‘उपल्लो थलो’र ‘माल्भा’मा घुम्दा



–  प्रकाश शर्मा

हिले म हजूरहरु जस्तै घर भित्रै लक भएर वसेका छु । तर घुम्न भने छोडेको छैन । हो यात्राका कितावहरु पढेर म रमाईलोसँग घुमिरहेको छु । बीगतमा काम पछि वा बीदाका दिनमा पढीएका किताब भन्दा यो समयमा पढीएका किताबहरुबाट मैले वढी सन्तुष्टी पाएको छु ।

किनकी यो समयमा मेरो दिमागमा कि त चेतावनि छ कि त यात्राका रमाईला दृश्यहरु छ । घर वाहीर निस्कन नपाउने चेतावनिले मलाई यात्रामा रम्न अझ एकाग्र बनाएर अक्षरहरु सँगै आफै पाईला चालिरहे जस्तो बनाएको छ , पढ्दै जाँदा आँखा वरिपरि घुम्ने विम्वहरु भन्दा एक कदम अगाडी ।

मोहन मैनालिले एकै अनुरोधमा इ मेल मार्फत पठाई दिनु भएको उपल्लो थलोले मलाई गोरखाको विकट थलोहरुमा विचरण गराएको छ भने र राजेन्द्र प्रसाद अर्यालको माल्भाले अमेरीका , फ्रान्स, वेलायत , थाईल्याण्डको साँसारीक भोग चलनमा पछारेको छ ।

एकै विधाका दुई किताव सँगै पढ्दा फरक लेखन शैली, फरक कल्पनाशिलताका कारण फरक रसस्वादनका साथ फरक परिवेसमा घुम्न पाएँ । विहानदेखी दिनभरि गोरखाका अभावग्रस्त तर सोझा,स्वाभीमानी र परिश्रमी दाजू भाई दिदी वहिनीसँग उकाली ओराली उक्लँदै ओरलँदै गरथे भने साँझमा यूरोप, अमेरिका घुमीरहन्थें।

काठमाडौैको कर्मथलोवाट पेशागत कार्यको लागी मैनालीले आफु चाहार्दा देखेका, भेटेका, महशुस गरेका कुराहरु समेटेर निकालेको पुस्तक उपल्लो थलो प्रकाशित भएपछि त्यहाँको अवस्था सरकारले देख्यो देखेन , देवता वोले कि वोलेनन् थाहा भएन तर जुन नामका शासकहरुले राज गरे पनि शासनमा वेथिति र जनतालाई रैति देख्ने परम्परा भने छुटन नसकेको यहाँका जनताले अनुभव गरे ।

पञ्चायतकाल हटेर काँग्रेस अनि मनमोहन अधिकारी प्रधानमन्त्री रहेको कम्युनिष्ट शासनकालमा जनताले गरेको आशा र निराशालाई मैनालीले हिंडदा हिंडदै समेटन भ्याए । गोरखामा जन्मेर रिटायर्ड लाईफ बिताउन अमेरीका झरेका राजेन्द्र प्रसाद अर्याललाई आफनो बिकट थात थलो गोरखाको त्यो विकटता र अभावले कलम चलाउने बनाउन सकेन किनकि त्यो आफ्नै आँगन थियो र आफ्नो आँगनलाई नै सम्पुर्ण र सहज मान्ने सोझा स्वाभीमानी पुर्खा कै सन्तान थिए उनि पनि ।

काठमाडौं झरेर जागीरमै हराएका राजेन्द्र जव अमेरीका पुगे , अनि संसारको रंगारंग देखेर,बुझेर आफ्नो थलोसँग तुलना गर्न थाले , आफु रमाउन थाले अनि अरुलाई पनि आफ्नो अनुभव साटन कलम चलाउन थाले । मैले यी दुवै पुस्तकको वारेमा एउटै लेखनि बनाएर न दुई लेखक विच तुलना गर्न खोजेको हुँ न त पुस्तकको ।

केवल मेरो पुस्तक प्राप्तीको सँयोग र पढ्ने समय नै समय पाएकोले यात्रामा रमाउन चहानेहरुको लागी एकै बसाईमा दुई फरक परिवेसको वारेमा जानकारी दिएर म जस्तै लकडाउनमा पनि घुम्न चाहानेहरुको लागी सहयोगी बन्न खोजेको मात्र हुँँ ।

यी पुस्तकहरु केही पहिले नै प्रकाशीत भएका हुन , तर घुम्ने ठाउँ , अनुभवहरु पुराना हुन्छन जस्तो लाग्दैन , ठाउँमा केही भौतिक परिवर्तन भएका होलान, घुमेर गरिने अनुभुति व्यक्ति व्यक्तिका फरक होलान तर महिनौंसम्म एउटै घरको कोठामा बसी पढेर घुम्नुको मजा मलाई लाग्छ,जेलमा बाहेक, यस दुनीयामा यस अघि कसैले लिन पाएको थिएन ।

नेपालको अति विकटमध्येको एक उत्तरी गोर्खाको जनताले पाएको दुख टेलिभिजन मार्फत देखाउन करिव २८ दिने यात्रामा भिडीयो खिच्ने क्यामारा,जेनेरेटर र खानेकुराको कुरुम्त भारी सहीत साथीहरुसँग निस्केका मैनालिका अछरहरुसँग डुल्दा कतिपय ठाउँहरुमा आडै सिरङ्ग हुन्थ्यो भने कतिपय अप्ठेरा ठाउँहरुमा पनि तत्कालिन दुख भुलाउन हुने हँसी मजाकमा आफु पनि सहभाही थिएँ की भन्ने भान हुन्थ्यो ।

समय एकदम उपयुक्त होईन,यात्रा कठिन हुनसक्छ भन्ने जान्दा जान्दै पनि बाटो लागेका मैनालि सहितका आँखिझ्याल भिडीयो पत्रिकाको टोलिमध्ये केहीले मृत्यु कुरेर बसेको बेलातिर पुग्दा ’केही गर्ने मान्छेको हुटहुटीले मान्छेलाई कुन दशासम्म पुर्याउन सक्छ’ भन्ने प्रष्ट देखिन्छ ।

पृथ्वी राजमार्गको बेनिघाटबाट साँझपख पैदल निस्केको टोली भोलिपल्ट “क जान्दा पनि धेरै जानिदो रहेछ” भनेर ज्ञान दिने प्रौढ कक्षा पढीरहेकी महिलासँग कुराकानी गर्न स्याउलि पुगीसकेका हुन्छन ।  डेढ घन्टा लगाएर एक गाग्रो पानी ल्याउन अभिसप्त सिखरजुड,सिमलखण्डका दुख स्वयम महेन्द्र महाराजाको भ्रमणले पनि नहटे पछि सानो सहयोग पाएर गाउँले आफैंले पानी ल्याएको , अन्नवाली भन्दा नगदेवालि उखु, तरकारी लगाएर किसानले फाईदा लिएको, वारीबाट पारी लठ्ठा फालेर बुढीगण्डकी जस्तो नदीमा चोयाको कोक्रोबाट नदी तर्ने उपाय खोज्ने जस्ता प्रसडग जोडेर मैनालीले सरकारी फोस्रा योजना भन्दा जनताको स्व स्फुर्त चेतनाले गाउँलेको मुहार फेर्न सकिन्छ भन्ने थुप्रै उदाहरण देखाएका छन् ।

बास वस्न दिनेले अडकलेर पकाएको खाना भोकको झोकमा पन्ध्र जनाको भाग सात जनाले नै सप्काई दिए पछिको ठट्यौलि, निन्द्रामा कसैले जबरजस्ती उठाउन खोजे निन्दै्रमा उसैलाई कुट्ने बानी,काठमाडौंमा मनमोहन अधिकारीको कम्युनिष्टको सरकार बनेको भोली पल्टै छुवाछुत हटेको ठानेर गरिएको व्यवहार, स्वावलम्वनको लागी गाउँलेहरुलाई बाँडीएको धनीया सप्रीएर लहलह भए पनि त्यसले बारी, गाउँ,घर सबै गनाएकोले गाउँलेले तिम्रो धनिया तिमी नै लैजाउ भनेकोप्रसङ्गहरु रमाईलोको लागी मात्र नभएर फरक ढंगमा अबोध समाजको सामाजिक,व्यवहारीक यथार्थता देखाउने लेखाई मान्न सकिन्छ ।

हिउँद लाग्नै लाग्दा उत्तरी क्षेत्र उक्लेको टोली आरुघाटबाट माथी लाग्दा जटामसी, पाँच औंले, जिम्बु,पदमचाल जस्ता जडीबुटी बोकेर लेकबाट बेसी झर्न लागेका मानिसका हुल भेटे पछि गलत समयमा उक्लन लागेको भेउ पाएका टोलीले जाडोको डरले गोठ सार्न तल झारेको भेडाका वथान पनि भेटे , ल्हापु र यारुको डरलाग्दो पहिरोले बदलेको अप्ठेरो वाटो छिचोल्दा र हिउँ पर्नु अगाडीको चिसोको स्याँठ र आफुसँग जाडो छल्न सकीने स्लीपीङ व्याग नभएको अनुभव भै सकेको अवस्थामा कहिले काहीँ त एक मान्छे अग्लो हिउँ पर्छ भनेर सुनेको कुराले मनमा पलाएको डर त्यतिखेर उत्कर्षमा पुग्छ जव टोलीका सदस्यहरु पालै पालोअब यहाँबाट बाँचेर गईन्न भन्ने स्थीतिमा पुग्छन ।

लार्के भञ्ज्याडको जाडोमा कक्रक्क परेका भैरव रिसाल , उठन नसक्ने गरेर थलिएका ध्रुव र नौ नाडी गलेर बाँच्दीन भन्ने निष्कर्समा पुगेका मैनालिले तल झरे भने बाँच्छन र उद्दारको लागी मान्छे पठाउन सक्छन कि भन्ने आसमा भैरव रिसाललाई कर गरेर तल पठाउँछन ।

आफु मर्नु अघि एक जनासम्म साथी मरेको हेर्न मैले आफुलाई तयार बनाएको थिएँ तर दुई दुई जना साथीको सास गएको हेर्ने हिम्मत म मा थिएन ं मैनाली लेख्छन ‘अहिले अनकण्टार ठाउँमा आफ्नो साथी र आफ्नो काल कुर्नु परेको थीयो, तर त्यसको लागी मैले आफुलाई तयार पारीसकेको थिएँ । मृत्यु निश्चीत देखिसके पछि त्यसको डर पनि हराएको थियो ।’

मैनालीको टोली पुगेको ठाउँमा सरकारी व्यवस्थाका उपस्थिती त थियो तर स्कुल भएको ठाउँमा केही महिना शिक्षकहरु पालैपालो वस्थे तर स्थिति कस्तो थियो भने शिक्षकले स्थानिय भाषा जान्दैनथे विद्दार्थीले नेपाली बुझ्दैनथे , स्वास्थ्य चौकी थियो औषधि, उपचार डाक्टर सबै अन्तै काजमा वस्थे.“यतातिर पियनलाई डाक्टर भन्नुपर्छ, त्यही डाक्टर पनि भेटीन्न” स्थानियहरु यसो भन्थे,कृषिका अफीस थीए तर हाकीमहरु सदरमुकाम वा घर तिर थिए , हुलाक थियो हुलाकी थिएनन, चुनीएर गएका जनप्रतिनिधी सँग हिंड्ने बाटो, शिक्षा माग गर्दा गर्दा हैरान भएका स्थानिय जनता सकी नसकी आफै बाटो वनाउँथे र कोही नौलो मान्छे देख्यो भने सरकारी मान्छे सम्झेर जनप्रतिनिधीहरुलाई सराप्दै आफ्नो कुरा सुन्न लगाउँथे , अलिकति हुने खाने,जान्ने सुन्नेहरु जुन पार्टीको दवदवा चल्थ्यो त्यही पार्टीको सदस्य बनेर सदावहार गाउँको प्रमुख बन्ने छट्टु पारा थियो, नेपाल र तिब्बतको मित्रता र सत्रुता , शरद अृतुमा आकाशै ढाक्ने गरि उड्ने क¥याङकुरुङको कथा थियो ।

स्याला पुगेर त्यहाँ भएको जँगल विनाशको चित्र उतार्न स्यो गाउँसम्म काठमाडौंबाट अर्को टोलिसँग हेलिकप्टरमा पुगेका मैनालीको लेखाई यति मिहीन पाराको छ कि उन्को शव्द पढ्दै जाँदा त्यसको जिवन्त चित्र आँखा अगाडी सर्लक्कै बस्छ ‘छेवाङ र छिमी अगेनाका डिलमा बसेर सिमी केलाउँदै थिए ।

ढोईमा खुर्सानी पिंध्दै थिईन । उनले पिंधेको खुर्सानी र उनका काका र बावुले केलाएको सिमी झण्डै झण्डै बराबरी थियो ।’ पुङ्गेन गाउँको मित लगाउने विधी, स्यालाको विशाल धुपीको जंगल काटेर पेट पाल्नको लागी तिव्वत पुर्याउनुको दुख , करिव दश हजार फीटमाथी फुल्ने फूलहरुको आकर्षण , माओवादी बन्नु पर्दाको अवस्था, ‘ छोरा जन्मीदा – बच्चालाई कस्तो छ ?, छोरी जन्मीदा – आमालाई कस्तो छ ’ भनेर जन्मीने वीत्तिकै छोरा छोरीमा गरिने सामागाउँको भेदभाव, आफुसँग गेरु लुगा नभएको कारण लामाको शिक्षा लिन नपाएका पेमा , भारी बोकेको ज्याला नउठे पनि तरकारी खेती गर्न नछोडेका वर्केन, माओवादीले घरको भित्तामा लेखिदिने नारा र सेनाले मेटाउन दिने दवावको विचमा पिल्सीएका राम बहादुर, ‘उपल्लो थलो’ले देखाएको तत्कालिन नेपालको प्रतिनिधी कथा मान्न सकिन्छ ।

माथील्लो भागको भ्रमण भएकोले होला मैनालीले २०५६ सालमा गरेको सुदूरश्चिमबाट मानसरोवरसम्मको यात्राको विवरण समेत यसै पुस्तकमा समेटेका छन् ।

यात्राको क्रममा करिव सत्र हजार फीट माथी सम्म पुगेका मैनालीले यस भागमा व्रिटिस भारत र नेपाल विचको सुगौली सन्धी नभएसम्म कुमाउ गढवालमा नेपालको शासन, जस्लाई स्थानियहरुले ‘गोरख्याली’भन्थे, को बेलामा स्थानियले भोगेको दुर्दशा, मानसरोवर जान ठाउँ ठाउँमा गर्नुपरेको माथापच्ची, नेपाल भारत सिमामा हुने वन्य जन्तुका अँँगहरुको अवैध बेचबीखनलाई यस लेखाईमा छर्लङ्ग देखाउन सफल भएका छन् ।

मानसरोवर पुगेपछि मैनालि लेख्छन ‘ मिहीन पाराले बनाईएको चित्र जस्ता लाग्ने पहाडको काखमा बसेको त्यस दिब्य तालको मानसरोवर देख्नको लागी हामीले गरेको धेरै दिनको दुख, कष्टको लगानी ब्याज समेत उठिसकेको थीयो । हामी पूर्ण सन्तुष्ट थियौं । विश्वास हुनेहरु मानसरोवरको यात्राको फल अर्को जुनीमा पाईन्छ भन्छन । हामीलाई अर्काे जुनीको विश्वास थिएन । यस यात्राको फल हामीले तत्कालै पाएका थीयौं । ’

शक्तीशाली राष्ट्रको शक्तीशाली भवन ह्वाईट हाउसको अवलोकनवाट आफ्नो पुस्तक माल्भाको थालनी गरेका राजेन्द्र प्रसाद अर्याल ‘ बाहीरबाट हेर्दा दुई तलामात्र अग्लो, सामान्य कारीगरीमा निर्मीत सेतो भवन जसलाई अति सामान्य होचा फलामे बारले घेरेको ’ मात्र देखे पछि लेख्छन ‘ गरिब देशको प्रमुखको आलिसान महल, त्यसका प्रयुक्त कालीगढी र उत्ताउला तडकभडक हेर्न अभ्यस्त आँखाहरु आश्चर्यचकित नहुने कुरै भएन ।

ह्वाईट हाउसको वर्णन सकेर अमेरिकी विवाहमा हुने प्रक्रीयाहरु कुनै पार्कमा घुम्दाघुम्दै शाक्षत्कार गर्न पुगेका अर्यालले अमेरिकी समाजको स्वच्छन्दता , समलिङ्गी विवाह , विग्रंदो वैवाहिक जीवनको पाटो राम्रैसँग खोजेका छन् । अमेरिकी भुमीमा पाईलो टेक्दा विमानस्थलका कर्मचारीहरुको नम्र र सहयोगी व्यवहारले प्रभावीत बनेका अर्याल के यहाँका सबैको जीवन यस्तै वैभवशालि छ ?

भन्ने प्रश्नको उत्तर खोज्न शहरदेखि टाढा गाउँघर तिर जान्छन र भेट्छन यहाँका अमिसहरु , जस्लाई अर्यालले अमेरिकी राउटेहरु भनेर नामाकरण गरेका छन । अमेरिकाको ओहायो, पेन्सिलभिनिया,इन्डीयाना र विस्कन्सन राज्यमा पाईने यस्ता अमिसहरुले आधुनिक जीवनका कुनै पनि साधन प्रयोग गर्दैनन् ।

मोटर चढ्रदैनन्, घोडावग्गी उनीहरुको यातायातको साधन हो, स्व उत्पादनका घरेलु कपडाको लुगा लगाउने, गहना नलगाउने, कपाल नकाट्ने, घर घरमा जम्मा भएर स्व अध्ययन गर्ने, खेती किसानीमै जीवन बीताउने अमेरिकामा रहेका करिव २ लाख ७० हजार अमिसहरु मध्ये विसकन्सनको मार्सलफील्डमा रहेका केही अमिसहरुसँग साक्षात्कार गरेपछि उनि लेख्छन ‘ कम्प्युटर,टेलिभिजन,मोटरगाडीको उपभोग हैन, देख्नै नपाएका दाजुभाईहरु आधा जति छन् ।’

पार्कहरुमा घुम्दा पाल्तु जनावरहरुसँग घुम्ने मानिसहरु र पार्कको व्यवस्थापन पक्षले बनाएको पाल्तु जनावरहरु मैत्री वातावरण देखेर त्यसैको खोजीमा निस्कंदा कुकुर , बिरालो, सुगा, मुसा,कछुवा , सर्प जस्ता जनावर मानीसहरुले पाल्ने गरेको तथ्य भेटाएका अर्यालले आफुले देखेको , भोगेको कुराहरु १२ वटा छोटा छोटा भागमा अमेरिकाको सरकारी कार्यालय, बालबच्चा हुर्काउने, घरका बनावट , हुलाक सेवाको विश्वसनियता , खाद्दबस्तुहरुको वितरण र गुणस्तरीयता, औषधि उपचार, अपाङ्गहरुले पाउने सुविधा, घरायसी काम कुराहरुमा अमेरिकी महिलाहरुको अहं भुमिका,अमेरिकी अंग्रेजि र अन्य भाषाहरु, अफ्रीकन अमेरिकनको अवस्था, जनता र तिनीहरुले गर्ने क्रियाकलापको रेकर्ड व्यवस्थापन जस्ता सामाजिक संरचना, व्यवहार र नियम कानुनको व्याख्या गरेका छन् ।

जीवनको उत्तरार्धमा अमेरिकी वृद्द वृद्दाहरुले आफ्ना परिवारको कोही पनि सँगै नभएको अवस्थामा वृद्दाश्रममा भोग्नु पर्ने अवस्था, स्वतन्त्रता दिवस अमेरिकी जनताहरुले बडो श्रद्दा भावसँग मनाउने परम्परा, व्यापार व्यवसाय गर्ने कला, प्रहरी प्रशासनको ठुलो जनमानसमा देखिने विश्वास र भरोसा, भ्रष्टाचारको गन्ध आदिलाई पनि अर्यालले राम्रैसँग समेट्न भ्याएका छन ।

हरेक ठाउँ घुम्दा, मानिसहरुसँग कुरा गर्दा अर्याल नेपालको ठाउँ , बोली व्यवहार, सामाजीक संरचनासँग तुलना गर्न भ्याउँछन् र आफ्नो निष्कर्स पनि निकाल्छन जस्ले गर्दा कतिपय आफ्नै कुराहरु थाहा नपाएका नेपालीलाई बुझन अझ चाखलाग्दो हुन्छ ।

दोस्रो खण्डमा जर्मनीको फ्रेङ्कफट शहरको वैभवशालि आकर्षण, फूलहरुले सजीएको सडकका किनारा, दोस्रो विश्वयुद्दको भयानक पीडा भोगेको जर्मनीले गरेको उन्नतीको बारेमा , बेलायतको लेडी मार्गरेट रोडमा रहेको विष्णु भगवानको मन्दीर, संसारकै प्रख्यात अक्सफोर्ड विश्वविद्यालयमा पुग्दाको अनुभव र यसको ख्यातीलाई मिहीनसँग नियालेर कलममा उतारेका अर्यालले पेरिसको सेन नदिमा गरिने जलयात्राको वर्णन र थाईल्याण्ड जाँदा जीवन पहिलो पटक ठृुलो जहाज चढ्दाको अनुभव नढाँटीकन राखेका छन् ‘ मनमनै भगवान सम्झन्छु ।

भगवानका आकृतिहरु सल्वलाउन थाल्छन । लौ पशुपतिनाथ मलाई मेरो गन्तव्यसम्म सकुशल पुर्याउ र जन्मभूमी अनि आफ्नोे परिवारका सामुन्ने सहीसलामत उतारिदेउ ।’

हाल : क्यालिफोर्निया, अमेरिका ।

प्रतिक्रिया दिनुहोस्