सबैभन्दा ठूलो सौर्य ऊर्जा प्लान्टबाट विद्युत् उत्पादन,पहिलो चरणमा १.२५ मेगावाट थपियो



न्युज अफ नेपाल,काठमाडौं ।

सोलार आयोजनाबाट उत्पादित १ दशमलव २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट १ दशमलव २५ मेगावाट सञ्चालनमा आएको हो ।

सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेका आधारमा १ दशमलव २५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुनेछ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ ।

२५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो । आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रिडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

बाँकीको काम अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

‘वैशाखभित्रमा १५ मेगावाट ग्रिडमा जोड्ने गरी काम भइरहेको थियो तर लकडाउनका कारण निर्माण प्रभावित हुँदा केही ढिला भयो’,घिसिङले भन्नुभया–‘सोलारबाट उत्पादित विद्युत जोडिएसँगै नेपालको प्रणालीमा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् बढी रहेकोमा अब ऊर्जाका विभिन्न स्रोतको विविधिकरण हुँदै प्रणालीमा ऊर्जा मिश्रण बढ्दै गएकोछ ।’

प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान गरिएको छ ।

अहिले देवीघाट विद्युतगृह नजिकको एक ठाउँमा राखिएको प्यानलबाट उत्पादन भएको विद्युत् प्रणालीमा जोडिएको हो । एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्