काठमाडौंका पसल खुल्ने



काठमाडौं, (नेस)

बिहीबारदेखि काठमाडौं उपत्यकामा पसल सञ्चालनमा आउने भएका छन् । बिहीबारदेखि हरेक दिन बिहान ११ बजेसम्म उपत्यकाभित्रका पसल सञ्चालनमा ल्याउन लागिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

कोभिड–१९ रोगको महामारी रोकथाम तथा न्यूनीकरणका लागि भन्दै सरकारले लकडाउन जारी गरेको ७१ दिन पुगिसक्दा आर्थिक गतिविधिहरू धराशयी बनेपछि व्यापार व्यवसाय पुनः सञ्चालनमा ल्याउने तयारी भएको उहाँले बताउनुभयो । सरकारले जारी गरेको लकडाउनको उल्लंघन गर्दै व्यवसायीले पसल सञ्चालन गर्न लागेपनि सरकारले पनि लकडाउन खोल्ने विषयमा कुनै चासो देखाएको छैन ।

सरकारले कर तिर्न ताकेता गरेपछि असन्तुष्ट बनेका व्यवसायीले बिहीबारदेखि लकडाउन उल्लंघन नै गरेर भए पनि व्यवसाय सञ्चालनमा ल्याउन तयारी गरेका हुन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले सरकारले कर तिर्न ताकेता गर्ने, बैंकले ब्याजका लागि फोन गर्ने, घरभाडा तिर्न ताकेतालगायतले आफूहरू निकै समस्यामा परेको बताउँदै व्यवसाय सञ्चालन गर्ने तयारी गरिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘सरकारले उद्योगी–व्यवसायीलाई राहत दिनु त कता हो कता करका लागि ताकेता गर्ने, बैंकले ब्याज बुझाउन फोन गर्ने, घरभाडा तिर्न ताकेतालगायतले हामी धेरै समस्यामा छौं ।’

महासंघका अध्यक्ष कटुवालले आफूहरूले विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सुरक्षाका लागि तय गरेको मापदण्डको पूर्णपालना गर्दै व्यवसाय सञ्चालन गर्न लागिएको जानकारी गराउनुभयो । उहाँले व्यवसाय खुला गरेपछि सरकारले पनि आफ्नो तर्फबाट सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विज्ञप्तिमा भनिएको छ– ‘हामी कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरेका हौं । हामी आफ्नो व्यवसाय खुला गरे पनि न्यूनतम् दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठनल तथा नेपाल सरकारले तोको न्युनतम् मापदण्डको पालना गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्