फिफाद्वारा खेलाडीको विरोधमा विरोध



लन्डन, एजेन्सी ।

अमेरिकामा अश्वेत जातिका नागरिक जर्ज फ्लोइडको मृत्युपछि धेरै फुटबल खेलाडीहरुले मैदान भित्र र बाहिर विरोध प्रदर्शन गरिरहेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले खेलाडीद्वारा विरोधमा विरोध जनाएको छ । फिफाले आयोजकहरुलाई विवेकका साथ कार्य गर्न र मैदानमा खेलाडीहरुलाई विरोध गर्न कुनै छुट नदिन आग्रह गरेको छ ।

फिफाले भने—अमेरिकाको मिनियापोलिस सहरमा अफ्रिकी अमेरिकी काला नागरिक जर्ज फ्लोइडसँग भएको घटनाप्रति हाम्रो सहानुभुति छ । तर फुटबलको नियम उल्लंघन गर्न छुट दिइदैन ।

आईतबार जर्मनी लिगमा बोरुसिया डर्टमन्डका दुई खेलाडी जाडोन सान्चो र अचरफ हाकीमीले जस्टिस फर फ्लोइड लेखिएको टि शर्ट लगाएर खेलेका थिए । यस्तै बोरुसिया मुन्चेनग्लाडबाकका खेलाडी मार्कस थुरामले पनि युनियन बर्लिनविरुद्ध गोल गरेपछि फ्लोइडको सम्मानमा एउटा घुँडाले टेकेर बसेका थिए ।

जर्मनी फुटबल संघले खेलाडीहरुले यस तरिकाको व्यवहार प्रदर्शन गर्न प्रतिबन्ध भएको घोषणा गरेको थियो । तर आजै मात्र पनि इंग्ल्यान्डको क्लब लिभरपुलका खेलाडीले पनि अभ्यासमै फ्लोइडको सम्मान गरेका छन् । उनीहरु घेरा बनाएर सामाजिक दुरीमा रहँदै एक घुँडामा टेकेर फोटो खिचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्