बजेटमा पर्यटन क्षेत्रः नीति राम्रो तर कार्यान्वयनमा भने आशंका



परिवर्तन देवकोटा, काठमाडौं ।

अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्र कोभिड १९ रोगले ल्याएको महामारीका कारण ठप्प भएको छ । आर्थिक समृद्धिको लागि महत्वपूर्ण हिस्सा ओगटेको पर्यटन क्षेत्रमा महामारीका कारण जनस्तरमा जिविकोपार्जन ठप्प भएको छ भने सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० पनि स्थगित भएको छ । महामारीका कारण पर्यटन सम्बद्ध व्यवसाय सबैभन्दा बढी प्रभावित भएको अवस्था छ । महामारीकै बीचमा सरकारले गत बिहीवार आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले कोभिड १९ बाट प्रभावित पर्यटनलगायतका उद्योगका कर्मचारीलाई पारिश्रमिक दिनका लागि ५ प्रतिशत ब्याजमा रकम दिन ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । यस्तै आन्तरिक पर्यटन प्रवद्र्धनमा सरकारले देश दर्शन लगायतका विभिन्न प्याकेज घोषणा गर्ने उल्लेख गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत कतिपय पर्यटन व्यवसायी उत्साहित भएका छन् भने कतिपयले आफूहरूलाई सरकारले वेवास्ता गरेको गुनासो पोखेका छन् । सरकारले बजेट सधैं मिठो बनाउने गरेपनि कार्यान्वयनका कञ्जुसाईं गर्ने बानी अहिले पनि दोहो¥याउने हो कि भनि कतिपय पर्यटन सम्बद्ध अधिकारीहरूले आशंका गरेका छन् ।

सरकारले बजेटमार्फत पर्यटन क्षेत्रलाई समेट्ने प्रयास गरेको ट्रेकिङ एजेन्सिज एसोशियसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी बताउनुहुन्छ । उहाँले पहिलाको तुलनामा अहिले पर्यटन क्षेत्रलाई बजेट पर्याप्त रहेको उल्लेख गर्नुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘पहिलेका वर्षको तुलनामा आगामी वर्षको बजेट पर्यटन क्षेत्रलाई समेट्ने खालको आएको छ ।’

अध्यक्ष सुवेदीले बजेटमा पर्याप्त सम्बोधन भएपनि गत वर्षहरूमा कार्यान्वयन अभाव रहेको बताउनुहुदै महामारीका समयमा सरकारले बजेटमा व्यवस्था भएबमोजिम कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘बजेट पर्याप्त आएपनि कार्यान्वयनमा चुनौति देखिन सक्ने आशंका छ । पहिला पनि बजेट हुने तर कार्यान्वयन नहुने गरेको थियो ।’

‘ठूलादेखि मझौला तथा साना व्यवसायीसम्ममा बजेटमा व्यवस्था भएबमोजिम कार्यान्वयन र कार्यविधी बनाइनुपर्छ,’ उहाँले भन्नुभयो,‘हाम्रा व्यवसायीदेखि हाम्रा मजदूरसम्मले बजेटको उपभोग गर्न पाउनुपर्छ ।’

उहाँले पर्यटन क्षेत्रका लागि विनियोजन गरेको बजेट, पूर्वाधारको विकास, पर्यटक मजदूरहरूको हकको लागि वैकल्पिक रोजगार, तालिम तथा राहत, कर्जाको सुविधा, व्याजदर तथा करमा छुट, नविन सूचना व्यवस्था प्रणाली लागू गर्ने लगायतका कार्यक्रमहरू स्वागतयोग्य भएको भन्दै यसलाई सरकारले कार्यान्वय गर्नुपर्ने बताउनुभयो ।

यता होटल एसोशियसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भने सरकारले होटल व्यवसायीलाई वेवास्ता गरेको बताउनुहुन्छ । बजेट हेर्दा राम्रो आएको जस्तो देखिएपनि होटल व्यवसायीको लागि गुदी कुरा नआएको बताउनुभयो ।

उहाँले आफूहरू टिक्नका लागि नै समस्या भएको यस अवस्थामा सरकारले ५ प्रतिशत ब्याजदरमा कर्जा लिएर कर्मचारी पाल्नु भन्ने कुरा गरेको छ त्यो नै आफूहरूको लागि गम्भीर चुनौति भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘होटल बन्द भएकै तीन महिना हुन लागिसक्यो ।

अझै कति समय बन्द हुने हो थाहा छैन, यस्तो अवस्थामा ऋण लिएर कर्मचारी पाल्न सकिदैन, सरकारले हामीलाई वेवास्ता ग¥यो ।’ होटल व्यवसायीलाई उत्साह दिनुपर्ने समयमा सरकारले त्यसो नगरेर बजेटमा बेवास्ता गरेको उहाको भनाइ छ ।

होटल व्यवसायीले अब कसरी अघि बढ्छन् भन्ने प्रश्नमा उहाँले बजेटपछि व्यवसायीहरूबीच घनिभूत छलफल भइरहेको भन्दै आगामी दिनमा होटल बन्दसम्म गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘एकदमै असाधारण परिस्थिती रहेको छ त्यसकारण हामी सोचेर, छलफल गरेर अगाडि बढ्छौं ।’

उहाँले बजेटमा केही कुरा समेटिएपनि कार्यान्वयनमा नआउने गरेको सुनाउँदै सरकारले बजेटको नीतिगत व्यवस्थालाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । सरकारले देश दर्शन नाम दिएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने कुरा गरेको छ त्यो भने राम्रो रहेको बताउँदै उहाँले कोरोनाको महामारी साम्य भएपछि यसले केही सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्