खेलकुदमा छुट्याइएको बजेट निराशाजनक : प्रकाशमान सिंह



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यसपटक खेलकुद क्षेत्रमा छुट्याइएको बजेट निराशाजनक भएको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको बार्षिक अनुमानमाथिको प्रतिनिधि सभामा आइतबार भएको सामान्य छलफलमा कांग्रेस नेता सिंहले खेलकुद क्षेत्रमा छुट्याइएको बजेट न्यून भएकोले निराशाजनक बताएका हुन् ।

नेता सिंहले सरकारले १५ जेठमा प्रस्तुत गरेको बजेटले खेलकुद क्षेत्रलाई निराश पारेको बताएका छन् ।प्रमुख प्रतिपक्षी दलका नेता सिंहले भने,(‘‘तेह्रौं सागमा प्रधानमन्त्रीले मेरो पालामा यति ठुलो सफलता हासिल गरेको भनेपनि यसपटक युवा तथा खेलकुद मन्त्रालयलाई विनियोजन गरेको रकमले देशभरका खेलाडीलाई निराश बनाएको छ ।’’

सरकारले बजेटमा दुई अर्ब ३६ करोड रकम विनियोजन गरेको छ । जुन गत वर्षको तुलनामा चालीस प्रतिशत कम हो । गत वर्ष सरकारले तीन अर्ब ९९ करोड रकम विनियोजन गरेको थियो । गत वर्ष भन्दा यस पटक सरकारले एक अर्ब ६३ करोड रूपैयाँ कम बजेट विनियोजन गरेको हो ।

बजेटमा खेलाडीको क्षमता विकास गर्नकै लागि भनेर विनियोजन गरिएको छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले यसअघि नीति तथा कार्यक्रममा समावेश गरिएको कुरालाई बजेटले सम्बोधन नगरेको भन्दै निराशा व्यक्त गरेका थिए ।

नीति तथा कार्यक्रममा १३औं सागमा नेपालले हालसम्मकै बढी ५१ स्वर्णसहित २ सय ७ पदक जितेको र राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्‍ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्न सकिने गरी खेलाडीको क्षमता विकास गरिने उल्लेख गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले पनि बजेटका सैद्धान्तिक पक्षलाई कार्यान्वयन गर्न विनियोजन गरेको रकम अपुग हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्