लद्दाख सीमा विवाद बढ्दै, चिनियाँ सेना फिर्ता हुनुपर्ने भारतकाे अडान



एजेन्सी ।

चीन र भारत सीमानामा विगत २५ दिनदेखि भारतको लद्दाखमा दुबैदेशबिच बढेको तनाव झन बढ्दै गएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमुन्नेसामुन्ने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

सैन्य तथा कुट्नीतिक स्तरमा उत्पन्न तनावलाई रोक्ने प्रयासहरू जारी नै रहेको अवस्थामा दुबै देशले सम्भावित भिडन्तलाई ध्यानमा राख्दै सैन्य हतियार र सैनिक बढाएको भारतीय सन्चार माध्यमले जनाएका छन।

भारतीय एक मिडिया टाइम्स अफ इण्डियाले आफ्नो समाचारमा श्रोतको हवाला दिदैं चिनियाँ सेनाले पूर्वी लद्दाखको नियन्त्रण रेखा नजिक आफ्नो सैन्य रणनीति अन्तरगत आर्टलरी बन्दुक, पैदल सेनाको लडाई सवारी साधन र भारी सैन्य उपकरणहरु क्रमिकरूपमा थपिरहेको जनाएको छ।

यसैगरी भारतीय सेनाले पनि त्यहाँ अतिरिक्त सैनिकको साथसाथै उपकरण र तोपखानाको बन्दुक जस्ता हतियारहरू बढाउन सुरू गरेको छ।

भारतीय वायुसेनाले त्यहाँ कडा हवाइ निरिक्षण गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ।

यस महिनाको सुरूमा चिनियाँ सेना भारतीय सीमा पार गरेर पांगगोङ सो र गलवान उपत्यकामा क्याम्प बनाएर बसेपछि त्यहाँ तनाव उत्पन्न हुन सुरू भएको हो।

भारतीय सेनाले चिनियाँ सेनाको यो घूसपैंठको कडा विरोध गर्दै आएको छ र सो क्षेत्रको शान्तिका लागि उनीहरू अविलम्ब फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ।

चीनले त्यहाँ करिब २५ सय सैनिक तैनाथ गरेको र उनीहरूले अस्थायी संरचना र हतियारहरूको बढाइरहेको भारतले जनाएको छ।

यध्यपी यसको आधिकारिक संख्या पुष्टि हुन सकेको छैन।

श्रोतको हवाला दिदैं टाइम्स अफ इण्डियामा प्रकाशित समाचारमा भूउपग्रहबाट लिइएका तस्वीरमा चीनले सैन्य संरचनाहरू निर्माण बढाइरहेको भेटिएको उल्लेख छ।

भारतीय सेनाले चीनको यस कदमलाई आफूमाथि दबाब बढाउने चिनियाँ रणनीति भएको निष्कर्ष निकालेको छ।

चिनियाँहरूको यो चलाखीका बारेमा सचेत रहदै भारतीय सेना आफ्नो अडानमा अडिग रहेकाे  र यी क्षेत्रमा पूर्वतः अवस्था नआउँदासम्म केही स्वीकार नगर्ने एक वरिष्ठ भारतीय सैन्य अधिकारीले भने।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले शनिबार समस्या समाधानका लागि चीनसँग सैन्य तथा कुटनीतिक तहमा द्विपक्षीय वार्ता भइरहेको बताएका थिए।

चीनले यी क्षेत्रमा सडक बनाइरहेकोमा भारतको आपत्ति रहँदै आएको छ।

मार्च ५ बजेको साँझ करिब २ सय ५० को संख्यामा रहेका चिनियाँ र भारतीय सेनाबीच हिंसात्मक झडप भएको थियो। दोश्रो दिन पनि झडप दोहोरिएपछि दुबै पक्षले त्यसलाई बन्द गर्ने सहमति गरेका थिए तर त्यो क्रम अझै रोकिएको छैन।

दुबै सेनाबिच यस्तै किसिमको झडप मे ९ मा उत्तरी सिक्किम सीमामा पनि भएको थियो।

यसअघि सन् २०१७ मा पनि दोख्लाममा पनि ७३ दिनसम्म दुबै देशबिच सैन्य तनाब चलेको थियो।

चीनले अरूणाचल प्रदेश आफू शासित तिब्बतको दक्षिणी भाग भएको दाबी गर्दै आएको छ भने भारतले त्यसलाई अस्विकार गर्दै आएको छ। दुबै देशबिच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमामा विभिन्न स्थानमा विवाद रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्