सीसीएमसीको टोलीद्वारा होल्डिङ सेल्टरको अवलोकन



पुष्करराज बुढाथोकी,भक्तपुर ।

सरकारले विदेशबाट ल्याउने प्रदेश नं. १ र २ का नागरिकलाई भक्तपुरमा राखेर पठाउने भएपछि नेपाली सेना वीरदल गण भक्तपुरको नेतृत्वमा होल्डिङ सेन्टरको निर्माणको काम तिब्र गतिमा भएको छ ।

प्रदेश नं. १ का नागरिकलाई सूर्यविनायक नगरपालिका ५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैट र प्रदेश २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका ४ स्थित हेरिटेज बैंक्वैटमा राखिने भएपछि सेनाको टोलीले गरेको तयारीको आज कोभिड १९ क्राइसिसि म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी) को टोलीले अनुगमन गरेको छ ।

प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सामान्य प्रशासन, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको सीसीएमसीमा रहेका संयुक्त टोलीले यसको तयारीको अबस्थाबारे जानकारी लिन आज होल्डिङ सेन्टरको अवालेकन गरेको हो ।

अनुगमन टोलीलाई जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जिल्लामा आइपर्ने बिभिन्न समस्याकाबारेमा सीसीएमसीको निर्देशिकाले स्पष्ट नबोलेको भन्दै सहज रुपमा काम गर्नेगरी अधिकार दिनुपर्ने बताउनुभयो । खाना खर्च कसले व्यहोर्ने, पैसा तिर्न नसक्नेहरुले के गर्ने, यहाँका स्वयंसेवक एवं कर्मचारीका लागि खाना, पानी लगायतको व्यबस्थापन कसरी गर्ने कुनै स्पष्ट नीति नहुदा जिल्लास्थित सीएमसी समस्यामा परेको उहाँको भनाई थियो ।

“जिल्लाको सीएमसीलाई यहाँका अबस्था अनुसार काम गर्नसक्ने गरी सहज व्यबस्था गर्नु पर्यो, सबै काम सीएमसीले गरोस भन्ने, बजेट चाँही नदिने, यसरी कसरी काम गर्न सकिन्छ ?, जिसस प्रमुख गेलालले भन्नुभयो, “१०–१२ लाख रुपैयाले के गर्ने ?, कोरोना राहत कोषमा भएको रकम खर्च गरेर भएपनि सरकारले सहज व्यबस्थापन गर्नुपर्छ ।”

जिल्लास्तरीय सीएमसीको संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विदेशबाट फर्किएर होल्डिङ सेन्टरमा आउनेका लागि आवश्यक मास्क, स्यानेटाइजर जस्ता स्वास्थ्य सामाग्री आवश्यक रहेको, यहाँसम्म आउने र जानेहरुको गाडीभाडाको व्यबस्थापन, होल्डिङ सेन्टर बनाइएका पार्टी प्यालेसलाई तिर्नुपर्ने भाडा, यहाँ आउने र बस्नेहरुका लागि खाना, पानी जस्ता सामान्य कुराको व्यबस्थापनमा जरुरी रहेको बताउनुभयो ।

नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेलले एयरपोर्टबाट सेल्टरमा आएपछि राख्नेदेखि प्रदेश पठाउनेसम्म गरिएको तयारीकाबारेमा जानकारी दिनुभयो । एउटा सेल्टरमा एक हजारसम्म राख्नसकिने गरी व्यबस्थापन गरिएको र आवश्यक परेमा एउटा सेल्टरमा बढीमा २० जनासम्म सुत्न मिल्ने गरी व्यबस्थापन गरिएको बताउनुभयो ।

उहाँले निःशुल्क सिम कार्ड वितरण, ज्वरो नाप्ने, स्वास्थ्य अबस्था जानकारी लिने, एक छाक खाना खुवाउने, आराम गर्ने व्यबस्था गरिएको र एम्बुलेन्स, चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने बताउनुभयो । विदेशबाट फर्किएका भक्तपुरका नागरिकका लागि भने सल्लाघारीको चौरमा ल्याएर सम्बन्धित नगरपालिकाले आ–आफ्नो नगरका नागरिकको जिम्मेवारी लिएर क्वारेन्टाइनमा लैजाने व्यबस्था गरिएको छ ।

अनुगमन टोलीमध्येका प्रधानमन्त्री कार्यालयका विष्णुप्रसाद ढकालले एयरपोर्टबाट सेल्टरमा ल्याएकालाई प्रदेश सरकारको समन्वयमा जतिसक्दो छिटो पठाउने व्यबस्था गर्नुपर्ने, पानी लगायत प्याकिङ खाजा किन्न मिल्ने गरी डेक्स राख्नुपर्ने, निर्देशिकाले तोकेको भन्दा तलमाथि गर्न नपाउने गरी व्यबस्थापन गर्नुपर्ने बताउनुभयो ।

विदेशबाट फर्किएका भक्तपुरका नागरिकलाई राख्न सीएमसीले चारवटै नगरपालिकालाई क्वारेन्टाइनको व्यबस्था गर्न पत्राचार गरेर तयारी गरिरहेको, प्रदेश पठाउने नागरिकको हकमा दुईवटा बैंक्वेटसंगै आवश्यकता परेमा खरिपाटीस्थित क्वारेन्टाइन, सानोथिमि क्याम्पसलगायतका क्षेत्रका क्वारेन्टाइनमा पूर्ण रुपमा मानव अधिकारको पालना गर्नेगरी तयारी गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्