डा. केसीका माग कहिले पूरा होलान् ?



विगतदेखि नै विभिन्न समयमा गरी १७ पटक सत्याग्रह गरिसकेका डा. गोविन्द केसीले १८ औँ अनशन दार्चुलाबाट शुरु गरेका छन् । डा. केसी दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर बझाङ, बैतडी हुँदै दार्चुला पुगेका हुन् । उनी सरकारी सेवा निवृत्त भएदेखि यस्तै जनताको घरदैलोमा गएर निःशुल्क उपचार गर्दै आएका छन् ।

भारतले मिचेको नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूमि फिर्ताको माग राख्दै डा. गोविन्द केसीले दार्चुलामा दुई दिने सत्याग्रह शुरु गरेका हुन् । मंगलबार बिहान १० बजे महाकाली नगरपालिका‐५ गल्फैस्थित जगन्नाथ मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै डा. केसीले भारतले मिचेको नेपाली भूमिको फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्नुपर्ने, गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलामलगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुतगतिमा अघि बढाइनुपर्ने, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्नुपर्ने, साथै विगतका सत्याग्रहका मागहरू पूरा गर्नुपर्ने माग राख्दै अनशन शुरु गरेका हुन् ।

डा. केसीले दार्चुला तथा अन्य सीमा क्षेत्रलगायत देशभरिका बासिन्दाका लागि यातायातमा सहज पहुँच पु¥याउनुपर्ने, साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने सरकारसँग माग राख्दै १८ औ पटक अनशन बसेका हुन् । सीमा क्षेत्रका लगायत सबै नागरिकको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि आफूले अनशन शुरु गरेको उनले बताएका छन् ।

उनले गरेका यी मागहरु समग्र नेपाली जनताका पनि माग हुन् । यी मागहरु सम्बोधन गर्न राज्यको प्रतिबद्धता आवश्यक छ । सिमानाको विषय भने नेपाल–भारत वार्तामार्फत विवादको समाधान जरुरी देखिन्छ । डा. केसीका मागहरु छिट्टै पूरा होऊन्, शुभकामना !
– कृष्ण धामी, दार्चुला ।

 

प्रतिक्रिया दिनुहोस्