महामारीसँगै मानसिक रोग बढ्दै



लक्ष्मण अधिकारी ।

कोभिड–१९ को महामारीले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक स्वास्थ्य समस्या पनि वृद्धि गरिरहेछ तर राज्यको ध्यान यसतर्फ गइरहेको देखिन्न । अहिले सम्पूर्णको ध्यान महामारीको नियन्त्रणतर्फ केन्द्रित भइरहेको तर यसैको कारण मानसिक समस्या उत्पन्न भइरहेकोतर्फ भने ध्यान पुग्न नसकेकोमा संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गर्दै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

महासचिव एन्थनी गुटेर्स

राष्ट्र संघका महासचिव एन्थनी गुटेर्सले हालैको प्रेस ब्रिफिङमा भनेका छन्, ‘कोभिड–१९ को महामारीको कारण आफन्तहरुको मृत्यु–पीडा, रोजगारी गुमाउनुपर्दा वा गुम्ने खतराको चिन्ता,एकान्त बास तथा घुमफिरमा लागेको प्रतिबन्ध, भविष्यको अनिश्चितताका कारणले अहिले डिप्रेसन, चिन्तालगायतका मानसिक समस्या देखिएका छन् ।यस्ता समस्यालाई सरकार, नागरिक समाज, स्वास्थ्य अधिकारीहरु र अरु सम्बद्धनिकायहरुले तत्कालै सम्बोधन गर्न जरुरी छ ।’

महासचिव गुटेर्सले भनेका छन्, ‘मानसिक स्वास्थ्य मानवताको केन्द्रविन्दु हो तरसामान्य अवस्थामा पनि मानसिक स्वास्थ्य त्यति प्राथमिकतामा परेको छैन, त्यसमा पनि कोभिड–१९ ले अहिले परिवार र समुदायको मानसिक स्वास्थ्यमा घातक आक्रमण गरिरहेको छ ।

महामारी नियन्त्रणमा आइसकेपछि पनि दुःख, चिन्ता र डिप्रेसनले परिवार र समुदायलाई निरन्तर प्रभाव पारिरहनेछ । त्यसकारण मानसिक स्वास्थ्य पूर्वाधारको विकास, विस्तारतर्फ ध्यान दिन आवश्यक छ । मानिसहरुलाई क्वारेन्टाइन तथा आइसोलेसनमा राख्दा पनि उनीहरुको मानसिक स्वास्थ्यबारेमा ख्याल गर्न जरुरी छ ।’

डा. विश्वबन्धु शर्मा
डा. विश्वबन्धु शर्मा

मेडिकेयर अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ, ‘कोभिड–१९ को महामारीपछि मानसिक रोगका नयाँ बिरामीहरुको संख्या वृद्धि हुन थालेको छ । साथै लामो उपचारपछि रोग निको भएर सामान्य जीवनमा फर्किसकेका बिरामीहरुमा पनि मानसिक रोग दोहोरिन थालेको पाइएको छ ।’डा. शर्माका अनुसार लकडाउन हटिसकेपछि पनि यो समस्या दोहोरिँदै जानसक्ने सम्भावना छ ।

यस्तैगरी ओम अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. पुष्पप्रसाद शर्माले कोरोना भाइरसको महामारीपछि विशेष गरी डिप्रेसन, चिन्ता, निद्रा गडबडी, डर–त्रास हुनेजस्ता मानसिक समस्या भएका बिरामी धेरै देखिएको बताउनुभएको छ । कोरोना भाइरसको महामारी आएपछि शुरु भएको लकडाउनसँगै मानसिक रोगका पुराना बिरामीमा पनि समस्या देखिएको जानकारी उहाँले दिनुभएको छ ।

प्रा.डा. पुष्पप्रसाद शर्मा

उहाँ भन्नुहुन्छ, ‘मानसिक रोगका बिरामीले लामो समयदेखि खाइरहेको एउटै डोजको औषधिको डोजमा हाल आएर वृद्धि गर्नुपरेको छ । साथै रोग निको भइसकेर तीन–चार वर्षअघि नै औषधि छोडेकालाई अहिले रोग बल्झिएकोले औषधि शुरु गर्नुपरेको छ ।’

के कारणले रोग बढ्यो ?

हाल मानसिक रोगका बिरामीको संख्यामा वृद्धि हुनुको मुख्य कारणसम्बन्धमा मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ, ‘एक त आफूलाई पनि रोग लाग्छ कि, आफन्तलाई केही हुन्छ कि भन्ने डर–त्रास छ । अर्कोतिर लकडाउनले जीवन अनिश्चित बनाइदिएको छ । कतिपयको रोजगारी गुमिसकेको छ भने कतिपयको रोजगारी गुम्ने, व्यवसाय धराशायी हुने खतरा देखिएको छ ।

काममै जानेहरुमा पनि तनाव र त्रासमय वातावरण छ । कतिपयलाई आर्थिक समस्या शुरु भइसकेको छ । कतिपयले एकान्त बासमा बस्नुपरेको छ भने अचानकको लकडाउनले परिवार छुट्टिएर बस्नुपरेको छ । कतिपयका छोराछोरी विदेशमा बसेका छन् र आउन सकिरहेका छैनन् ।

उनीहरुमा तनावको स्थिति छ । यसले गर्दा नयाँ बिरामी थपिनुका साथै निको भइसकेका बिरामीमा पनि रोग बल्झिन थालेको पाइएको छ ।’उहाँ भन्नुहुन्छ, ‘कोरोना भाइरस संक्रमण भइसकेपछि पनि कतिपयलाई लक्षण देखिँदैन । यस्तो जानकारी पाएका कमजोर मन भएका मानिसहरु साधारण लक्षण रुघाखोकी लाग्दा, जीउ तातो हुँदा पनि डराउने, चिन्ता गर्ने प्रवृत्ति देखिएको छ ।

कुनै कामले बाहिर निस्कँदा पनिरोग लाग्यो कि भनेर चिन्ता गर्ने गरेको पाइएको छ । अहिले कोरोना भाइरसको त्रासभन्दा पनि यसका कारण गरिएको लकडाउन र त्यसबाट उत्पन्न अन्य पारिवारिक, सामाजिक, आर्थिक समस्या र भविष्यको जीवनको अनिश्चितताले मानसिक समस्या बढी देखा पर्न थालेको हो ।’

यस्ता मानिस बढी बिरामी

जनहप्किन्स युनिभर्सिटीले गरेको अध्ययनअनुसार कोरोना भाइरसका बारेमा राम्रो जानकारी नभएका मानिसहरुमा भावनात्मक समस्या बढी देखिएको छ । सो युनिभर्सिटीले चीनमा गरेको पछिल्लो दुईवटा ठूला अध्ययन अनुसार कोरोना भाइरसको महामारीका बारेमा राम्रो जानकारी नभएकाहरुमा यसबारे जानकारी भएका मानिसहरुमा भन्दा भावनात्मक अवस्था खस्किएको पाइएको थियो ।

कोरोना भाइरसको महामारी फैलिरहेका बेला महामारीको इपिसेन्टर (उहान) को नजिक बस्ने र बढी खतराको सूचीमा रहेकाहरु (वृद्ध र लकडाउनका अवस्थामा कोरोनासम्बन्धी कार्य गर्न खटिएकाहरु) मा ७४ प्रतिशतसम्म भावनात्मक आनन्दको अनुभूतिमा गिरावट आएको पाइएको थियो ।

नेपालको सन्दर्भमा कुरा गर्दा अहिले फ्रन्टलाइनमा बसेर कोरोनाका बिरामी जाँच्ने, स्वाव संकलन र परीक्षण गर्ने कार्यमा खटिएका स्वास्थ्यकर्मीहरु रोगको त्रासलेभन्दा पनि कामको बोझ र थकानले तनावमा पर्ने गरेको पाइएको छ । प्राविधिक जनशक्ति र स्वास्थ्य पूर्वाधारको कमीका कारण उनीहरु निरन्तर सेवामा खटिनुपर्दा थाकेर केही दिनको बिदाको अपेक्षा गर्न थालेका पाइएको छ । उनीहरुमा ढाड दुख्ने, घाँटी दुख्ने शारीरिक समस्या हुनुका साथै मानसिक तनाव हुन थालेको छ ।

मानसिक रोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्माका अनुसार ‘कोरोना भाइरसको संक्रमण नियन्त्रण, उपचार, परीक्षण कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीभन्दा पनि अहिले सर्वसाधारण मानिसमा कोरोनाको त्रास र मानसिक पीडा बढी देखिएको छ ।

उहाँ भन्नुहुन्छ, ‘प्रहरीहरुले विभिन्न आन्तरिक द्वन्द्व, भूकम्प, आदि डिजास्टरमा काम गरिसकेकाले उनीहरु धेरैजसोमा यस्ता समस्या झेल्ने क्षमता भएकोले सामान्यतया मानसिक समस्या देखिँदैन । त्यस्तै गरी कोरोनासँग सम्बन्धित भएर काम गर्ने धेरै स्वास्थ्यकर्मीले यसले पार्ने प्रभाव, यसबाट बच्ने उपायसम्बन्धमा बुझेका छन् । साथै स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर यस किसिमको समस्या कसरी झेल्ने भनेर सिकाउने, गरिएकाले उनीहरुमा मानसिक समस्या त्यति देखिँदैन ।

बरु उनीहरुलाई कामको बोझ, आरामको कमीले तनाव सिर्जना गर्न सक्छ । तर सर्वसाधारणहरुले कोरोनाका प्रभाव र बच्ने उपायसम्बन्धमा राम्रो बुझेका हुँदैनन् । जसको घर, टोल, छिमेक, कार्यालयमा बिरामी भेटिएका छन्, उनीहरुमा डर–त्रास र चिन्ता बढी देखिएको छ ।

साथै अहिले मेडियाले पाको उमेरका मानिस, डायबिटिज भएका, उच्च रक्तचाप भएका र अन्य दीर्घरोग लागेकालाई खतरा हुन्छ भनेर प्रकाशन/ प्रसारण गरिरहेको छ । यो सही हो तर यसले त्यो वर्गमा बढी चिन्ता र त्रास फैलाएकोले मानसिक समस्या बढी देखिएको छ ।’

‘अहिले धेरै विशेषज्ञले यो महामारीले संसारमा दूरगामी असर गर्ने, कोरोनाअघि र पछिको संसार फरक हुने बताइरहेका छन् । उनीहरुको भनाइमा अब संसार त्यही अवस्थामा फर्किंदैन, फरक हुन्छ र फरक एवं नयाँ तरिकाबाट जीवले जिउनुपर्ने हुन्छ ।यही अनिश्चितताले गर्दा पनि मानिसलाई अर्को खालको मानसिक समस्या थपिइरहेको’ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा बताउनुहुन्छ ।

महामारी हटेपछि पीटीएसडी

महामारी आउँछ र केहीलाई लिएर जान्छ । यस्ता महामारी केही महिना वा वर्षपछि निमिट्यान्न हुन सक्छन् । यसले समाजमा विभिन्न किसिमका नकारात्मक प्रभाव छोडेको हुन्छ ।त्यसमध्येको एक हो मानसिक समस्या पीटीएसडी ।

जब मानवजीवन नै खतरामा पार्ने खालका रोगको महामारी आउँछ, युद्ध र आन्तरिक द्वन्द्व हुन्छ, त्यसको प्रभावमा परेका मानिसमा विभिन्न किसिमका मानसिक समस्या आउँछन् । त्यसमा पनि विशेष गरी पीटीएसडी (Post- Traumatic Stress Disorder) नामक मानसिक रोग घटनाको समाप्तिपछि धेरै मात्रामा देखापर्छ । त्यस्ता घटनाको प्रभावमा परेकाहरुमा पछिसम्म पनि सघनरुपमा डर–त्रास, चिन्ता र असहायपनको महसुस भइरहेको हुन्छ ।

यस्तो मानसिक समस्या अर्थात् पीटीएसडीका लक्षणहरु घटना भइरहेका बेला वा एक हप्तापछि वा एक वर्षपछिअनुभव हुने र यस्ता लक्षणहरु भावनात्मक एवं शारीरिक वा दुवै हुनसक्छन् । डा. पुष्प शर्मा भन्नुहुन्छ, ‘हाल उल्लेख्यरुपमा पीटीएसडीका समस्या देखिइसकेको नभए पनि मुख्यतः यो महामारी सकिएपछि देखिन थाल्छ र एक–दुई वर्षसम्म देखिइरहन सक्छ । कसै–कसैलाई लामो समयपछि पनि देखिन सक्छ । भियतनाम युद्धमा १८ वर्षपछि देखिएको थियो ।’

पोस्ट ट्रम्याटिक डिसअर्डर भएकाहरुमा पीडादायक घटनाहरु पुनः दोहोरिएर स्मरण हुने, सपनामा ती घटना देखिने हुन्छ । उनीहरुलाई त्यस्ता घटना अहिले नै भइरहेजस्तो डर उत्पन्न हुन्छ । भावनात्मक शून्यता छाउने, पछुतो, चिन्ता र पीडाको महसुस हुने, चनाखो भइरन मनलाग्ने, केही भइहाल्छ कि भन्ने चिन्ता हुने, अनावश्यक रिस उठ्ने, निद्रा नलाग्ने जस्ता समस्या हुन्छन् । डा. पुष्प शर्माका अनुसार पीडादायक घटनाको महसुस गरेका सबैमा पीटीएसडी विकास हुँदैन, हौसला, सहयोग पाउने विश्वास, घटनाको गहिराइपन, उसको व्यक्तित्व, यस्ता घटनामा पहिले पनि परेको अनुभव आदिमा रोग निर्भर हुन्छ ।

कोरोनाको महामारी फैलिइरहेका बेला अहिले नै विभिन्न किसिमका मानसिक समस्या देखापर्न थालेको भएतापनि सरकार र अन्य सम्बद्ध निकायको ध्यान यसतर्फ गएको देखिँदैन । तर मानसिक रोग विशेषज्ञहरुले यस किसिमको मानसिक समस्या देखापर्न थालेको, निको भएका रोग पनि बल्झिन थालेको बताइरहेका सन्दर्भमा महमारीको व्यवस्थापनसँगै मानसिक रोगको व्यवस्थापनमा पनि ध्यान पुर्‍याउन जरुरी छ ।

मानसिक रोगलाई शुरुमा बेवास्ता गर्दा पछि उपचार गर्न लामो समय लाग्ने र जीवन नै बेकाम्मे बनाउन सक्ने हुन्छ । साथै महामारीको समाप्तिपछि पनि मानसिक रोग देखापर्नसक्ने भएकोले यसको उपचार तथा व्यवस्थापनको लागि दीर्घकालीन सोचका साथ कार्य गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्