किन बढ्दो छ महिला आत्महत्या?



टंक पन्त

कपिलवस्तुको गोरसिंगेबाट एक किलोमिटर दक्षिण निवासी सावित्रा भुसालले एक हप्ताअघि आत्महत्या गरेपछि उनको परिवार र गाउँ नै अहिले शोकमा डुबेको छ । ५ महिनाकी गर्भवती भुसालले गरेको आत्महत्यासँगै अनेक प्रश्न उठेको छ । जम्मा चारजनाको परिवार भए पनि उनको परिवारमा केही समयदेखि असन्तोषको बादल मडारिँदै गएको थियो ।

लकडाउनभन्दा केही दिनअघि मात्रै विदेश गएका श्रीमान् दिनेश भुसाल स्वदेश फर्किन पाएका छैनन् । दुबईमा विगत २ वर्षदेखि मजदुरी गर्दै आएका उनी श्रीमतीले गरेको आत्महत्याले निकै तनावमा रहेको र सकेसम्म चाँडो घर फर्किने तयारीमा रहेको जानकारीमा आएको छ । उनी गर्भवती भएपछि श्रीमान् मात्र होइन, सिंगो परिवार पहिलो बच्चा आगमनको प्रतीक्षामा थियो । तर विडम्बना ! गएको हप्ता सोच्दै नसोचेको घटना घटेपछि गाउँ–टोल, परिवार नै शोकमा रहेको र आत्महत्याको कारण खोजीमा रहेको स्थानीय रमेश भुसालले आफ्नो ट्वीटमा लेखेका छन् ।

२५ वर्षीया भुसालको दुई वर्षअघि मात्रै विवाह भएको थियो । पहिले निकै मिलेको परिवार थियो । दुई–तीन महिनायता भने परिवारमा सामान्य असन्तोषका स्वरहरु देखिन थालेको भए पनि यो तहसम्म पुग्ला भन्ने कसैले सोचेको थिएन । बुझिएअनुसार श्रीमान्ले लकडाउनकै कारण विदेशबाट पैसा पठाउन नसकेपछि सासू–ससुराले उनलाई आरोप लगाउन थालेका थिए ।

जति लकडाउन बढ्दै गएको छ, त्यति सुत्केरी एवं गर्भवतीले आत्महत्या गर्ने गरेको, घरेलु हिंसा बढ्दै गएको, बालिकामाथि बलात्कार भएको र उनीहरुमा मानसिक तनाव बढ्दै गएको पाइएको छ । विगतको तुलनामा लकडाउनमा २५ प्रतिशतले यस्ता घटनामा वृद्धि भएको छ । सामाजिक, आर्थिक, धार्मिक, परम्पराबाट प्रतिपादित र निर्देशित कुप्रथाका कारण पनि महिलाविरुद्धका हिंसा बढिरहेका छन् ।

छोराले पैसा पठाएको होला तर बुहारीले हामीलाई नदिएको भन्नेसम्मको आरोप लगाउन थालिएको थियो । एकातिर श्रीमान् लकडाउने गर्दा काम गर्न नपाएर अप्ठ्यारोमा परेको कुरा हुने गरेको थियो भने अर्कोतिर पैसा नपठाएको वा पैसा पठाएर बुहारीले ढाँटेको जस्तो आरोप लाग्न थालेपछि विगत एक महिनादेखि श्रीमती भुसाल निकै तनावमा थिइन् ।

त्यही तनाव सहन नसकेर एक दिन श्रीमान्लाई फोन गरेर जसरी पनि घर फर्किन आग्रह गरेकी थिइन् । आग्रह मात्र नभएर, चाँडो फर्किनुभएन भने मलाई गाह्रो हुने भयो भन्नेसम्मको कुरा गरेको उनका श्रीमान्ले बताएका छन् । काम गर्न गएका वा विदेशमा अलपत्र परेकाहरुलाई स्वदेश फर्काउन सरकारले योजना बनाएपछि दिनेश भुसाल यसै हप्ता घर फर्किंदै छन् ।

केही महिनापछि बाबु बन्ने खुशीयाली लिएर घर फर्किने सोच बनाएका भुसाल उल्टो पीडा बोकेर आउँदै छन् । घरको आर्थिक स्थिति कमजोर भएका कारण पनि भुसाल परिवार दिनेशकै निर्भरमा थियो । उनकै बाबुआमाले लकडाउनका कारण छोराले तीन महिनादेखि काम गर्न नपाएको र कमाइ शून्य भएको बुझ्न नसक्दा परिवारमा ठूलो क्षति हुन पुग्यो । लकडाउनले भुसाल परिवारमा मात्र होइन, धेरै परिवारमा दुःख निम्त्याएको छ ।

कलिलो उमेरकी सावित्राको मृत्युलाई एकजनाको मृत्यु भएको रुपमा लिन सकिँदैन । ५ महिनाको बच्चा पनि गुमेको छ । उनको माइतीमा ठ्ूलो सन्नाटा छाएको छ । सासू–ससुरा वा अन्य परिवारले घरमा कुनै पनि व्यवहार गर्दा सकारात्मक सोचाइ राख्नुपर्छ । कसैप्रति विभिन्न बहानामा शतप्रतिशत झुटो आरोप लगाउने काम भयो भने असह्य हुन्छ भन्ने कुरा सावित्राको आत्महत्याले देखाएको छ । श्रीमान् बाहिर भएको बेला घर–परिवारमा गरिने यस्ता खालका व्यवहारले धेरै परिवारलाई क्षतविक्षत बनाएको छ ।

देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि सोचमा भने परिवर्तन आउन सकेको छैन । कहिले लकडाउनको निहुँ त कहिले अन्य निहुँमा महिलाले सबैभन्दा बढी पीडा भोग्नुपरेको छ । आज लकडाउन प्रारम्भ भएपछि मात्रै ३२ जना गर्भवती र सुत्केरी महिलाले आत्महत्या गरेका छन् । उनीहरु कसैले राम्रो स्याहार नपाएर त कसैले हिँसा भोग्नुपरेको कारण अनि कसैले गरिबीले गर्दा हुने गरेको झगडाले गर्दा आत्महत्याको निर्मम बाटो रोजेको प्रहरीको विश्लेषण छ ।

गर्भवती, सुत्केरी महिलाले मात्र होइन, यो लकडाउनको अवधिमा अन्य १ हजार ३ सय ४ जनाले पनि आत्महत्या गरेका छन् । लकडाउनकै कारण घरेलु हिंसाको पीडामा पर्नेको संख्या ६ हजारभन्दा नाघेको छ । राष्ट्रिय महिला आयोग, केन्द्रीय प्रहरी महिला सेल, राष्ट्रिय मानवअधिकार आयोग एवं अन्य अधिकारकर्मी संस्थाहरुको वेबसाइटमा हेर्ने हो भने दर्ता भएका घटनाभन्दा दर्ता नभएका घटना दोब्बर हुन सक्ने कुुरा विश्लेषणसहित सूचित गरिएको छ ।

यौन हिँसा र घरेलु हिँसाका कारण महिला बढी तनावमा छन् । महिला आयोगका अनुसार विभिन्न हिंसा भोग्न बाध्यमध्ये ६० प्रतिशत महिला मानसिक तनावमा छन् भने सोही कारण मानसिक तनावमा पर्ने पुरुषको सख्या पनि १० प्रतिशत रहेको छ ।

कतिपय पुरुष महिलाका कारण घर छोड्ने स्थितिमा पुगेका छन् । लकडाउन प्रारम्भ भएपछि एकजना पुरुषले निरन्तर हुने गरेको घरझगडाले गर्दा केन्द्रीय प्रहरी महिला सेलमा फोन गरेर ‘श्रीमतीको टोकसोले गर्दा घर बस्न नसक्ने भएकोले कि त मिलाइदिनुप¥यो, कि त मलाई पनि कोरोना संक्रमितहरुसँगै लगेर राखिदिनुप¥यो’ भनी आग्रह गरेका थिए ।

त्यो उनको घटनालाई प्रहरीले रेकर्डमा राखेर लकडाउन अवधिभर घरमै बस्ने गरी मिलापत्र गरिदिएको थियो तर त्यो परिवारमा अहिले पनि निरन्तर झगडा हुने गरेको छ ।

लकडाउनपछि अहिलेसम्म राष्ट्रिय महिला आयोगमा मानसिक यातनाका घटना ४ सय २४ वटा दर्ता भएका छन् । प्रहरीको रेकर्डमा भने बलात्कृत २ सय ७४ र बलात्कारका प्रयास ६२ रहेका छन् । बालविवाह ४, बोक्सीको आरोप ९, जातीय भेदभावका घटना ७, बालयौन हिंसा ३५, घरेलु हिंसाका घटना ३ सय ७४ रहेको प्रहरीले जनाएको छ । लकडाउनको समयमा धेरै परिवारमा एकले अर्कालाई राम्ररी चिन्ने मौका मिलेको छ र धेरैमा खुशी छाएको छ ।

श्रीमान्–श्रीमती दुवै जागिरे हुँदाको व्यस्तताले बालबालिकाले बाबुआमासँगै बस्न धेरै समयदेखि पाएका थिएनन्, उनीहरुका लागि राम्रो भएको छ । तर गरिब परिवारमा दैनिकी चलाउन गाह्रो भएका कारण बालबालिकाले समेत तनाव भोग्नुपरेको छ । कतिपय बालबालिका घरमा बसिरहनुपरेको कारण मानसिक तनावमा छन् । बालमजदुर सरोकार केन्द्र (सिविन)का अनुसार विद्यालय जान नपाएर वा घर–परिवारमा हुने गरेको झगडाले गर्दा २५ प्रतिशत बालबालिका मानसिक तनावमा रहेका छन् ।

केही बालबालिका यौनहिंसा र बलात्कारको सिकारसमेत भएका छन् । लहान नगरपालिका–२० की ११ वर्षीया बालिकामाथि जेठ २२ गते बिहान साढे ११ बजे खेतमा घाँस काट्न गएको बेला दुई किशोरले बलात्कारको प्रयास गरे । एकजना छातीमा चढेर मुख च्याप्न थालेको र अर्कोले कपडा खोल्न थालेपछि मुख च्याप्नेलाई बालिकाले औंलामा निकै नराम्ररी टोकिदिएपछि बलात्कारको प्रयास असफल भएको थियो ।

केटाको हातबाट निकै रगत बगेर रुन, कराउन थालेपछि गाउँलेले थाहा पाएका थिए । आमाको मृत्युपछि बाबुले अर्की विवाह गरेको कारण उनी लामो समयदेखि घरमा अपहेलित हुँदै आएकी थिइन्, जसले गर्दा घाँस काट्नेदेखि घरको सबै काम गर्नुपर्ने बाध्यता आइप¥यो । र, घरमा अपहेलित भएको कारण पनि उनीमाथि गाउँले केटाहरु जाइलाग्ने गरेका छन् । लकडाउनकै फाइदा उठाएर महिला, बालिकामाथि यौनहिंसा गर्ने, श्रीमतीले नचाहँदा पनि यौन आकांक्षा राख्ने र जतिखेर पायो त्यतिखेर जबर्जस्ती गर्ने जस्ता प्रवृत्ति पनि देखिएका ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० की ८ वर्षीया बालिकामाथि पनि यही बीचमा बलात्कार भएको छ । विपन्न मुसहर परिवारकी ती बालिकाकी आमा डिप्रेसनमा रहेका र बाबुले पनि त्यति वास्ता नगरेका कारण उनी थप पीडामा छिन् । ती बालिकालाई स्थानीय युवाले खुट्टा बाँधेर मुखमा टेप लगाई बलात्कार गरेका थिए । यति मात्र नभएर यौनांगमा कोदालोको बिँडसमेत कोचेको खुल्न आएको छ ।

पछि कसैलाई भनेमा मारिदिने धम्की दिएपछि ती बालिकाले अम्बाको रुखबाट लडेर घाइते भएको भनेकी थिइन् । आफ्नै बाबुले त्यति ठूलो घटना हुँदासमेत बेवास्ता गरेका कारण पनि उनले सबै कुरा भन्न सकिनन् । तर घटनाबारे जानकारी पाएपछि तिलोत्तमा नगरपालिकाले आवश्यक कारबाहीको प्रक्रिया थालनी गरी बालिकाको उपचार प्रारम्भ गरेको छ ।

जति लकडाउन बढ्दै गएको छ, त्यति सुत्केरी एवं गर्भवतीले आत्महत्या गर्ने गरेको, घरेलु हिंसा बढ्दै गएको, बालिकामाथि बलात्कार भएको र उनीहरुमा मानसिक तनाव बढ्दै गएको पाइएको छ । विगतको तुलनामा लकडाउनमा २५ प्रतिशतले यस्ता घटनामा वृद्धि भएको छ । सामाजिक, आर्थिक, धार्मिक, परम्पराबाट प्रतिपादित र निर्देशित कुप्रथाका कारण पनि महिलाविरुद्धका हिंसा बढिरहेका छन् ।

गम्भीर अपराधको रुपमा रहेका यस्ता अमानवीय घटना हुन नदिन स्थानीय तहदेखि राष्ट्रिय तहसम्म रणनीति बनाएर आम सचेतनाको अभियान चलाउन ढिला भैसकेको छ । किनकि संविधानसभाले बनाएको संविधान र सो संविधानअनुसार बनेका ऐन–नियमले महिला, बालबालिकामाथि हुने हरेक खाले हिंसालाई दण्डनीय हुन्छ भनेको छ तर आम जनतामा जबसम्म सचेतनाको विकास हुँदैन र ऐन–नियमलाई कडाइका साथ व्यवहारमा ल्याइँदैन तबसम्म सामाजिक अपराधका रुपमा विकास भैरहेका घटनाहरु दोहोरिरहने छन् ।

लकडाउन प्रारम्भ भएपछि अमेरिका, बेलायत, फ्रान्स, क्यानडाजस्ता विकसित मुलुकमा लैंगिक हिंसाका घटना ३० देखि ४० प्रतिशतसम्म बढेका छन् भने नेपालमा २५ प्रतिशतले बढेको छ । जसमध्ये सबैभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् । महिला, बालिकामाथि हुने कुनै पनि हिंसा त्यो परिवारको समृद्धि र विकासका लागि पनि बाधक हो । परिवारमा हुने हिंसाले न त त्यो परिवारको विकास हुन्छ, न त खुशी हुन्छ नै छाउँछ, न समाजले नै राम्रो मान्छ । त्यसैले हरेक परिवारले त्यो कुरालाई मनन गरेर सामाजिक न्याय र सकारात्मक सोचको विकास गर्नुपर्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा जस्तोसुकै घटना भए पनि आफ्नो परिवारको समृद्धि र सुखी जीवनका लागि आफैंबाट परिवर्तनको प्रारम्भ गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्