फ्लोएड हत्या प्रकरणमा खेलाडीहरुको विरोध



न्युज अफ नेपाल,काठमाडौं ।

गत साता जातपातका कारण रुकुममा भएको सामूहिक हत्याको देशव्यापी विरोध सेलाउन नपाउँदै विश्व फेरि अहिले अर्को एउटा जातिय विभेद घटनाको साक्षी बनेको छ। यसपटक भने विश्वकै समृद्धशाली देश कहलिएको संयुक्त राज्य अमेरिकामा काला जाति भएकै कारण प्रहरीको हातबाट एकजना अश्वेत नागरिकले ज्यान गुमाएका छन् ।

केही दिनअघि अमेरिकाको मिनियापोलिसमा अश्वेत भएकै कारण हत्या गरिएका ४६ बर्षीय जर्ज फ्लोएडकोे समर्थनमा अमेरिकी जनताहरुले अहिले ब्यापक विरोध गरिरहेका छन् । जसलाई खेलाडीहरूले पनि साथ दिइरहेका छन् ।

प्रहरीको ज्यादतीका कारण ज्यान गुमाएका जर्जको लागि न्यायको माग गर्दै मिनेसोटा राज्यदेखि सल्किएको आगो बिश्व खेलकुदमा पनि फैलिएको हो । टेनिस स्टार कोको गोउफ, बास्केटबल स्टार माइकल जोर्डन, लेब्रोन जेम्सपछि अहिले जर्मन बुन्देसलिगाको फुटबल क्लब बोरुसिया डर्टमण्डका दुई खेलाडीले पनि आ-आफ्नै तरिकाले उक्त घटनाको विरोध जनाएका छन् ।

उक्त घटनाको विरोध स्वरुप बोरुसिया डर्टमण्डका दुई खेलाडी जेडन सान्चो र आचारफ हाकिमीले फ्लोयडको हत्याको विरोधमा अनौठो प्रदर्शन गरेका छन् । उनीहरुले घटनाको विरोधमा ुजस्टिस फोर फ्लोएडु लेखिएको भित्री टी(शर्ट लगाएर आईतबार राति फुटबल खेलेका थिए ।

बोरुसिया डर्टमण्डका स्ट्राइकर जेडन सान्चोले पेडरबर्नविरुद्ध गोल गरेपछि जर्सी उचाल्दै भित्री टि–शर्टमा जर्ज फ्लोएडका लागि न्याय संकेत लेखिएको ‘जस्टिस फोर जर्ज फ्लोएड’ देखाएका थिए । शनिबार बुन्डेसलिगाका सबै खेलहरुमा फुटबलरहरुले जर्जका लागि न्याय माग गरेका थिए । जसलाई अन्य खेलकुदका हस्तीहरुले पनि साथ दिएको थियो ।

त्यस्तै, जर्मन बुन्देसलिगाकै क्लब बोरुसिया मोइचेनग्ल्याडब्याचका फ्रेञ्च फुटबलर मार्कस थुरामले पनि बुन्डेसलिगामै युनियन बर्लिनबिरुद्धको खेलमा गोल गरेपछि आफ्नो घुँडा मैदानमा राखेका थिए । थुरामको संकेत सन् २०१६ मा अमेरिकी फुटबलका क्वार्टरब्याक कोलिन केपरनिकले राष्ट्रिय गान गाउँदा अमेरिकामा जारी रङ्गभेदबिरुद्धको शैलीसँग मिल्दोजुल्दो थियो ।

आफ्नो सक्रिय करिअरमा सामाजिक मुद्दाहरुमा खासै टिप्पणी नगर्ने अमेरिकन बास्केटबल लिजेण्ड माइकल जोर्डनले पनि रङ्गभेदको खुलेरै आलोचना गरेका छन् । अमेरिकी पूर्व बास्केटबल खेलाडी माइकल जोर्डनले पनि ट्वीट गर्दै उक्त घटनाको विरोधमा आक्रोश पोखेका हुन् । उनले विभेदकारी कानून परिवर्तनका लागि दवाब दिन जातीय झडप र अन्यायको कारण आफ्नो ज्यान गुमाएकाहरुको समर्थनमा सँगै भेला भएर जातिवादविरूद्ध आवाज उठाउनु पर्ने लेखेका छन् ।

त्यस्तै, अर्का एनबीए बास्केटबल स्टार लेब्रोन जेम्सले ट्वीटरमा “अमेरिकाले हामीलाई किन माया गर्दैन” भनेर लेखेका छन् । त्यसैगरी, टेनिस स्टार सेरेना विलियम्सले पनि रंगभेदी ब्यवहार विरुद्ध इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेकी छन् । टेनिसकै अर्की उदीयमान खेलाडी कोको गउफले पनि आफ्नो इन्स्टाग्राममा “के अब मेरो पालो हो रुू भनेर एउटा प्रश्न गरेकी छिन् ।

ुजस्टिस फोर जर्ज’ नारा लगाउदै शुरु भएको विरोध अहिले पुरै अमेरिकाभरि आगो झै सल्किएको छ । कतिपय स्थानमा यसले हिंसात्मक रुप पनि लिइरहेको छ । पछिल्लो समय अमेरिकामा अश्वेत नागरिकहरु माथि हुँदै आएको प्रहरी ज्यादतीको विरोध फ्लोएडको मृत्युपछि चरम् बिन्दुमा पुगेको छ ।

अश्वेत नागरिक फ्लोएडलाई एउटा ठगी मुद्दाको आरोपमा मे २५ मा प्रहरीले गिरफ्तार गरेको थियो । गोरा प्रहरी डेरेक चभिनले गिरफ्तारीकै क्रममा हतकडी लगाएका फ्लोएडलाई सडकको छेउमा लडाएर झण्डै ९ मिनेटसम्म बलपुर्वक घाँटीमा थिच्दा ज्यान गएको थियो ।

फ्लोएडले घाँटी थिचिंदै गर्दा बारम्बार साँस फेर्न नसकिरहेको बताउँदा पनि चभिनले नछोडेको भिडियो सार्वजनिक भएपछि अमेरिकाका अश्वेत नागरिक मात्र नभई गोराहरुले पनि विरोध गरिरहेका छन् ।

घटनामा संलग्न चारै जना प्रहरीलाई बर्खास्त गर्नुका साथै चभिनमाथि “थर्ड डिग्री मर्डर” चार्ज लगाइएपनि आन्दोलनकारीहरुले त्यो काफी नभएको बताउदै आएका छन् । उनीहरुले अन्य तीन प्रहरीलाई पनि कडा सजाय दिनुपर्ने माग उठारहेका छन् । उक्त आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि हाल अमेरिकाको ४० शहरमा कर्फ्यु लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्