सर्पले डसेर बृद्धाको मृत्यु



घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीको मध्यविन्दु ४ पनौतीमा विषालु सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया बनिया कुमारी महतो रहेको बुहारी शान्ति महतोले बताउनु भयो ।

चितवनको भरतपुर अस्पतालमा भर्ना गरी उपचार गर्ने क्रममा आईतबार बृद्धा बनियाको मृत्यु भएको पारिवारिक स्रोतले जनाएकोछ । मृतक बनियाकी बुहारी शान्तिका अनुसार सासु आमा बनिया कुमारीलाई शनिबार विहान घर नजिकै बारीमा घास काट्ने क्रममा विषालु सापले डसेको रहेछ ।

सासु आमाले के ले टोक्यो भन्दै आउनुभयो, आफूहरुले सर्पले त टोकेन भनि सोध खोज गर्दा वहाले केही वताउन नसके पछि नजिकैको क्लीनिकमा लगेको बुहारी शान्तिले बताउनु भयो ।

क्लीनिकले सर्पले टोकेको आशंका गरे पछि घर ल्याई साधन खोजेर मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा जिल्ला अस्पतालले भरतपुर लैजान सिफारिस गरेको थियो ।

जिल्ला अस्पतालको सल्लाह अनुसार आमालाई भरतपुर लगेर उपचार गर्दा पनि शरीरमा विष फैलि सकेकोले बचाउन सकिएन भन्दै अस्पतालले मृत घोषणा गरेको शान्तिले बताउनु भयो ।तराईमा गर्मी चढेसंगै सर्पको विगविगी हुने गर्दछ, तर जिल्लामा भरपर्दो सर्पदंश अस्पताल नहुदा बर्षेनी कैयौंले अकाल मृत्यु भोग्नु पर्ने स्थिती बन्ने गरेको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्