पाँच दिनपछि घरबाहिर निस्कदा खुशीयाली



न्युज अफ नेपाल, हेटौंडा ।

पाँच दिनपछि घरबाट बाहिर निस्कन पाउँदा हेटौंडा–१, चौकीटोल भैरवपथका स्थानीयमा मंगलबार विहान खुशीयाली छाएको छ ।

टोलकी २५ वर्षीया गर्भवती कोरोना संक्रमणबाट मुक्त भएर उनको सम्पर्कमा रहेकाहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि ५ दिनदेखि घरमै बसेका स्थानीय सिल खुलेसँगै खुशी भएका हुन् ।

वडा अध्यक्ष सबिन न्यौपाने र चौकीटोल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बीपी पाण्डेसहित टोली पुगेर स्थानीयले सम्झाइबुझाइ सिल खोल्नुभएको थियो ।

कोरोना संक्रमित महिला निको भएर भरतपुरमा रहेको विशेष अस्पतालबाट डिस्चार्ज भएको र उनको सम्पर्कमा रहेकाहरुको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि सिल खोलिएको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।

उनको सम्पर्कमा रहेका १३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हेटौंडा आइसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईंले बताउनुभयो । सोमबार उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

जेठ १४ मा हेटौंडामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनलाई हेटौंडाबाट सोही दिन भरतपुर पठाइएको थियो । उनलाई डिस्चार्ज हुँदा अस्पतालसम्बद्ध अधिकारी र स्वास्थ्यकर्मीले बिदाइ गरेका थिए ।

उपचारमा रहेकी उनी कोरोना संक्रमणको पुष्टि भएको तेस्रो दिनमा संक्रमणमुक्त भएको हुनाले अस्पतालले आइतबार विहान डिस्चार्ज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्