सरकारमा एकाकी पन



विश्वव्यापी महामारीकारूपमा फैलिएको कोरोना भाइरसको संक्रमण कहिलेसम्म नियन्त्रणमा आउँछ टुंगो छैन । देशमा जारी लकडाउनको अवधि झन् थपिँदो छ । नेपालमा कोरोना संक्रमितको संख्यालाई नियाल्ने हो भने शुरूका तीन महिना ख्यालख्यालमै बिते । २०७७ वैशाख ३१ गतेसम्म कुल २ सय १९ जना कोरोना संक्रमित प्रमाणित भएका थिए । तर, अहिले यो संख्या १० गुनाले बढेको छ । अन्य रोगका साथमा कोरोना संक्रमणसमेत भएर मृत्यु हुनेको संख्या आठ पुगिसकेको छ । यस अवस्थामा सरकारले स्वास्थ्य क्षेत्रमा कुनै नयाँ योजना पनि ल्याएको छैन र लकडाउन मात्र रटान गरेको छ । स्वास्थ्य क्षेत्र पूर्णरूपमा लकडाउन भएको छ ।

कोरोना आकस्मिकरूपमा फैलिएको सरुवा रोग हो भने अन्य नसर्ने रोगबाट धेरै मानिस पीडित भएका छन् । यस्ता बिरामीका बारेमा न त सरकारले नै ध्यान दिएको छ न त कुनै अस्पतालले नै त्यस्तो उद्घोष गर्न सकेका छन् । कोरोना संक्रमित कुनै जातीय, दलीय, धार्मिक, राजनीतिक, धनी, या गरिबलाई पहिचान गरेर लाग्ने रोग नभई जो–कोहीलाई लाग्न सक्ने सरुवा रोग हो भन्ने कुराको जनचेतना नभएकै कारण आज दिन–रात नभनी आफ्नो जीवन जनस्वास्थ्यका क्षेत्रमा सुम्पिएका स्वास्थ्यकर्मी र सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, सूचना सम्प्रेषण गरेर जनमानसमा सत्य–तथ्य पस्किने अठोटका साथ संघर्ष गरिरहेका व्यक्तिहरूलाई केही उदण्ड व्यक्तिले हातपात गर्ने घृणित कार्य हुँदा सरकार मुकदर्शक भएर बसेको छ ।

डोटीको शिखर नगरपालिका–९ को दानकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब रमेश कँुवरमाथि आइतबार राति निर्घात कुटपिट भयो । शिखर नगरपालिका–७ लाटामाडौंमा रहेको स्वास्थ्य चौकीबाट स्वास्थ्य सामग्री बोकेर दानकोट स्वास्थ्य चौकी जाँदै गरेको अवस्थामा उनीमाथि तीन जनाको एक समूहले आक्रमण ग¥यो । बेलुका ७ बजेतिर भएको आक्रमणमा परी अहेब कुँवरको टाउकामा गम्भीर चोट लाग्यो । जिल्ला र क्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याई उपचार भइरहेको छ । कुटपिटका कारण टाउकोको अगाडि भागको हड्डी नै फुटेको ट्रमा सेन्टरले जनाएको छ ।

सरकारले घटनाका दोषीहरूलाई कारबाही गरी पीडितलाई न्याय दिलाउन सक्नुपर्छ । दोषी पक्राउ परिसकेको अवस्थामा संरक्षण हैन दोषीलाई सजाय दिन सरकार कटिबद्ध भएर लाग्नुपर्छ । सिमानामा खटिएका सुरक्षाकर्मी पनि छिमेकी मुलुक भारतबाट बाढी आएझैं नेपाल प्रवेश गर्ने गर्दा मारमा परेको घटना पटक–पटक दोहोरिएको छ ।

सिमानाको व्यवस्थापन संवेदनशील छ, नेपाल प्रवेश गर्ने अधिकार विदेश गएका नेपालीमा छ, त्यहाँ उनीहरूको अधिकारको रक्षा पनि हुनुपर्छ र सुरक्षाकर्मीको सुरक्षा पनि गरिनुपर्छ । यस्तै, कोरोना अतिरिक्त बिरामीको उपचारका लागि समेत उचित व्यवस्थापन गर्नुका साथै बिरामीको सेवामा तल्लीन भएर काम गरेका स्वाथ्यकर्मीमाथि कुटपिटजस्ता घृणित कार्य गर्ने–गराउने माथि सरकारले कडाभन्दा कडा कारबाही गर्न पनि पछि पर्नुहुन्न । निष्कर्षमा, सरकारले लकडाउनको घोषणा नै सम्पूर्ण समाधान हो भन्ने सोच बनाएका कारण विभिन्न समस्या ओइरिएका छन् । राज्य एकाकी होइन, समष्ठीगतरूपमा सक्रिय हुनु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्