आर्मेनियाली प्रधानमन्त्रीको परिवारै कोरोना पोजिटिभ



येरेवान, (एजेन्सी)

आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियन र उनका परिवारका सबै सदस्य कोरोना भाइरस पोजिटिभ देखिएका छन् । पासिनियनले सोमबार फेसबुक पोस्टमा आफँलाई संक्रमणको कुनै लक्षण नभएको तर सैन्य इकाइको कार्यक्रममा जानुअघि आफ्नो जाँच गर्ने फैसला लिएको र जाँच रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेको छ । प्रधानमन्त्रीले भने– ‘म घरबाटै काम गर्छु ।’

आफँलाई सम्भवतः संक्रमण एक वेटरबाट भएको उनले आशंका व्यक्त गरेका छन् । ती वेटरले एक बैठकमा सुरक्षा पहिरनबिना उनका लागि एक गिलास पानी ल्याएको र पछि उनी कोरोना भाइरस संक्रमित पाइएको थियो । करिब ३० लाख जनसंख्या भएको आर्मेनियामा कोरोना भाइरसका संक्रमित अहिलेसम्म ९ हजारभन्दा बढी देखिएका छन् भने करिब १ सस ३० जनाको मृत्यु भइसकेको छ ।

आर्मेनियामा मार्चको मध्यमा आपत्कालीन स्थितिको घोषणा गरेको थियो । पासिनियनले गत हप्ता आर्मेनियामा विषाणु संक्रमणको स्थिति खराब हुँदै गइरहेको बताएका थिए । उनका परिवार सदस्यको परीक्षण पनि कोरोना पोजिटिभ आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्