हेल्थ इमर्जेन्सी घोषणाका लागि मन्त्री परिषदमा प्रस्ताव लगिँदै

इमर्जेन्सी घोषणासँगै अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि आह्वान गर्न सक्ने



न्युज अफ नेपाल,काठमाडौं ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।स्वासथ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार बसेको बैठकले २ हजार भन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने जनाएकोछ ।

संक्रामक रोग ऐन २०२० को दफा २ मा नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरुको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ ।

सोही ऐनलाई टेकेर हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्ताव गरेको मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको प्रमुख डा. गुणराज लोहनीले बताउनुभयो । ‘हेल्थ इमर्जेन्सीको मापदण्ड मन्त्रिपरिषदले स्वीकृत गरेपछि मात्र जारी हुन्छ ।’

डा.लोहनी भन्नुहुन्छ यसको मुख्य उदेश्य कोरोना संक्रमण धेरै मानिसमा नसरोस भन्ने नै हो । स्वास्थ्य मन्त्रालयले गत मे महिनामा नै ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स योजना’ मा २ हजार भन्दा बढी कोरोना संक्रमित पुगे घरमै आइसोलेसनमा राख्ने उल्लेख गरिएको नीति पारित गरेकोछ ।

यसका साथै दुई हजारदेखि पाँच हजारसम्म संक्रमित पुगेमा दोस्रो चरणको उपचार रणनीति लागू हुनेछ । यस्तै पाँच हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा मन्त्रालयको तेस्रो चरणको उपचार रणनीति लागू हुनेछ ।१० हजारभन्दा बढी मानिसमा संक्रमण भएको अवस्थामा मन्त्रालयले सबै अस्पतालमा कोभिड १९ को बिरामी राख्ने योजना बनाएको छ ।

त्यसबेला १५ सयभन्दा बढीलाई अक्सिजन चाहिन सक्छ भने ५ सयभन्दा बढीलाई आईसीयू र भेन्टिलेटर चाहिने योजनामा उल्लेख गरिएको छ । यो योजना अनुसार सामान्य लक्षण देखिएका कोरोना संक्रमितले २ साता सम्म नियमको पालना गरि घरमै आईसोलेसनमा बस्न सक्नेछन् ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको ग्लोबल इमर्जेन्सी र महामारीका सर्तहरु स्वत लागु हुनेछन् । हेल्थ इमर्जेन्सी लागु भएसँगै सरकारले अन्तर्राष्ट्रिय मानविय साहायताको लागि आह्वान गर्न सक्ने व्यवस्थाछ ।

प्रतिक्रिया दिनुहोस्