एक हप्ताका लागि बन्दीपुर ‘सिल’



मिला दरै,तनहुँ ।

जिल्लामा कोरोना संक्रमण देखिएपछि बन्दीपुर गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाको निर्णय बमोजिम जोखिमलाई मध्येनजर गर्दै बुधबारबाट गाउँपालिका सिल गरिएको जनाइएको छ । गाउँपालिका एक हप्ताको लागि सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार अत्यावश्यक बाहेकका अन्य कार्यलाई गाउँपालिकाले बन्दीपुर प्रवेशमा रोक लगाएको हो । ‘अत्यावश्यक खाद्यान्न, तरकारी, दुध, पानी, वित्तीय संस्था, विकास निर्माणको सामग्री र कार्यहरु भने हुनेछन्, स्थानीय युवाको प्रयोग तथा सामाजिक दुरी कायम गरेर विकास निर्माणका काम, निश्चित समयावधि भएकाले कार्यालयका काम पछ्र्यौट गर्नुपर्ने कार्यहरु भने भइरहेको छ,’ गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले भन्नुभयो ।

पछिल्लो समय तनहुँमा पनि एक व्यक्तिलाई कोरोना पुष्टि भएपछि संक्रमणको जोखिम बढ्न सक्ने सम्भावनालाई मध्येनजर गर्दै गाउँपालिकाले सावधानी अपनाएर बन्दीपुर प्रवेशमा रोक लगाइएको अध्यक्ष थापाले बताउनुभयो ।

भीडभाडका कारण जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन बन्दीपुर सिल गरिएको उहाँले बताउनुभयो । त्यस्तै गाउँपालिकाले पृथ्वी राजमार्गको मुख्य बजार डुम्रेमा पनि चेकजाँचमा कडाइ गरेको छ । जेठ २७ गतेसम्मका लागि गाउँपालिका प्रवेशमा रोक लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्