उमा कुङफु खेलाडीले जिते स्वर्ण  



नेपाल समाचारपत्र, काठमाडौं

अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी गराएका छन् ।

अनलाइन प्रतिस्पर्धामा रहेको सो प्रतियोगितामा नेपालले थप २ रजत र १ कांस्य पनि जितेको हो । नेपालका लागि कमल मगरले पुरुष ताइचीको सफ्ट स्टायलमा स्वर्ण जिते । त्यस्तै महिला ताइचीको सफ्ट स्टायलमा मुन्नी सुवेदी लामा तामाङले स्वर्ण जित्न सफल भइन् ।

महिला ताइचीमा जमुना गुरुङ तथा पुरुष फम्स विथ म्युजिकमा सुदीप श्रेष्ठले स्वर्ण जिते । यसैगरी सञ्जयराज पुटुवारले पुरुषतर्फ सफ्ट स्टायल र टे«डिसनल वेपनमा गरी दुई रजत नेपाललाई दिलाएका थिए । स्वर्ण जितेका कमलले नन् ट्रेडिसनल वेपनमा कांस्य हासिल गरेका थिए ।

वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्ल्यूएमएसी)ले आयोजना गरेको प्रतियोगिता अस्ट्रियाको ब्रिगेन्जमा मे २८ देखि ३० तारिखसम्म भएको थियो । प्रतियोगितामा विभिन्न चार महादेशबाट १४ राष्ट्रका २ सय ३३ खेलाडीले प्रतिस्पर्धा गरेको अध्यक्ष लामाले जानकारी दिए । नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जित्न सफल भएका हुन् ।

खेलाडीले आफूले सहभागिता जनाउने स्पर्धाको १ देखि ३ मिनेट सम्मको श्रव्यदृष्य डब्ल्यूएमएसीमा पठाउनुपर्ने थियो । एक स्पर्धाका लागि खेलाडीले १५ युरो दर्ता शुल्क तोकिएको थियो । एकभन्दा बढी स्पर्धामा भाग लिनुपर्ने भए अत्तिरिक्त ५ युरो तिर्नुपर्ने थियो ।

डब्ल्यूएमएसीले कोरोना भाइरस (कोभिड–१९) कारण आफ्नो सम्पूर्ण वार्षिक प्रतियोगिता स्थगित गर्नु परेपछि यो भर्चुअल प्रतियोगिता आयोजना गरेको अध्यक्ष लामाले नेपाल समाचारपत्रलाई बताए ।

अध्यक्ष लामाले अहिलेको विषम परिस्थितमा पनि भर्चुअल प्रतियोगिता आयोजना गरेर खेलाडीको मनोबल उच्च पार्न सहयोग गरेकोमा डब्लुएमएसीका अध्यक्ष हेराल्ड फोल्लाडोरीलाई धन्यवाद दिए ।

स्थिति सामान्य नभए नोभेम्बरमा डब्ल्यूएमएसीले भर्चुअल विश्व च्याम्पियनसिप पनि आयोजना गर्न लागेको अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्