राम्री र फिट रहनु आजको आवश्यकता : देविका वन्दना



करिब तीन दशकदेखि नेपाली गीत–संगीतको क्षेत्रलाई आफ्नो कर्मथलो बनाउँदै आएकी  गायिका देविका वन्दना यो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् । उनले आफूलाई एक त्यस्तो सफल गायिकाको रुपमा स्थापित गरेकी छिन्, जसले करिअरको यो मोडसम्म आइपुग्दा नेपालीका अलावा नेवारी, हिन्दी, मराठीलगायतका विभिन्न भाषाका हजारौं गीतलाई सुमधुर स्वरले श्रवणीय बनाएकी छन् ।

‘यस्तै रहेछ यहाँको चलन….’ देखि ‘एउटा परदेशी मन चंगा….’ सम्मका लोकप्रिय र सदावहार गीतमा स्वर दिएकी उनले ‘अच्छा लेकिन, भरे आउँछु सपनीमा, सुन–सुन सनम’लगायतका गीतमार्फत कुनै समय नेपाली फिल्मको पाश्र्व गायनमा एकछत्र राज गरेकी थिइन्। कार्यक्रमको सिलसिलामा बुटवल र काठमाडौं आउजाउ गरिरहने देविका बुटवलस्थित लाइनेस क्लबमा आबद्ध भएर समाज सेवामा सक्रिय छन्। आत्मसन्तुष्टिको लागि समाज सेवा गर्ने गरेको उनी बताउँछिन् ।

‘लाइनेस क्लबमार्फत हामीले विभिन्न ग्रामीण भेगका स्कुलका बालबालिकालाई शैक्षिक सामग्रीका साथै लत्ता कपडा बाँड्ने गरेका छौँ, बुटवलमै हामीले सासू– ससुराको नाममा पद्मसुर सम्मान वार्षिक रूपमा प्रदान गर्दै आएका छौँ । बेला–बेलामा वृद्धाश्रममा गएर खाना पनि खुवाइरहेकी छु’, देविकाले साधनासँग कुरा गर्दै अगाडि भनिन्– ‘तर मलाई आफूले गरेका समाजिक कामहरुको भिडियो या फोटो खिचेर बाहिर ल्याउन मन लाग्दैन ।’

अरुलाई सहयोग गर्दा आफूलाई खुशी मिल्ने बताउने देविकाले केही वर्ष अघि सपनीमा नामक फिल्मी गीत र यस्तै रहेछ नामक आधुनिक गीत तथा भजन समावेश पुस्तक प्रकाशनमा ल्याएकी थिइन् । उक्त पुस्तक बिक्रीबाट प्राप्त रकम उनले असहाय बालबालिकाको निम्ति खर्च गरिरहेकी छन् भने लकडाउनको कारण हातमुुुख जोर्न समस्या भएका स्थानीय मानिसहरुलाई आवश्यक सहयोग पनि गरिन् ।

गायन र समाज सेवासँगै आफ्नो फिट्नेस र सुन्दरतालाई कायम राखिरहेकी देविका आफू सधैँ स्वास्थ्य र सुन्दरता प्रति सचेत रहेको बताउँछिन् । ‘म पहिलेदेखि नै ब्युटी र हेल्थ कन्सियस नै छु। स्वास्थ्यवद्र्धक खानेकुरामा सधैँ जोड दिन्छु। बिहान ५ बजे उठेर ध्यान गर्छु। त्यसपछि रेगुलर एक्सरसाइज गर्छु । बिहान एक्सरसाइज गर्न भ्याइएन भने बेलुका भएपनि गर्छु। सुन्दरताको लागि म बाहिरभन्दा घरमै उपलब्ध हुने प्राकृतिक वस्तुको प्रयोग गर्छु ।

मुल्तानी माटोमा रोजवाटर मिलाई फेसप्याक बनाएर प्रयोग गर्छु । साथै अनुहारमा एलोभेरा जेलको पनि प्रयोग गर्छु। एलोभेरा जेल जुनसुकै प्रकारको अनुहारमा पनि प्रयोग गर्न सकिन्छ। घिउकुमारीको जुस दैनिकखाने गरेकी छु। साथै गोलभेंडा काटेर तथा पाकेको केरालाई मिचेर अनुहारमा लगाई सुकेपछि धुने गर्नाले पनि अनुहारमा प्राकृतिक चमक ल्याउन सकिन्छ’, देविका आफ्नो अनुभव सेयर गर्छिन्।

आफ्नो रहर पूरा गर्न गायन क्षेत्रमा लागेको बेलातिर नै ब्युटी पार्लर सम्बन्धी तालिम लिएकी देविका शृङ्गार गर्न मन पराउँछिन्। ‘मलाई मेकअप गर्न मन पर्छ तर अनुहार सुहाउँदो मेकअपले मात्र नारीमा सौन्दर्य थप्छ । अनुहार सुहाउँदो मेकअप भएन भने हास्यास्पद र भद्दा देखिन्छ’, उनको अनुभव छ। देविका भन्छिन्, ‘मेरो लागि राम्री र फिट रहनु आजको आवश्यकता हो भने रुचि पनि हो।’

भित्री सौन्दर्यले नै बाहिरी सौन्दर्यमा निखार ल्याउँछ भन्ने सोच राख्ने देविकाको भनाइ छ, ‘हाम्रो समाजमा रुपभन्दा महिलाको गुण अर्थात्व्यवहार कस्तो छ भन्ने कुरामा मान्छेको मूल्यांकनगरिन्छ। मलाई लाग्छ, ब्युटी विथ ब्रेन भन्नाले मानिसको रुप र गुण दुवैको मिश्रण हो । मान्छेको असलबानी व्यवहार हुनु राम्रो कुरा हो। त्यसमाथि रुप पनि राम्रो भयो भने भाग्यमानी मानिन्छ।’

कोरोना भाइरसको संक्रमण रोक्नको लागि सरकारले जारी गरेको लकडाउनको समयलाई आफूले सिर्जनात्मक तरिकाले सदुपयोग गरेको देविका बताउँछिन्। उनी भन्छिन्, ‘यो बेलालामो समय घर–परिवारको साथ रहनपाएँ।

सिर्जनात्मक काम गर्ने अवसर पनि पाएँ।’ड्रेस डिजाइनमा रुचिभएको र आफ्नो लागि आफैं डिजाइन गर्ने भएकोले यो समयमा आफ्ना लागि ड्रेस डिजाइन गर्ने, सिलाउने, रियाज गर्ने, गीत–संगीतलाई समय दिनुका साथै विभिन्न परिकार बनाएर परिवारलाई खुवाउने गरेर समय बिताएको देविका बताउँछिन् ।

प्रस्तुतिः रश्मी थापा

प्रतिक्रिया दिनुहोस्