बस्ती झर्दै वन्यजन्तु



चिरञ्जीवी मास्के, दोलखा ।

लकडाउनमा प्रकृतिको सुन्दरतालाई कैद गर्न कालिञ्चोक उक्लिएका फोटो पत्रकार जीवन लामा सडक छेउको एउटा दृश्यले झस्किए । झन्डै २ हजार मिटरको आसपास सडकको डिलमा एउटा सुनौलो रंगको पक्षी, डाँफे बसेको थियो ।

अनौठो पक्षी, डाँफे भनेर पहिचान गरी फोटो खिच्न नभ्याउँदै त्यो जंगलतिर उडेपछि लामासँग थकथकाउनुको विकल्पै रहेन ।
‘अनौठो पक्षी देख्नासाथ क्यामेरा झिकेर त्यसलाई कैद गर्न सकेको भए मेरो जीवनकै महत्वपूर्ण फोटोग्राफी हुने थियो’, लामाले थकथकाउँदै भने– ‘त्यस्तो रंगको पक्षी कहिल्यै नदेखेकाले म त अत्तालिएर फोटो खिच्नतिर हैन साथिहरूलाई बोलाउनतिर पो लागेछु !’

लामो समयको लकडाउनका कारण वातावरणको स्वच्छता, मानिस तथा यातायातका साधनको चहलपहलमा कमी जस्ता कारणले अहिले दुर्लभ तथा संरक्षित वन्यजन्तुहरू बस्तीनजिक देखिन थालेका छन् । ४ हजार मिटरको उचाइसम्म पाइने डाँफे लकडाउनको यो अवधिमा तल–तल बस्तीतिर झर्न थालेको कालिञ्चोकका स्थानीय बताउँछन् ।

रतुवा मृग, घोरल, रेड पान्डालगायतका दुर्लभ वन्यजन्तु लकडाउनका समयमा मानव चहलपहल घटेको र वातावरण स्वच्छ भएको मौका छोपेर बस्तीतिर झरेको गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाह बताउनुहुन्छ ।

बुधबार मात्र गौरीशङ्कर संरक्षण क्षेत्रले बस्तीतिर झरेको रतुवा मृगको उद्धार गरेको संरक्षण क्षेत्रका प्रमुख शाहले बताउनुभयो । दोलखाको विगु गाउँपालिका–५ लाइसेपका खिमबहादुर खड्काले गोठमा गाई–गोरु फर्काउन जाँदा रतुवा मृगको पाठोलाई भेटेपछि घरमा ल्याएका थिए । उक्त पाठोलाई खड्काले गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख शाहलाई दिएका हुन् ।

त्यसै गरी केही समयअघि विगु गाँउपालिका–१ जगत्मा बस्ती आसपास रतुवा मृगको बच्चा स्थानीयले फेला पारेर गौरीशङ्कर संरक्षण क्षेत्रलाई बुझाएका थिए । संरक्षण क्षेत्रमा अब रतुवा मृगको बच्चा दुईवटा भएको संरक्षण क्षेत्र प्रमुख शाहले बताउनुभयो ।

दुवै बच्चालाई ठूलो भएपछि उनीहरूको प्राकृतिक बासस्थानमा लगेर छोडिने संरक्षण क्षेत्र प्रमुख शाहको भनाइ छ ।
लकडाउनकै अवधिमा विगु गाउँपालिका–४ मा रहेको सिंगटी बजारमा घोरल देखापरेको थियो । बजार छिरेको घोरल अलमलमा परेपछि स्थानीयले उद्धार गरी संरक्षण क्षेत्रलाई बुझाएका थिए । उक्त घोरललाई स्थानीयकै सहयोगमा उसको प्राकृतिक बासस्थानमै छोडिदिएको संरक्षण प्रमुख शाहले बताउनुभयो ।

संरक्षण क्षेत्रको कार्यालय रहेको सिंगटीमा तामाकोसीपारि जङ्गलमा पनि प्रशस्तै मृग तथा घोरल रहेको र ती वन्यजन्तु अहिले बस्तीको निक्कै तलसम्म आउने गरेको शाह बताउनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्