चापाकोटमा उत्पादित तरकारी बिक्री नहुँदा कृषक चिन्तित



भूपराज बस्याल, स्याङ्जा ।

उत्पादित तरकारी बिक्री नहुँदा स्याङ्जाको चापाकोट नगरपालिकाका कृषक चिन्तित भएका छन् । कोरोना भाइरसका कारण भएको लकडाउनले उत्पादित तरकारी बिक्रि नहुदा कृषक चिन्तित भएका हुन् । अन्य समयमा चार रोपनी जग्गामा तरकारी खेती गरिन्थ्यो अहिले लकडाउन भएका कारण दुई रोपनी जग्गा लगाएको तरकारी समेत बिक्री हुन नसकेको चापाकोट नगरपालिका- ८ मा रहेको छिपछाप कृषि फार्मका संचालक मदक श्रेष्ठले बताउनुभयो ।

खेतमा उत्पादित करेला, लौका, बन्दा गोपि बिक्री नभएको उहाँको गुनासो थियो । लकडाउन कारण सबै बन्द भएको हुँदा तरकारी बिक्रिमा कठिनाई भएको उहाँले गुनासो गर्नुभयो । कहिलेकाही ब्यक्तिगत सम्पर्कमा वालिङ्, गल्याङ तिर देखि लिन आउनुहुछ तर व्यावसायिक रुपमा गरेको खेती यसरी कहिलेकाही बिक्री गरेर नसकिने हुँदा यस्तै अवस्था आए उत्पादित तरकारी खेतमै कुहिएर जाने उहाँले गुनासो गर्नुभयो ।

तरकारी संगै टर्की, लोकल कुखुराको समेत ब्यबसाय गर्नु भएको उहाँका सबै क्षेत्रका उत्पादित बस्तुका बिक्रीमा कठिनाइ भएको हो । गत बर्ष एक हजार टर्की ब्यबसाय गर्नु भएको उहाँले लकडाउन कारण चल्ला दाना नपाउदा यस बर्ष थोरैमात्रमा उत्पादन गर्नुभएको छ ।

तिनै उत्पादित बस्तु पनि बिक्री नहुदा थप चिन्ता बढेको उहाँको गुनासो छ । लकडाउनका कारण गतबर्ष भन्दा यस बर्ष उत्पादन कम छ त्यही उत्पादन पनि बिक्री नहुदा कृषि पेसा बाटै पलायन हुने अवस्था सिर्जना हुन थालेको उहाँले बताउनुभयो ।

कृषकका उत्पादित बस्तु खरिद गर्ने बिसयमा नगरपालिकाले खास कुनै निर्णय नगरेको तर अब यस बारेमा छिट्टै नयाँ निर्णय गर्ने चापाकोट नगरपालिका नगर प्रमुख शिवकुमार गिरिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्