एन्फाको बजेट प्रस्तुत, थापामाथिको कारबाही अनुमोदन



न्युज अफ नेपाल, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको बैठकले आगामी आर्थिक बर्षका लागि ७० करोड एकचालीस लाखको बजेट प्रस्तुत गर्नुका साथै ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापामाथि कारबाहीको निर्णय पनि अनुमोदन गरेको छ ।

एन्फा कार्यसमिति बैठकले प्रशासनिल खर्च लगायतका बिषयमा ७० करोडको बजेट प्रस्तुत गरेको हो । फिफा, एएफसी र आन्तरिक स्रोतबाट प्राप्त बजेटलाई मुख्य मानिएको छ ।

त्यस्तै, बैठकले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको कारबाहीको निर्णय पनि अनुमोदन गरेको छ । एन्फा बैठकले संस्था र पदाधिकारीमाथि अपशब्द बोलेको आरोपमा जिल्ला अध्यक्ष थापामाथि कारबाही गर्ने सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।

थापाले आफुमाथि गरिएको कारबाही अवैधानिक रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सहित फिफा, एएफसी लगायतका निकायमा उजुरी दिएका थिए ।उनले आफुलाई कारबाही गर्ने वैधानिक अधिकार सचिवालयलाई नभएको भन्दै अवैधानिक कारबाही गर्ने महासचिवलाई कारबाहीको माग गरेका थिए ।

त्यस्तै, बैठकमा कोरोना भाईरसका सम्बन्धमा फिफाले प्रदान गर्ने राहतको बिषयमा कार्यसमितिका सदस्यहरुलाई जानकारी गराईएको थियो । जसअनुसार कोरोनाबाट प्रभावित फुटबल क्षेत्रको राहतका लागि एन्फाले १ लाख डलर छुट्याएको छ । जसमध्ये प्रभावित खेलाडी, कर्मचारी, रेफ्रि, प्रशिक्षक लगायतलाई रकम दिने एन्फाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्