रुकुमपश्चिम घटना : बल्ल बोल्यो नेकपा

दलित समुदायमाथि विभेद र हिंसाका घटनाहरू देखापर्नु गम्भीर चिन्ताको विषय



न्युज अफ नेपाल,काठमाडौं ।

रुकममा ६ जनाको युवाको ज्यान गएको विषयमा ११ दिनपछि सत्तारुढ दल नेकपाले प्रतिक्रिया दिएको छ । रुकुममा अन्तरजातीय प्रेम सम्बन्धको विवादमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाबारे दुई सातापछि आफ्नो धारणा सार्वजनिक गरेको हो ।

घटनाको विरोधमा पार्टीकै नेता र सांसदहरुले निन्दा गर्ने र कार्यकर्ता तथा भातृ संगठनहरुले सडक प्रदर्शन नै गरिरहे पनि नेकपाले संस्थागत रुपमा बोलेको थिएन । छुवाछुत विरुद्धको राष्ट्रिय दिवसको अवसरमा नेकपाका महासचिव विष्णु पौडेलले एक विज्ञप्ती जारी गर्दै छुवाछुत मानव सभ्यता विरुद्धको एउटा कलंक भएको बताउनुभएको छ ।

सामन्तवादी सामाजिक सांस्कृतिक संरचनाको उपजको रुपमा रहेको यस कुप्रथाले युगौंसम्म हाम्रो समाजका श्रमजीवी वर्ग दलित समुदायलाई विभेद र उत्पीडन गर्दै आएको यथार्थ हामी सबैलाई अवगत नै छ । यस उत्पीडनविरुद्ध समाज सुधारक र मानवतावादीहरूले विभिन्न रुपमा आवाज उठाउँदै र सङ्घर्ष गर्दै आएको इतिहाससँग पनि हामी परिचित छौँ ।

सबैखाले सामन्ती उत्पीडन अन्त्य गर्दै न्यायपूर्ण, समतामूलक र विभेदरहित समाजवादी समाज निर्माण गर्ने लक्ष्य लिएर गठन भएको नेपाल कम्युनिष्ट पार्टीले स्थापना कालदेखि नै यस्ता विभेदविरुद्ध अग्रपंक्तिमा रहेर सङ्घर्ष गर्दै आएको छ, विज्ञप्तीमा भनिएको छ ।

नेपाली जनताका प्रतिनिधिहरूद्वारा जारी संविधानले मुलुकमा जातीय विभेद र छुवाछुतलगायत सबै विभेदहरूलाई अन्त्य गर्दै समानता र अविभेदको संवैधानिक प्रत्याभूति गरेको उल्लेख गदै विज्ञप्तीमा संविधानमा दलित समुदायका निम्ति विशेष व्यवस्थाहरू समेत गरिएकाले छुवाछुत र जातीय विभेदलाई सामाजिक अपराधका रुपमा दण्डनीय बनाउने कानुनी व्यवस्था समेत गरिएका बताउनुभएको छ ।

तर संवैधानिक र कानुनी हिसाबले यति अग्रगामी परिवर्तन र उपलब्धीहरू हुँदाहुँदै पनि व्यवहारमा अझै पनि दलित समुदायमाथि विभेद र हिंसाका घटनाहरू देखापर्नु गम्भीर चिन्ताको विषय हो, महासचिव पौडेलद्धारा जारी विज्ञप्तीम भनिएको छ,‘यसले हामीलाई राजनीतिक रुपमा प्राप्त उपलब्धीहरूलाई हेरेर सन्तुष्ट नहुन र सामाजिक–सांस्कृतिक रुपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घच्घच्याइरहेको छ ।

हालै रुकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ । हाम्रो पार्टी उक्त विभत्स, त्रासदीपूर्ण र आपराधिक कूकृत्यको घोर निन्दा र भत्र्सना गर्दछ, विज्ञप्तीमा भनिएको छ ।

उक्त घटनाको निष्पक्ष छानवीन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कार्वाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउदै विज्ञप्तीमा पार्टीद्वारा जारी आचारसंहितामा पार्टीका नेता कार्यकर्ताले जातीय समानताको मान्यतालाई आत्मसात गर्नुपर्ने र छुवाछुत जस्तो अपराधमा संलग्न व्यक्तिहरू पार्टीमा रहिरहन नसक्ने स्पष्ट व्यवस्था गरेको बताइएको छ ।

हाम्रोे पार्टी मुलुकको संविधान, कानुन र पार्टीको विधान एवं आचारसंहिताका आधारमा यस्ता कूप्रथालाई जरैदेखि निर्मूल गर्न कृतः संकल्पित रहेको व्यहोरा जानकारी गराउँदै उहाँले वास्तविक समानता र मानव गरिमा स्थापित गर्ने यस अभियानमा संलग्न हुन सम्बद्ध सबैमा आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्