सरकारको असफलता



कोरोना भाइरसको संक्रमणको विस्तार सरकारको असफलताको परिचायक बनेको छ । खासगरी सरकारले देशभरका क्वारेन्टिन व्यवस्थित गर्न नसक्दा यो असफलता भोग्नुपरेको हो । क्वारेन्टिनमा रहेकालाई औषधी र उचित खानाको व्यवस्था गर्न नसकेपछि त्यहाँ व्यक्तिहरू अडिन सकेका छैनन् । संघीय सरकारले उचित अनुगमन गर्न नसक्दा स्थानीय तह र प्रदेश सरकारले मनपरी रूपमा क्वारेन्टिन तयार पार्दा र भारतबाट नेपाल भित्रिएकालाई व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो ।

कतिपय क्वारेन्टिन नाम मात्रको देखिएका छन् । प्रदेश २ मा त खुला चौरमा झुल दिएर बस्न आग्रह गरिएको छ । प्रदेश ५ को बाँकेको नरैनापुरको क्वारेन्टिन त्यस्तै छ । विद्यालय र क्याम्पसमा क्वारेन्टिन भनेर राखिएका व्यक्तिहरू अडिन सकेका छैनन् । कतिपयमा खानेपानी नै छैन । अधिकांश क्वारेन्टिनमा क्षमताभन्दा बढी व्यक्ति राखिएको छ ।

सरकारले कोरोना संक्रमितको उपचारमा करिब १० अर्ब रुपियाँ खर्च भइसकेको दाबी गरेको छ । त्यति धेरै रकम कसरी खर्च भयो भनेर खोजी गर्नु अर्को पक्ष हुनसक्छ, तर क्यारेन्टिनमै व्यक्तिको मृत्यु हुनेसम्मको अवस्था किन आइरहेको छ, यो भने तत्काल ध्यान दिने विषय बनेको छ । अधिकांश रकम क्वारेन्टिन निर्माणमा खर्च भएको सरकारको दाबी छ ।

कोरोना संक्रमण दोस्रो चरणमा पुगिसकेको अवस्थामा देशभर भएका क्वारेन्टिनलाई व्यवस्थित गर्न सकिएन भने नेपालको अवस्था झन् भयावह हुनेछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको कोरोना उच्चस्तरीय समितिले क्वारेन्टिन व्यवस्थित गर्ने विषयमा स्थानीय तहसँग खासै समन्वय गर्न सकेको देखिँदैन । स्थानीय तह प्रदेश सरकारले रकम नभएको कारण नेपालमा करिब एक हजारको संख्यामा रहेको क्वारेन्टिनलाई व्यवस्थित गर्न सकेको छैन ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई संयोजक रहेको क्वारेन्टिन निर्माण समितिले कोरोना संक्रमित राख्न देशैभरि क्वारेन्टिन बनाउने निर्णय गरेको थियो । तर त्यो विषय हालसम्म कार्यान्वयन हुन सकेको छैन । पीसीआर परीक्षणबाट कोरोना संक्रमित भएका र नभएकालाई एकै ठाउँमा राख्दा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेको अवस्था छ ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । त्यसमध्ये ६ जनाको त क्वारेन्टिनमै मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ९ जनाको मृत्यु भएको छ । यस्तै मुलकभर क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ५५ हजार ८ सय ६८ रहेको छ ।

यसैबीच बजार खोल्ने अभ्यास पनि भइरहेको छ । नागरिक पूर्ण सचेत भएर बजार खोल्नु आवश्यक पनि छ । कोरोना संत्रमितलाई व्यवस्थित रूपमा क्वारेन्टिनमा राखेर परीक्षण गरेमा संक्रमितको संख्या कम हुने हो । लकडाउन मात्र गर्दा अन्य विविध समस्या मात्र सिर्जना भएका छन् । तर नागरिक चेतना नदेखिए र त्यसअनुसार व्यवहार नभए संक्रमितको संख्या बढ्दै जाने र नेपालमा आपत्काल घोषणा गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

 

प्रतिक्रिया दिनुहोस्