लकडाउन विकल्परहित विकल्प हो त ?



पछिल्लोपटक सरकारबाट जेठ ३२ गतेसम्मका लागि लकडाउन थपिएपछि लकडाउनप्रतिको सर्वसाधारणको धारणा जान्न गरिएको एक सामजिक सञ्जाल सर्वेक्षणमा ९० प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ता लकडाउन थपिएकोप्रति सकारात्मक देखिएनन् । जबकि गत २०७६ चैत्र १० गते सरकारले पहिलोपटक लकडाउनको निर्णय गर्दा सरकारको निर्णयको पक्षमा झन्डै ९० प्रतिशत थिए । त्यस बेला सरकारले लकडाउनको निर्णय गरेकोमा सर्वसाधारणले सरकारलाई धन्यवाद दिएका थिए । बरु लकडाउन अझ छिटो गर्नुपथ्र्यो भन्ने प्रतिक्रिया सर्वसाधारणबाट आएको थियो ।

यति बेला साह्रै थोरै मानिस मात्र लकडाउनको पक्षमा छन् । लकडाउनको पक्ष लिनेहरु भन्छन्– अझै पनि लकडाउन एकमात्र विकल्प हो । अब बल्ल संक्रमण बढ्दो क्रममा रहेकाले लकडाउनको झनै आवश्यकता बढेको जिकिर उनीहरुले गरेका छन् । केही मध्यमार्गीहरुले भने लकडाउन आवश्यक छ, तर लकडाउन पालनासम्बन्धी निर्देशिका बनाउनुपर्ने र जोखिम क्षेत्र तोक्नुपर्ने जस्ता सुधार गरी लकडाउनको प्रकृति परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् ।

विगतमा लकडाउन निर्णयको स्वागत गर्ने तिनै नागरिकको आज लकडाउनप्रति यस्तो वितृष्णा किन ? जबकि कोरोनाको जोखिम न्यून भएको छैन, बरु झन्–झन् जोखिम बढ्दो छ । लकडाउनको समर्थनमा मत जाहेर गर्दा कोरोना संक्रमणबाट जोगिन लकडाउन एकमात्र विकल्प हो भन्ने सर्वसाधारणको बुझाइ थियो । जुन बेला मानिसले लकडाउन भोगका थिएनन् ।

लकडाउन कस्तो हुन्छ र लकडाउनले कोरोनाबाट कसरी जोगिन सकिन्छ भन्ने जानकारी सर्वसाधारणलाई थिएन । अरु देशमा लकडाउन भएको सुनिएको थियो र सुनेकै भरमा त्यति बेला समर्थन गरिएको थियो । तर आज लकडाउनको भोगाइपछि सर्वसाधारणको धारणा भिन्न आएको छ । लकडाउनमा देखिएको अव्यवस्थाले गर्दा नै लकडाउनप्रतिको धारणामा परिवर्तन आएको हुन सक्छ ।

लकडाउन विकल्पविहीन विकल्प हो वा होइन भन्नेमा सर्वसाधारण अन्योलमा छन्। लकडाउन पालना नगरौँ भने सरकारको निर्देशन छ र मनमा कोरोना लाग्छ कि भन्ने डर पनि छ। लकडाउन पालना गरौँ भने अब रोगले भन्दा पनि भोकले जिन्दगीमाथि धावा बोल्नेवाला छ। राहत वितरण भए पनि मजदुर, गरिबले भन्दा पहुँचवालाले हात पारेका छन्।

भनिन्छ– पढेरभन्दा परेर जानिन्छ । त्यही भएर होला लकडाउनको भोगाइ अगाडि र दुई महिनाभन्दा बढीको लकडाउन भोगाइपछाडि मानिसको विचारमा परिवर्तन आएको छ । लकडाउनका भोगाइ, अनुभव र निराशाजनक परिणामले सर्वसाधारणको बुझाइ परिवर्तन भएको छ ।

अधिकांश मानिस लकडाउन कहिले खुल्ला र बन्धनमुक्त भइएला भन्ने पर्खाइमा छन् । आममानिसको मतमा लकडाउन आवश्यक नै छैन । सर्वेक्षणमा सहभागी भएकाहरु भन्छन्– लकडाउनमा मजदुरले खान पाएनन् । व्यापार–व्यवसाय ठम्प भयो । सरकारबाट लकडाउन भयो, तर लकडाउनबाट जनजीवनमा परेको असरको सम्बोधन भएन । मानिसहरु कोरोनाले भन्दा पनि भोकले मर्ने अवस्था सिर्जना भयो ।

मानिसको आवतजावतबाटै कोरोनाको संक्रमण हुने भए सबैभन्दा पहिले त कोरोना संक्रमाणको बीचमा पनि निरन्तर व्यवसाय गरिरहेका तरकारी पसले, खाद्यान्न पसले, पानी सप्लायर्स, सवारीचालक, मेसिनरी औजारको काम गर्ने र लकडाउन छल्दै ठाउँ–ठाउँमा निर्माणका कार्य गरिरहेका मजदुरहरुलाई हुनुपर्ने हो । तर त्यस्तो छैन ।

काम गरी खाने कम संक्रमित छन् भने काम किन रोक्ने ? फेरि अर्कोतर्फ लकडाउनले हुने–खानेलाई खासै फरक परेको छैन, विगतको बैंक बचतले खाएका छन्, बसेका छन्, पहुँच पु¥याएर सवारी पास पनि लिएका छन् । जान मन लागेको ठाउँमा पुगेका छन् तर हुँदा खानेको भने कन्तबिजोग छ । दिनभर काममा जान नपाएपछि बेलुका घरमा चुलो बल्दैन । गरिबका लागि मात्र लकडाउन किन ?

वास्तवमा लकडाउन विकल्पविहीन विकल्प हो वा होइन भन्नेमा सर्वसाधारण अन्योलमा छन् । लकडाउन पालना नगरौँ भने सरकारको निर्देशन छ र मनमा कोरोना लाग्छ कि भन्ने डर पनि छ । लकडाउन पालना गरौँ भने अब रोगले भन्दा पनि भोकले जिन्दगीमाथि धावा बोल्नेवाला छ । राहत वितरण भए पनि मजदुर, गरिबले भन्दा पहुँचवालाले हात पारेका छन् । अनि भोको पेटमा कसरी लकडाउन पालना गर्ने ?

लकडाउन नागरिकलाई महामारीबाट बचाउनका लागि हो । तर नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्नुपर्नेमा लकडाउनले त भोकको उपचार हुनबाट नागरिकलाई वञ्चित गरेर बाँच्न पाउने अधिकार हनन पो ग¥यो । व्यक्तिहरुबीच शारीरिक दूरी कायम गर्नुपर्नेमा सामाजिक दूरी कायम गरेर बाँच्न बाध्य पारिदियो । यस्तो अन्योलमा विनायोजना पटक–पटक लकडाउन थप्दा मानिसको जनजीवन प्रभावित बन्नु स्वाभाविक नै हो ।

विज्ञहरुको कुरा सुन्दा कोरोनाको फैलावट विश्वबाट छिटो निर्मूल हुने संकेत देखिन्न । त्यही कारण विश्वका धेरै मुलुकहरुले लकडाउन खुकुलो पार्दै लगेका छन् । नेपालले पनि अन्यत्रबाट सिक्दै लकडाउनको प्रकृतिमा परिवर्तन गर्दै बिस्तारै खुकुलो पार्दै लैजानुपर्छ । दूरी कायम गर्दै काम गर्नेले गरिखाऊ भनेर ठाउँ दिनुपर्छ । सुरक्षित हुने उपाय लकडाउनविना पनि हुन सक्छ । स्वचेतनाको माध्यमबाट हरेक मानिस एक–आपसमा दूरी कायम गर्दै अब काममा फर्किनु आवश्यक छ । अन्यथा देशको अर्थ व्यवस्थामा समेत ठूलो प्रभाव पर्न सक्छ ।

अबका दिनमा पनि सिमाना तथा एक अर्को जिल्ला, गाउँ र शहरबीच हुने आवतजावतमा निगरानी आवश्यक छ । एक–अर्को जिल्ला, स्थानीय तहमा आवतजावतमा निषेध होइन बरु पीसीआर परीक्षण गरेको व्यक्तिले मात्र जान पाउने मापदण्ड निर्धारण गर्नुपर्दछ । समाजिक दूरी कायम गर्दै समूहमा गर्नुपर्ने कामबाहेक अरु व्यवसाय तत्काल खोल्ने र समूहमा कार्य गर्नेहरुले पीसीआर परीक्षण गरेको हुनुपर्दछ ।

यसै गरी कृषिकार्यलाई प्रोत्साहन गरिनुपर्छ । कृषि कार्य नरोक्ने भनिए तापनि कृषकका लागि मल, बीउ, कृषि सामग्रीको अभाव तथा कृषिकार्यमा जान–आउन आवतजावतको समस्या भयो भने कृषिकार्य आफैँ रोकिन्छ । त्यसैले अवरोध नगर्नु महत्वपूर्ण होइन वातावरण बनाउनेचाहिँ महत्वपूर्ण हो । तर सभा, भेला, भोजभतेर, पार्टीका कार्यक्रम, सिनेमा हल, मनोरञ्जनस्थल विद्यालय, विश्वविद्यालयजस्ता भीडभाड हुने स्थल भने अझै केही महिना बन्द नै गर्नु आवश्यक छ ।

अहिले पनि ठूलो समस्या भारतीय नाकामा छ । भारतबाट नेपाल छिरेका नेपाली नागरिकबाट नै कोरोना संक्रमण फैलिएको÷देखिएको हुँदा सीमा नाकामा पीसीआर परीक्षण बढाउने र क्वारेन्टिनहरुको व्यवस्थापन राम्ररी गर्ने, जुन स्थानीय तहका मानिस हुन् सोही स्थानीय तहसम्म सुरक्षितरुपमा पु¥याउने, स्थानीय तहमा पनि क्वारेन्टिन व्यवस्थापनमा उचित ध्यान पु¥याउने र होम क्वारेन्टिनको अवधारणालाई प्रभावकारी बनाउन सके सीमा नाकाको खतरा न्यून हुन सक्छ ।

समस्या यति बेला लकडाउन हुनु÷नहुनुभन्दा पनि संक्रमित परीक्षण न्यून हुनु हो भन्ने मत छ । त्यसैले आरडीटी परीक्षणलाई थाती राखी पीसीआर परीक्षण बढाएर संक्रमित पहिचान गर्ने कार्यमा अत्यन्त ढिलाइ भएको छ । संक्रमित पहिचान नहुँदा एकबाट अर्कोमा सर्ने जोखिम बढ्दो छ । एकातिर लकडाउन गर्ने, अर्कातिर क्वारेन्टिनको व्यवस्थापनमा ध्यान नदिने हो भने क्वारेन्टिनमै एक–आपसमा रोग फैलने सम्भावना बढिरहेको छ ।

जोखिम अझै उच्च छ तर एकातिरको जोखिम रोक्ने नाममा अर्कातर्फको जोखिम बढाउने हो भने असन्तुलन कायम हुन जान्छ । लकडाउनप्रतिको नागरिकहरुको वितृष्णा सम्बोधन गर्नु आवश्यक छ । विनायोजनाको लकडाउनको निरन्तरता होइन, आवश्यकता र औचित्यताको विश्लेषण गरी रणनीति बनाएर अगाडि बढ्नु आवश्यक छ । यथास्थितिमा लकडाउन कुनै व्यक्ति विशेषका लागि मात्र नभएर देशकै लागि प्रत्युत्पादक हुन्छ ।

मानिसहरु यति बेला आफ्ना पेसा, व्यवसाय खोल्ने मनस्थितिमा छन् । सामाजिक दूरी कायम गरी सरकारी तथा गैरसरकारी कार्यालय, व्यवसाय र दूरी कायम गरी गर्न सकिने निर्माण कार्य सञ्चालनमा ल्याउनुपर्छ । पेसा, व्यवसाय गर्नासाथ कोरोना फैलने भए तरकारी व्यवसायीहरु, कृषि व्यवसायीरु, दूध व्यवसायीहरु, खाद्यान व्यवसायीहरु, सडकमा मर्मतसम्भारका मजदुरहरु, सवारीसाधन चालकहरु उहिले नै कोरोनाको सिकार भइसक्थे । समाजमा समेत उनीहरुमार्फत संक्रमण फैलिएर स्थिति भयावह हुने थियो । तर त्यस्तो होइन, भएको छैन ।

सुरक्षित तरिकाले काम गर्ने हो भने केही हुन्न भन्ने सन्देश यी व्यवसायीले दिइसकेका छन् । आफू पनि सुरक्षित हुने अनि अरु पनि सुरक्षित हुने गरी कार्यालय तथा व्यावसायिक कार्यलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नु आवश्यक छ ।

हरेक मानिसलाई बाँच्ने रहर हुन्छ । त्यसैले शारीरिक दूरी कायम गर्दै सामाजिक कार्यलाई निरन्तरता दिने जनचेतना अभियानको सुरुवात गरौँ र लकडाउनको प्रकृति परिवर्तन गरी लकडाउन खुकुलो बनाऊँ । लकडाउनको हाउगुजी सिर्जना गरेर समाजलाई बन्धक नबनाऊँ । अन्यथा सर्वसाधारणको वितृष्णा झनै बढ्दै जान्छ ।

प्रतिक्रिया दिनुहोस्