पदक विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने



विजय नेपाली, पोखरा

गण्डकी प्रदेश सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक ल्याउन सफल प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने भएको छ । आइतबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका खेलाडीहरूलाई रकम दिने बताएका हुन् ।

सागमा पदक विजेतालाई नगद दिने योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ । ‘नेपाल सरकारले आयोजना गरेको १३औं दक्षिण एसियाली खेलकुदका आठवटा इभेन्ट प्रदेशको राजधानी पोखरामा सफलतापँर्वक सम्पन्न गरिएको छ । सो प्रतियोगितामा यस प्रदेशका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।’ नीति तथा कार्यक्रममा समेटिएको छ ।

मंसिरमा सम्पन्न १३ औं सागमा गण्डकी प्रदेशका खेलाडीले २ स्वर्ण, १५ रजत र १६ कांस्य हात पारेका थिए । साग पदक विजेता खेलाडीलाई राज्यले सम्मान गरिसकेको छ भने केही प्रदेशले सम्मान गर्ने बताइरहँदा गण्डकी प्रदेशले भने यसअघि कुनै गृहकार्य गरेको थिएन । युवा तथा खेलकुद मन्त्रालयले भने सागमा स्वर्ण विजेतालाई आजीवन भत्ता दिने व्यवस्था गरेको छ । मन्त्रालयले मासिक ६ हजारको दरले भत्ता दिने योजना बनाएको छ ।

गण्डकी प्रदेशका नवीन रसाइली कराते (बाग्लुङ) र स्याङ्जाकी प्रशांसा क्षेत्रीले स्वर्ण हात पारेका थिए भने टेनिस इतिहासमा पहिलो पटक नवीन पुनमगर र प्रदीप खड्काले कांस्य ल्याउँदै इतिहाससमेत रचेका थिए । उता महिला भलिबलमा समेत निकै उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्दा भलिबलको कप्तानी पनि बाग्लुङकी अरूण शाहीले गरेकी थिइन् । उनको कम्तानीमा रजत जित्न नेपाल सफल भएको थियो । यीबाहेक महिला ह्यान्डबलमा पनि गण्डकी प्रदेशका खेलाडीको उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस्तै प्रदेश सरकारले खेलकुदको पँर्वाधार निर्माणलाई निरन्तरता दिने भएको छ । प्रदेश सरकारको खेलकुद पँर्वाधार विकास योजनाअन्तर्गत रहेको बहुउद्देश्यीय रंगशाला, अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला, हाइअल्टिच्युड खेल मैदान र एक स्थानीय तह एक खेल मैदानको योजनालाई निरन्तरता दिनेछ । ‘नेपाल सरकारसँगको सहकार्यमा प्रत्येक जिल्लामा रंगशाला निमार्ण गर्ने नीति लिइनेछ ।’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

स्थानीय तहसँगको सहकार्यमा २२ गाउँपालिका र पाँच नगरपालिकामा खेल मैदान र रंगशाला निर्माणको कार्य अगाडि बढाइएको समेत उल्लेख गरिएको छ । प्रदेश सरकारसँग प्रतियोगिता सम्पन्न भएको ६ महिनासम्म पनि पदक विजेता खेलाडी तथा प्रशिक्षकको तथ्यांक थिएन । प्रदेश सरकारले केही दिन अघिमात्र नामावली तथा तथ्यांक तयार गरेको थियो ।

समावेश गरिएन नवौं खेलकुद प्रतियोगिता
आइतबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भने समेटिएको छैन । आगामी फागुन २० देखि गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । आयोजक नै रहेको प्रदेशले आफ्नो योजनामा भने प्रतियोगितालाई समावेश गरेको छैन ।

यसले प्रदेशस्तरबाट हुनुपर्ने तयारीको सन्दर्भमा केही अन्योल देखिएको छ । कोरोना भाइरसको कारणले पँर्वाधार निर्माणमा असर परिरहेको अवस्थामा प्रदेश सरकारले आफ्नो योजनामा समावेश नगर्दा थप ढिलाइ हुने सम्भावनासमेत देखिएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले खेल पँर्वाधार निर्माण एवम् मर्मत सम्भार गर्नका लागि ४३ करोड ७० लाख रुपियाँ माग गरेको छ । त्यस्तै प्रदेश सरकारसँग पनि २ करोड ८८ लाख रुपियाँ माग गरेको छ । प्रदेशको ११ जिल्लामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्