प्रधानमन्त्रीको कलमबाट बन्छ नमुना नेपाल



प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित गीत बन्छ नमुना नेपाल सार्वजनिक गरिएको छ। गीतमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुखसमेत रहेका संगीतकार प्राज्ञ अशोक राईले संगीत भरेका छन्।

देशप्रेम, देश विकास र समृद्धिको सपना झल्किने गीत गायक गायिका सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयसी चेम्जोङले गाएका छन्।

स्वदेशमै रोजगारी स्वेशमै बास
रोजिँदैन प्रवास अब गर्ने देश विकास
खेर जान्नन् नदी नाला, बाँझा हुन्नन् डाँडापाखा
यो ऊर्वर सुन्दर देश

गीतमा प्रधानमन्त्री ओलीले भनेका छन्।
प्रधानमन्त्री ओलीले यो गीत दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा रचना गरेको बताइएको छ। शब्द, सङ्गीत, गायन र दृश्यको राम्रो संयोजन रहेको उक्त गीत संगीतकार राईको साङ्गीतिक समँह अन्तराको युुटुब च्यानलमार्फत् म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

साहित्य, कला, संस्कृति, सङ्गीत, इतिहास, दर्शन, सामाजिक शास्त्रलगायतका विषयमा रुचि र ज्ञान राख्ने ओली विद्यार्थी जीवनदेखि नै प्रगतिशील भावका कविता लेख्ने गर्दथे। उनका दर्जनौं कविता तथा गीत प्रकाशित छन्। बिदेसिएका जनशक्तिलाई स्वदेशमै फर्काएर यहीं रोजगारी सृजना गरी देशविकासमा लगाउने भावधारा गीतमा छ।

प्रतिक्रिया दिनुहोस्