संविधान संशोधन र बजेट एकसाथ पारित हुने

संसद्मा पेस भयो संविधान संशोधन विधेयक



नेपाल समाचारपत्र, काठमाडौं ।

संविधान संशोधन र आर्थिक वर्ष २०७७/०७८ को बजेट एकसाथ पारित हुने भएको छ । बहुप्रतिक्षित संविधान संशोधनको विधेयक संसद्मा पेस भएको छ । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेस भएको हो ।

नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) मा समावेश गर्न संविधान संशोधनको विधेयक पेस गरिएको छ । आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक–२०७७’ पेस गर्नुभयो ।

संसद् सचिवालयले मंगलबार संविधान संशोधनको सूचना प्रकाशित गर्नेछ । सूचना जारी भएको सात दिनपछि पनि ७२ घन्टा संशोधन हाल्न पाइने प्रावधान रहेको छ । सदनमा पेस भएको दोस्रो संविधान संशोधन विधेयमाथि जेठ २७ गतेमात्र छलफल हुने भएको छ । कानुनी प्रक्रिया पूरा भएपछि मात्र सदनमा विधेयकलाई कार्यसूचिमा राखिनेछ ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई संशोधन गर्न यही जेठ ९ गते दोस्रो संविधान विधेयक दर्ता गराएको थियो ।

भारतले अतिक्रमित गरेको नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भू–भाग समेटेर सरकारले राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै संविधानको अनुसूची पनि संशोधन गर्ने प्रक्रिया अघि बढाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १३ गते संसद्मा रहेका पार्टीका नेताहरूबीच सर्वदलीय बैठक आयोजना गरी राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्धरूपमा प्रस्तुत हुन र संविधान संशोधनको पक्षमा उभिन आग्रह गर्नुभएको थियो ।

त्यसै गरी बजेटमाथि जेठ २३, २४ र २५ गते मन्त्रालयगत छलफल हुनेछ । संसद् सचिवालयका एक सदस्यका अनुसार संविधान संशोधन र बजेट एकसाथ पारित हुने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्