एन्फा अध्यक्ष शेर्पाको विज्ञप्तिमार्फत् माफी



न्युज अफ नेपाल, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षको विवादसँग सम्बन्ध कम भएको देखिदैन । हालै मात्रै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पामाथि एउटा अन्तर्वार्तामा बोलेको विषयले अहिले फुटबल तातेको छ । अध्यक्ष शेर्पाले झण्डै दुई साता अघि वेब पोर्टलमा दिएको अन्तर्वार्तामा ग्रासरुट विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्तिविरुद्ध संसदमा समेत आवाज उठेपछि बुधबार अध्यक्ष शेर्पाले विज्ञप्ति जारी गर्दै सो विषयमा माफी माँगेका छन् । उनले अन्तर्वार्ताको क्रममा व्यक्त नेपाली दाजुभाइ तथा दिदीबहिनी एवम् त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति हार्दिक क्षमा याचना छ भनेर विज्ञप्तिमा उल्लेख गरेका थिए ।

विज्ञप्तिमा उल्लेख गरिएको छ कि अनलाईन अन्तर्वार्ताको क्रममा व्यक्त भावना भन्दा पनि शाब्दिक अर्थमा मात्र धेरैले ध्यान दिइएको छ । तर मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म, लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि ।

अध्यक्ष शेर्पाले सो करिब १ घण्टाको अन्तर्वार्तामा नेपाली सेनासँगको सहकार्यमा तराईका ४ जिल्ला धनुषा, सिराहा, सप्तरी र महोत्तरीमा ग्रासरुटको कार्यक्रम शुरु गरको बताएका थिए । उनले त्यहाँ राष्ट्रियताको प्रसंग पनि उठाएका थिए ।

उनले दुई वटा कुरा भनेका थिए, जसमा एउटा तराईको बच्चाहरुलाई फुटबल आकर्षण गर्नको लागि र अर्को राष्ट्रियता सिकाउनका लागि हामीले ग¥यौं । उनले भनेका थिए कि तराइमा जाँदा राष्ट्रियताको महसुस अलि कम पाइन्छ, त्यसले गर्दा सेनाको ब्यारेकमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गीत पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकोले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले हामीले काम काम गरेका छौं ।’

यस विषयले संसदमा गत जेठ १४ गते सांसद विमलप्रसाद श्रीवास्तवले अध्यक्ष शेर्पालाई कार्वाहीको माँग समेत गरेका थिए । सांसद श्रीवास्तवले शेर्पामाथि नेपाली समाजमा विभेदको विजारोपण गरेको आरोप लगाएका थिए । सांसद श्रीवास्तवले यस्तो भने—‘उहाँले मधेसीहरुलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान सिकाउँदैछु भन्ने जस्ता अभिव्यक्ति दिनुभएको हुनाले त्यस्ता अभिव्यक्ति दिने ति जिम्मेवार व्यक्तिलाई छानविन गरि आवश्यक कारवाही गर्न सभामुखमार्फत माग गर्दछु ।

यति मात्रै होइन अध्यक्ष शेर्पामाथि एन्फाकै अन्तर्गतका चार जिल्ला फुटबल संघले समेत आरोप लगाएर कार्बाहीको माँग गरेका छन् । काठमाडौ, ललितपुर, भक्तपुर र धादिङ फुटबल संघका अध्यक्षहरुले संयुक्तरुपमा अध्यक्षलाई कार्वाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । यसैबीच, मधेशी आयोगले पनि शेर्पाको विवादस्पद अभिव्यक्तिमाथि विचार गरिरहेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्