आजकाे कथा



:- लुुना घिमिरे काफ्ले

आज कति बेला रात पर्छ‌‌ । अहो१ भोलि त मेरा‍े बाबा आउने दिन , म पनि बाबासँग खेल्न ,घुम्न पाउने भए । साथीहरुले मेरो बाबा छैन भनेर कति हेपेका थिए । छ बर्ष भएछ बाबा बिदेस जानू भएको म भर्खर जन्मेको थिए रे, त्यो बेला मैले थाहा पाए देखि नै बाबा हामी भन्दा टाढा हुनुहुन्थ्यो ।यो छ वर्ष मेरी आमालाई छ युग जस्तो भयो , अनेक दुःख ,कष्ट सहेर बिताउनु भयो ।

भोलि बाबा आउने खबरले होला ,कहिल्यै नदेखिएको आमाको अनुहार आज हासिलो देख्दैछु। मेरो गाला मुसार्दै आमाले भन्नुभयो- “छोरो अब हाम्रो दु:खका दिन गए,भोलि तेरो बाबा आएपछि छिटै एउटा घर किनेर बस्नु पर्छ,अब यो साँघुरो कोठाबाट पनि मुक्ति पाउँछौं हामीले, अनि हाम्रा सुखका दिन आउँछन्”, यस्तै कुरा गर्दै रात परेछ।

यतिकैमा बाबाको फोन आयो, बाबाले भोलि १० बजे आईपुग्छु मिठो मिठो खाने कुरा बनाएर राख्नु, अनि तिम्रो लागि र आमाका लागि धेरै सामानहरू ल्याईदिएको छु भन्नू भयो। म खुशी हुदै यत्तिकै निदाएछु । बिहान छिट्टै उठेर आफ्नो सधैं गर्ने काम सकेर आमाको नजिक गए । आमा मिठामिठा परिकार बनाउँदै आफ्नै सुरमा गित गाउदै हुनुहुन्थ्यो । म पनि चिया खाजा खाएर खेल्न थाले । त्यहि बेला हाम्रै घर अगाडि गाडीको आवाज सुने र कुद्दै गेटतिर गएँ । आमा पनि मेरो पछिपछि आउनु भयो । आमाले गाडी तिर देखाउँदै बाबा आउनु भयो भन्नू भयो ।

पहिलो पल्ट बाबाको अनुहार देख्न पाएर म धेरै खुशी भएँ । बाबा पनि मलाई देखेर खुशी भइ मलाई बोक्नु भयो । आमा पनि आँखाभरि आँसु पारेर गाडिबाट सामानहरू निकाल्दै हुनुहुन्थ्यो । त्यही बेला एउटा गाडी हामी नजिकै आएर रोक्कियो । गाडीबाट केही मानिसहरू उत्रिए र भने – “एकछिन पर्खनुहोस्” म अचम्ममा परेर हेरि मात्र रहे, हामी उहाँलाई लिन आएका भन्दै बाबातिर देखाए । म छक्क परे, मेरो बाबाले के अपराध गर्नु भयो र लिन आएका होलान् यिनिहरूरु आमा केही नबोलि भुईमा थचक्क बसेर रून थाल्नुभयो ।

ती मानिसहरू सबैले एकैखालका लुगा लगाएका, मुखमा मास्क लगाएका, हातमा पञ्जा, आँखामा चश्मा लगाएका थिए। त्यहि भएर मैले चिन्नै सकिन को थिए भनेर, यस्ता मान्छे त मैले कहिलेकाहिं टिभिमा ९सिआईडि० हेर्दा चाहिँ अपहरणकारीको रूपमा देखेको थिए । मलाई धेरै डर लाग्यो। बाबालाई अपहरण गर्न गाडी चढेर आएका अपहरणकारी त हैनन्। उनिहरूले बाबाले ल्याएको सबै सामानसहित बाबालाई पनि गाडीमा राखेर लगे। हाम्रो सपना चकनाचुर भएको ठानें। आमालाई धेरै प्रश्न गरें किन बाबालाई रोक्नुभएन भनेर।

आमा केही बोल्नु भएन, परपरबाट मानिसहरू हामीलाई हेर्दै फर्किए तर कोहि नजिक आएनन्। आज ३० दिन भएछ बाबालाई उनिहरूले लगेको पनि, बाबालाई लगेकै बेलादेखि आमा घरबाहिर पनि निस्कन छोड्नुभयो। म पनि कोठामै बसिरहेको छु, स्कुल जान पनि पाएको छैन, बाटो सुनसान छ कुनै गाडी बिना, साथिहरूपनि म सँग खेल्न आउदैनन्, बेलाबेला पुलिसको गाडीको आवाजले मन झसङ्ग भई आमाको नजिक गएर बस्छु। यस्तो दुस्खको बेला पनि हाम्रो घरमा कोहि किन आउदैनन् होलारु आमापनि धेरै डराएको जस्तो लाग्छ।

आज बिहानै उठेर आमा समाचार सुन्दै हुनुहुन्थ्यो। यत्तिकैमा मोबाईलको घण्टी बज्यो र मैले आमालाई दिएँ। आमाले उठाउनु भयो- उताबाट आवाज आयो “तपाईंको श्रीमानको कोरोना भाईरसको कारणले मृत्यु भयो, अब तपाईं र छोरालाई पनि हामी लिन आउँदैछौ, १४ दिनको लागि तपाईहरू पनि क्वारेन्टाइनमा बस्नु पर्छ।”

आमा केही बोल्न नसकि लर्खउराउदै त्यहि ढल्नुभयो। मैले घरबेटि अंकल आण्टीलाई बोलाउन जादा चेनगेटबाटै यता नआइज भनेर पठाउनु भयो। एकैछिनमा बुबालाई पहिले लेर जाने जस्नै मान्छेहरू आए र आमा र म दुवैलाई गाडीमा राखे। म रोए, कराए, चिच्याए तर मेरो आवाज कसैले सुनेनन्।

भगवान पनि कति निर्दयी रहेछन्, हाम्रो घरमा फर्किन लागेको खुशी खोसेर लाने। के रहेछ यो कोरोना भाइरसरु न पहिला कहिल्यै सुनेको थिए, न त यस्को कारणले मान्छे मरेको नै थाहा पाएको थिए, आज पनि मलाई थाहा छैन कस्तो रोग होला यो? अरू जुनै रोग लागेपनि सबैजना घरमा आएर सोधखोज गर्थे, भेट्थे, अस्पताल लैजान्थे, घरका अरूलाई केही हुन्न भन्थे, मानिसको मृत्यु हुदा लास घरमा ल्याएर सबै मिलेर घाटमा लैजान्थे तर यो रोग साह्रै निष्ठुरी ,निर्दयी, पापी र अपराधी रहेछ, हे भगवान! यस्को अन्त्य कस्ले र कहिले गर्ला ताकि मैले जस्तो बाबा कसैले गुमाउनु नपरोस्।

प्रतिक्रिया दिनुहोस्