कि खान देऊ माम कि गर्न देऊ काम !

कपिल काफ्ले



राजधानीको जोरपाटीमा बुधबार पसल बन्द गराउन गएको प्रहरी टोलीलाई स्थानीय जनताले प्रष्ट भने, ‘हामी अब सरकारको आदेश मान्दैनौं, आफ्नो व्यापार–व्यवसाय सञ्चालन गर्छौं !’टेलिभिजन क्यामराकै अगाडि उभिएर जनताले लकडाउनसम्बन्धी सरकारी नियम मान्दिनँ भनिरहँदा मुलुकमा दैनिक दुई सयका दरले संक्रमितहरु बढिरहेका छन् ।

कपिल काफ्ले

सरकारले लकडाउनको घोषणालाई कोरोना संक्रमणको उपचार वा ओखतीसरह स्वीकार गरिरहेका बेला मुलुक भने लकडाउन र क्वारेन्टिनको उचित व्यवस्थापन गर्न नसकेकै कारण कुल दुई हजार तीन सयभन्दा बढी संक्रमित र नौ जना मृत्यु भइसकेको अवस्थामा छ ।

यस पृष्ठभूमिमा नागरिक भने, फेरि पनि नागरिकलाई व्यापार–व्यवसाय खोल्ननदिनु र नियमित कामकाजमा लाग्नबाट रोक्नु थप समस्या निम्त्याउनु हो भनिरहेका छन् ।

वास्तवमा २० जेठसम्मको लकडाउनलाई जेनतेन जनताले स्वीकार गरेका थिए, तर विकल्प नदिने तर लगातार लकडाउनको लाठो बजारिरहने सरकारको नीतिका कारण यस बिन्दुमा आएर सरकारलाई असफल बनाइदिए ।

‘कोरोनाले मर्ने कहिले–कहिले, भोकले मर्ने भइयो अहिले’ जोरपाटीमा प्रतिवाद गर्ने एक सर्वसाधारणले प्रश्न गरे, ‘भाटभटेनी खोल्ने, पहुँचवालाका गाडीहरु गुड्ने, रक्सी पसलहरु जस्केलाबाट सञ्चालन हुने अनि साना व्यापार व्यवसायीलाई भोकै मार्ने ?’

अन्ततः प्रहरीले ‘हामी त कामदार हौं, आफ्ना नेताहरुलाई भन्नोस्, सरकारले निर्देशन दियो भने हामी तपाईंहरुको व्यापार रोक्न किन आउँथ्यौं र’ भनेर रित्तो हात फर्किनुप¥यो ।

वास्तवमा २० जेठसम्मको लकडाउनलाई जेनतेन जनताले स्वीकार गरेका थिए, तर विकल्प नदिने तर लगातार लकडाउनको लाठो बजारिरहने सरकारको नीतिका कारण यस बिन्दुमा आएर सरकारलाई असफल बनाइदिए ।

मुलुकमा आज ‘कि माम देऊ कि काम गर्न देऊ’ भन्ने जनताको आवाज व्यापक बन्दैआएको छ । दैनिक ज्यालादारीमा बाँच्ने र अति गरिब अवस्थामा गुजारा चलाउने नागरिकलाई सरकारले लकडाउनका नाममा नियन्त्रण गर्न खोज्दा उसले असफलताको नमिठो स्वाद चाख्नुपरेको हो ।

विश्वका सम्पन्न मुलुकले समेत नागरिकलाई ‘स्वास्थ्य सतर्कता अपनाऊ र आ–आफ्नो काममा जाऊ’ भनेको अवस्थामा हामी भने व्यवस्थित गराउन नसकिएको क्वारेन्टाईनमा अलमलिएर बसेका छौं । न त संक्रमण रोक्नसकेका छौं, न त जनतालाई काम गरेर खान दिइरहेका छौं ।

हामी अग्र भागमा उभिएर ज्यान जोखिममा पार्दै नागरिकको सेवा गरिरहेका स्वास्थ्यसेवी र सुरक्षाकर्मीलाई समेत सुरक्षा दिन सकिरहेका छैनौं । यसबीच स्वाथ्यकर्मीमाथि कुटपिट भएको छ । व्यापार–व्यवसाय चलाउन नपाएको वा अन्य आवश्यक सुविधाबाट वञ्चित हुनुपरेको झोक व्यक्तिहरु ठाउँ–कुठाउँ पोख्न थालेका छन् ।

लकडाउनले कोरोना संक्रमण त रोकेन नै बरु अन्य विविध समस्या सिर्जना गर्नथालेको छ । त्यसमध्ये मानसिक विचलनको समस्या प्रमुख देखिन्छ । डोटीको शिखर नगरपालिका– ९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुवँरमाथि आइतबार राति निर्घात कुटपिट भयो ।

लाटामाडौंमा रहेको स्वास्थ्य चौकीबाट स्वास्थ्य सामग्री बोकेर दानकोट स्वास्थ्य चौकी जाँदै गरेको अवस्थामा उनीमाथि तीन जनाले आक्रमण गरे । बेलुका ७ बजेतिर भएको आक्रमणमा परी अहेब कुँवरको टाउकामा गम्भीर चोट लाग्यो । जिल्ला र क्षेत्रीय अस्पतालमा उपचार हुन नसकेका गम्भीर घाइते उनी जेठ २० मा काठमाडौको ट्रमा सेन्टरमा ल्याइएका छन् ।

 कुवँर त एक प्रतिनिधि पात्र मात्र हुन्, धेरै स्वास्थ्यकर्मी भौतिक रुपमै त्रासमा छन् । अहिले नेपाल–भारत सिमानामा खटिएका सुरक्षाकर्मीको पनि भौतिक सुरक्षाको अवस्था गम्भीर बन्दैछ । अव्यवस्थित सिमानाबाट आफ्नो मुलुक प्रवेश गर्न चाहने नेपालीलाई रोक्न सरकारले दिएको गलत र जोखिमपूर्ण आदेशका कारण उनीहरुको असुरक्षा बढेको हो ।

यथार्थ अवस्था नबुझी दिइने आदेशका कारण नै सरकार असफल हुनेगर्छ । क्रमशः प्रहरी र स्वास्थ्यकर्मीले पनि आदेश पालना गर्न सक्तैनौं भन्ने अवस्था आयो भने सरकारको असफलता बढ्दै जानेछ । व्यापार क्षेत्रकै कुरा गर्दा दरबारमार्गमा पनि सरकारको असफलता छताछुल्ल भएको छ । सरकारले लकडाउनको मोडालिटी तय नगरेको भन्दै आक्रोशित व्यावसायीहरुले दरबारमार्ग क्षेत्रका व्यवसाय बुधबारदेखि खुलेका छन् ।

दरबारमार्ग डेभलपमेन्ट बोर्डको मंगलबार भएको अनौपचारिक छलफलपछि बुधबारदेखि दरबारमार्ग क्षेत्रको व्यवसाय सञ्चालन भएको हो । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन ७० दिन पुगेपछि धेरै क्षेत्रमा पसल खोल्न दबाब सुरु भएको छ । सरकारले व्यवसायीलाई कर तिर्न ताकेता गरेको तर कुनै प्रतिरक्षात्मक विकल्प नदिएको कारण सरकारविरुद्ध जनमत बढ्दै गएको हो ।

विश्वमा ‘सिस्टममा रहेका’ भनिएका अमेरिका, फ्रान्स, बेलायतआदि देशमा समेत केही सातादेखि ‘उपयुक्त प्रणाली नभएको’ भन्दै कोरोना कहरकै बीचमा रंगभेदविरुद्धका ¥यालीहरु निस्किरहेका छन् । अमेरिकामा अश्वेत जर्ज फोइलको गोरा प्रहरी डेबेटले दिएको यातनाका क्रममा मृत्यु भएपछि ‘दुई पार्टी सिस्टम गलत छ, रंगभेदलाई निर्मूल पार्ने व्यवस्थाको खाँचो छ’ भन्दै मुलुकभित्र र बाहिर आन्दोलन भएका छन् ।

फ्रान्समा चार वर्षअघि प्रहरी नियन्त्रणमै मारिएका याडम ट्रायरेलाई न्याय दिन फ्रान्सेलीहरु सडकमा उत्रिएका छन् । हामीकहाँ त धेरै क्षेत्रमा ‘सिस्टम’ नै बस्न सकेको छैन । यस्तोमा सरकारले अझ बढी सजग हुनु आवश्यक छ । स्वास्थ्य चेतनाका साथ लकडाउन नमान्ने छुट नागरिकले अब लिएरै छाड्नेछन् । यस कार्यका लागि सरकारले सहजीकरण गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्