तनहुँमा क्वारेन्टाइनमा बसेका एक पुरुषमा कोरोना पुष्टि



मिला दरै,तनहुँ ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउ स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा बसेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट आएका ऋसिङ गाउँपालिका–४ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कोरोना परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएकोमा आइतबार रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण गरिएकोमा कोरोना पुष्टि भएको हो ।

संक्रमित पुरुषको स्वास्थ्य अवस्था भने सामान्य रहेको उहाँले बताउनुभयो । संक्रमित पुरुष जेठ १० गते भारतबाट २४ जनाको समूहमा जिल्लामा ल्याइएको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताउनुभयो ।

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा स्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा उपचारको आइसोलशनमा राखी उपचार गरिने भएको उहाँले बताउनुभयो । सोतीका अनुसार आदिकविको क्वारेन्टाइनमा उनीसँगै ९१ जना बसेका छन् ।

उनीसँगै भारतीय सिमानाकाबाट विभिन्न स्थानीय तहका गरी २४ जनालाई ल्याइएको थियोे । जिल्लामा हालसम्म संकलन भएर नतिजा आएकामध्ये तीन सय १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने तर क्याम्पसको क्वारेन्टाइनको रिपोर्टको नतिजाका आधारमा सोही क्वारेन्टाइनमा बसेका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पोखरास्थित क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदबिन्दु शर्माद्वारा निकालिएको विज्ञप्तिमा युवक ऋषिङ गाउँपालिकाकै क्वारेन्टाइनमा रहेको भनिएको छ । ऋषिङ गाउँपालिकाका केही व्यक्ति आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा पनि छन् ।

उनीहरुमध्ये ५४ जनाको शुक्रबार स्वाब संकलन गरिएकामा आएको नतिजाले एक जनामा संक्रमण देखाएको हो । अधिकारीले अहिलेसम्म प्राप्त नतिजामा ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनका व्यक्तिमा भने संक्रमण पुष्टि नभएको बताउनुभयो । हाल क्याम्पसको क्वारेन्टाइनमा ५ वर्ष मुनिका दुई बच्चा सहित ९१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्