, सरकारी अधिकृत बन्न लोक सेवाको तयारी गरिरहेकी ती दिदीले यस्तो अनपेक्षित कुरा गरिन् । स्कुलदेखि नै छुवाछूतविरोधी पाठ्यक्रम पढेर हुर्किएकी उनलाई सो पढाइ कोरा साबित भएछ झैँ लाग्यो । स्कुले पढाइले तिनको दिमाग त भरिएछ तर मन र आत्मा बदल्न सकेनछ । मैलाई लाग्यो– स्कुलको दैनिक ६ घण्टाको पढाइभन्दा जातीयताको भावले जरो गाढेको उनको घर र संस्कारले दैनिक १८ घण्टा दिएको प्रशिक्षण शक्तिशाली भएछ ।

हालै रुकुममा घटेको घटनाबारे समाचारहरू पढिरहँदा मलाई धेरै पहिले आफैंसँग जोडिएको यो प्रसङ्ग सम्झनामा आयो । र, मनमा कैयौं प्रश्न पनि सँगै उठे । के नवराज र उनको साथीहरूको हत्या गर्नेहरूलाई जातीय विभेद गलत हो भन्ने थाहा थिएन होला त ? के उनीहरूले यसबारे पढेका, सुनेका, जानेका थिएनन् त ?

यो पाशविक हत्यामा वडाध्यक्ष नै संलग्न छन् भन्ने कुरा पनि प्रकाशमा आएको छ । के ती जनप्रतिनिधिलाई जातीय विभेदबारेको कानुन थाहा थिएन होला त ? उनले के भनेर आफ्ना ठाउँका कथित दलित समुदायका जनतासँग भोट मागे होलान् ? के उनलाई विजयी बनाउने चुनावमा दलित समुदायको भोट थिएन होला त ? यस्ता कैयौं प्रश्नहरू मेरो मस्तिष्कमा उठे । तिखो सुई बनेर मेरो बुझाइ र समझमा घोच्न पुगे अनि भावनामा गहिरो चोट पु¥याए ।

रुकुम घटनाले पोलिरहेको बेला संयुक्त राज्य अमेरिकाको हालैको एक घटनाले थप झकझक्यायो । अमेरिकाको मिनिसोटाका एक निहत्था, समर्पण गरिसकेका, आक्रामक नदेखिएका अश्वेत युवकलाई मिनियापोलिस प्रहरीका एक श्वेत अधिकृतले भुइँमा लडाएर करिब ९ मिनेटसम्म खुट्टाले घाँटी थिची हत्या गरे । रिपोर्टमा भनिएको छ कि जर्ज फ्लोयड नामक ती युवा हलचल गर्न नसकेर होस गुमाएको ३ मिनेटपछिसम्म पनि ती प्रहरी अधिकृतले उनको घाँटी थिची नै रहे ।

यस्तो रङ्गभेदी, अमानवीय र क्रुर घटनाको विरोधमा आज श्वेत÷अश्वेत सबै जुर्मुराएका छन्, अमेरिकामा ठूलै आन्दोलनको शुरुवात भएको छ । दासप्रथालाई गैरकानुनी घोषणा गरिएको डेढ सय वर्षभन्दा बढी समयपछि आजको अमेरिकी समाजमा यस्तो घटना घट्नुले धेरै प्रश्न उठाएको छ, कुनै पिछडिएको भनेको समाजमा पनि होइन, संसारको सबैभन्दा सम्पन्न, शक्तिशाली, विकसित र मानव विकास हासिल गरेको भनिएको देशमा भएकाले ।

नेपाल र अमेरिकामा विभेदका कारण घटेका यी दुई घटनालाई जोडेर हेर्दा संसारका विभिन्न देशमा विभिन्न सामाजिक व्यवस्थाको फलस्वरूप विभेद उत्पन्न हुँदो रहेछ भन्ने बुझ्न कठिन हुँदैन । तर मननीय विषय के हो भने, हरेक विभेदको इतिहासमा अविवेकी र स्वार्थी शासक एवं तिनका चाकरी र भक्तिले सम्पन्न बन्ने उद्देश्य बोकेका आसेपासे हुन्छन् । यिनैको शक्ति र भक्तिको भोक एवं चरम अहंकारले गर्दा धर्म, संस्कृति वा यस्तै केही आममानिसको विश्वासमा आधारित विषयलाई च्यापेर वर्गीय शोषणलाई सामाजिक व्यवस्थाको रूपमा स्थापित गरिन्छ । समयक्रममा यसलाई कानुनी आधार पनि प्रदान गरिन्छ । र, बिस्तारै यस्तो विभेदकारी व्यवस्था समाजको चलनचल्तीको मान्यता बन्न पुग्छ ।

‘जन्मना जायते शूद्रः ब्रह्म जानातीति ब्राह्मणः’ अर्थात् जन्मले हामी सबै शूद्र हौँ, जसले ब्रह्म जानेको छ त्यो मात्र ब्रह्मण हो भनेर वेद र उपनिषद्ले भन्दाभन्दै पनि शास्त्रको विभिन्न अपव्याख्याद्वारा जातीयतालाई स्थापित गर्ने प्रयत्न गरियो । नेपालको जातीय विभेदका अध्यताहरूले नेपालको मुकुकी ऐन १९१० ले जातीय विभेदलाई कानुनीरूपमा स्थापित गरेको तर्क गर्छन् । तर विभिन्न क्रान्ति र राजनीतिक परिवर्तनहरूको शृङ्खलाहरूले नेपाली समाजलाई थप सचेत बनाउँदै लगेपछि हामीले जातीय विभेदलाई इतिहासमा गरिएको ठूलो भूलको रूपमा स्वीकार गर्यौं र यसलाई कानुनीरूपमा उखेलेर फाल्यौँ ।

तर समाज धेरै अघि बढिसकेको अवस्थामा फेरि दोहोरिएर यस्ता घटना घट्नुको महत्वपूर्ण सन्देश पक्कै छ । भनिन्छ, हरेक मानिसभित्र दैवी र असुरी दुवै गुण हुन्छन् । दैवी गुण हिजो पनि, आज पनि, सेवा, स्वीकार्यता, समानताको रूपमा देखा पर्थे र पर्छन् । तर पाशविक, अमानवीय, अहंकार र विकारयुक्त गुण आजको समाजमा विगतको विभेद र छुवाछूतको बहानामा देखा पर्न थालेको छ ।

अतः आजको समाजमा हुने जातीय विभेद कानुन र चेतना मात्रको विषय होइन । यो त मनोवैज्ञानिक विषय हो । स्वीकार्यता र सहिष्णुताको विषय हो । त्यसैले दिमाग मात्रको परिवर्तनको उपाय (कानुनी र शैक्षिक) ले यो समस्या दीर्घकालसम्म समाधान नहुन पनि सक्छ । यसको लागि हामीले सामाजिक मनो–उपचारको विधि अपनाउनुपर्छ । जातीय अन्तरघुलनलाई प्रोत्साहन गर्नुपर्छ ।

जातीय विभेदलाई समाप्त गर्ने उपाय भनेकै सबैको बीचमा भावनात्मक सम्बन्ध स्थापित गर्न सक्नु हो । वैवाहिक, मितेरी आदिजस्तो सम्बन्ध यस उपायको एक कडी हुन सक्छ । हिजो वर्गीय असमानतालाई जातीयताको रूपमा स्थापित गर्दा शासकबाहेकका सबै जातिहरू (कथित ठूला–साना सबै) का गरिबहरू झन् गरिब बन्ने र निश्चित राजकाजमा संलग्न घरानाहरू मात्र सम्पन्न बन्ने स्थितिको निर्माण भयो । अतः आजको समाजमा जातीय अन्तरघुलन, एक–अर्काको संस्कृतिको स्वीकार्यता र सहिष्णुता नै नवीन नेपालको निर्माण र वर्गीय असमानता मेट्ने प्रस्थानविन्दु बन्न सक्छ । यसको प्ररम्भ सबैले आफैंबाट र आफ्नै परिवारबाट गरौँ ।
(लेखिका खनाल युथ इनोभेसन नेटवर्कको सचिव हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्