राजधानीमा ठूला गाडीलाई जोड दिऔं



केही वर्षअघि राजधानीमा साझा यातायातका फराकिला बस गुड्न थाल्दा धेरैले सार्वजनिक सवारी सुध्रने सोचेका थिएनन् । निजी व्यवसायीसँग मिलेर काठमाडौं महानगरपालिकाले चलाएको रात्रिबस असफल भएकै बेला साझाको सडक आगमनलाई धेरैले विश्वास गरिरहेका थिएनन् । तर अहिले त्यही साझा यातायातले राम्रो सुविधा दिएको छ ।

लगनखेल, लैनचौर, महाराजगन्ज हुँदै नयाँ बसपार्क र कलंकी, त्रिपुरेश्वर, नयाँ बानेश्वर, एयरपोट रुटमा चल्न शुरु भएको तीन वर्षमै साझाले राजधानीको सार्वजनिक यातायातमा प्रत्यक्ष अनुभव गर्न सकिने परिवर्तन ल्याइदिएको छ ।

शुरुमा निजी यातायात व्यवसायीको सिन्डिकेट छिचोलेर सडकमा हस्तक्षेप गर्न पुगेको साझाले अहिले तिनै निजी व्यवसायीलाई आफ्नो बाटोमा कुदाएको छ । साझाको आगमनले निजी व्यवसायीको मनस्थिति मात्र परिवर्तन गरेको छैन, यात्रुलाई सास्तीको साटो सुविधा दिने कम्पनीमा समेत रूपान्तरण गरिसकेको छ । साझा यातायात निजी क्षेत्रको मनोमानीविरुद्धको एउटा सशक्त सामुदायिक हस्तक्षेपको उदाहरण बनेको छ ।

साँघुरा गाडीमा गुन्द्रुकझैँ कोचिएर यात्रा गर्न बाध्य हामी सर्वसाधारणले साझाका फराकिला बस रोज्न थालेपछि सिन्डिकेटको भरमा राज गर्दै आएको निजी क्षेत्र पनि यस्तै सुविधायुक्त यातायात शुरु गर्न बाध्य भएको छ । आजको आवश्यकता पनि ठूला गाडीको हो । मान्छेको चापअनुसारका गाडी व्यवस्थापन नगरी सिन्डिकेटमा चलेकाहरुलाई पनि यसले ठूला गाडी हाल्न दबाब दिएको छ ।

साझापछि अहिले निजी क्षेत्रबाट पनि उस्तै सुविधायुक्त बस सेवा शुरु भएका छन् । यो राम्रो पक्ष हो । तिनको विस्तार हुँदै जान जरुरी छ । राजधानीका विभिन्न रुटमा हाल महानगर, सिटी मेट्रो, दुप्चेश्वर ओरेन्ज बस, गोकर्णेश्वर, मध्यउपत्यका, स्वयम्भूलगायत ठूला बस चल्न थालेका हुन् ।

अन्य कम्पनीबाट पनि ठूला बस हाल्न जरुरी छ । अझै पनि उपत्यकाका अधिंकाश रुटमा माइक्रो, टेप्पो र मिनीबसकै एकाधिकार भए पनि निजी क्षेत्रको ठूला सवारीप्रति बढ्दो लगावले सुधार भने ल्याउने विश्वास गर्न सकिन्छ । बेलैमा यस विषयमा सोच्न जरुरी छ ।
– निरज श्रेष्ठ, भक्तपुर ।

 

प्रतिक्रिया दिनुहोस्