बुहारीलाई कर्तब्य ज्यान मुद्दा



घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीमा आफ्नी बृद्ध सासुको हत्या अभियोगमा प्रहरीले बुहारीलाई पक्राउ गरी ज्यान मुद्दा चलाएको छ । हत्या अभियोगमा पक्राउ पर्ने महिला मृतककै बुहारी ४० वर्षीया निरा खत्री अधिकारी रहेको प्रहरीले जनाएको छ ।

स्थानीय कावासोती नगरपालिका ८ शितलचोक निवासी ८२ वर्षीया बृद्धा जसुदा अधिकारीेको शनिबार विहानै मृत्युको खवर फैलिएको थियो ।

बृद्धाको शौचालय जांदा लडेर घाइते भई अस्पताल लैजादै गर्दा मृत्यु भन्ने खवर पाएको प्रहरीले मृतकको शरीरमा लागेका घाउ चोट र घटनाको प्रकृतीलाई संकास्पद रुपमा लिएको थियो ।

त्यस लगतै निरा विरुद्ध आफ्नै पति चन्द्रकान्त अधिकारीले आमा जसोधा अधिकारीको मृत्यु पत्नी निराको कुटपिटबाट भएको हो भनि प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले मृतकको टाउकोमा पटक पटक प्रहार गरी घाउ चोट बनाएको देखिएको र घटना स्थल अस्वभाविक अवस्थामा रहेको जनाउदै वारदातमा संलग्न बुहारी निरालाई पक्राउ गरेको थियो ।

विहान ४ः३० बजेको समयमा वुहारी निरा खत्री अधिकारीले आफ्ना पति शौचालय जान उठेका बेला आमाले बाबु, बाबु भनि बोलाएकाले शौचालयमा लडेको हुनसक्ने बताएकी थिईन ।

पति चन्द्रकान्तका अनुसार निराको भनाईसंगै आमालाई तल झरी हेर्दा रगताम्य अवस्थामा घाइते भएको देखी जिल्ला अस्पताल पुर्याए पनि अस्पताले बृद्धाको मृत्यु भईसकेको जनाएको थियो ।

प्रहरीले मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाए थियो । स्थानीयले बृद्धाको मृत्यु लडेर नभई हत्या नै भएको आशंकामा स्पष्ट छानविन हुनुपर्ने माग सहित शनिबार शव उठाउन दिएका थिएनन् ।

पक्राउ परेकी निरा खत्री अधिकारी माथि कर्तब्य ज्यान मुद्दामा नवलपुर जिल्ला अदालतबाट आईतबार म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिप्रका पूर्वी नवलपरासीका सूचना अधिकारी प्रनाउ, मोहन बहादुर खांणले बताउनु भयो ।

घटनाबारे नेपाल महिला संघ क्षेत्र नं. १ पूर्वी नवलपरासी र मानव अधिकारका लागि एकल महिला संघले छुट्टा छुट्टै विज्ञप्ती निकालेर घटनाको सत्य तथ्य जांच बुझ र दोषी माथि कडा कार्यबाहीको माग गरेकाछन् ।

 

प्रतिक्रिया दिनुहोस्