एन्फा अध्यक्षविरुद्ध चार जिल्ला संघको उजुरी



न्युज अफ नेपाल, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाही हुनुपर्ने माग गर्दै चारवटा जिल्लाका फुटबल संघले प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

एन्फामा अनियमितता र राजनीति हावीका कारण फुटबल प्रभावित बनेको भन्दै एन्फा आबद्ध चार जिल्ला संघहरुले प्रधानमन्त्री कार्यालयमा उजुरी निवेदन दर्ता गरेका हुन् । एन्फाको नयाँ कार्यमिति भित्र ब्यापक अनियमितता र गलत कार्य शैली मौलाएको आरोप सहित एन्फामा आबद्ध चार जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ्गले सोमबार प्रधानमन्त्री कार्यालय समक्ष उजुरी दर्ता गरेका छन् ।

एन्फा आबद्ध चार जिल्ला काठमाडौंका अध्यक्ष विराटजंग शाही, एन्फाबाट निलम्बित ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुरका अध्यक्ष गौताम सुजँखुु, धादिङका अध्यक्ष दिपक खतिवडाले संयुक्त रुपमा हस्ताक्षर गरी शेर्पाविरुद्धको उजुरी प्रधानमन्त्री कार्यालयमा बुझाएका हुन् ।

एन्फाका पूर्व कोषाध्यक्ष समेत रहेको काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहीले अहिलेको नेतृत्वले फुटबल भताभुङ्ग पार्नुबाहेक अन्य कुनै शैली नअपनाएको र भ्रष्टाचार विरोधी भनेर बोल्ने एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा आफैमा भ्रष्टाचारी शैलीमा उत्रिएको आरोप लगाएका छन् ।

चार जिल्लाले संयुक्त रुपमा बुझाएको उजुरीमा अहिलेको एन्फा नेतृत्वको कार्यशैली कानुन विपरित, फिफा,एफसी र स्वयं एन्फा विपरित रहेको उल्लेख रहेको छ । उजुरीमा फुटबलको साख गिर्दै गएकोले फुटबललाई बचाउन एन्फा अध्यक्ष शेर्पालाई कारवाही गरिनुपर्ने माग समेत गरिएको छ । यही चार जिल्लाले करिब एक वर्ष अघि अहिलेका अध्यक्षविरुद्ध अनियमितताको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्