तनहुँमा थप २ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, तनहुँ ।

तनहुँमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ऋषिङ गाउँपालिकाको शुक्ला माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका ३९ र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

भारतको नासिकबाट आएका दुई जनामा कोभिड १९ को संक्रमण परीक्षणका लागि पठाइएकोमा शुक्रबार रिपोर्ट पोजिटिभ आएको हो । बुधबार जिल्ला अस्पतालले स्वाव संकलन गरी परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा थियो ।

सिमानाकाबाट जेठ १२ गते ४६ जनाको समूहमा तनहुँ आइपुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताउनुभयो । गत सोमबार सोही गाउँपालिकाका व्यास नगरपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय एक पुरुष र शुक्रबार ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका दुई पुरुष गरी जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या तीन जना पुगेको छ ।

थप दुई जनालाई पनि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा राख्ने र उपचार गर्ने अधिकारीले बताउनुभयो । शुक्रबार तनहुँमा कोरोना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा ५६ जना पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्