स्मार्ट स्ट्रीट साइन बोर्ड आवश्यक



उपत्यकामा बस स्टपहरुमा स्मार्ट स्ट्रीट साइन बोर्ड राख्न आवश्यक छ । काठमाडौंका मुख्य बस स्टपहरुमा यात्रुलाई कहाँ जाने बस कहाँनेरबाट पाइन्छ भन्ने जानकारी नहुँदा समस्या भएको छ । डिजिटल स्वरुपको बस स्टप साइनबोर्ड तत्काल मुख्य बस स्टपहरुमा जडान गर्नुपर्ने अहिलेको आवश्यकता पनि हो । सुन्धाराअघि बस कुरिरहेका यात्रु पेटी छाडेर रोडमै बस कहाँ जाने भन्ने सोध्न आइपुग्छन् । बसहरु पनि सडकमै यात्रु हाल्छन् । त्यहाँ धेरै यात्रु कहाँ जाने बस कहाँ रोकिन्छ भन्ने थाहा नपाएर अलमलमा हुन्छन् । यसरी यो समस्या समाधानको उपाय स्मार्ट साईनबोर्ड नै हो ।

बस स्टपहरुमा यात्रुले स्पष्टरुपमा देख्ने गरी डिजिटल बोर्डहरु नराखेसम्म काठमाडौंको ट्राफिक जामको समस्या समाधान गर्न पनि गाह्रो पर्छ । बोर्ड राखेमा ट्राफिक व्यवस्थानमा पनि सहयोग पुग्छ । यस्ता बोर्डहरु राखेर ट्राफिक कारबाही चुस्त नगर्दा जहाँ मन लाग्यो त्यहीँ बस र सार्वजनिक सवारी रोकेर यात्रु हाल्ने प्रचलन पनि बढेको जस्तो मलाई लागेको छ । यात्रुहरु अलमलमा पर्दा र सडकसम्म बस खोज्दै आउँदा दुर्घटनाको पनि जोखिम बढ्छ ।

त्यसकारण काठमाडौं उपत्यकामा अब स्मार्ट स्ट्रीट साइन बोर्ड राख्नुपर्ने टड्कारो आवश्यकता छ । स्मार्ट बोर्डहरु राखेर बसलाई यात्रु हाल्न र ओराल्न एक–दुई मिनेटभन्दा बढी समय रोक्नै दिन नहुने नियम बनाउनुपर्ने जस्तो मलाई लागेको छ । भित्रका यात्रु ओरालेर बाहिरका यात्रु चढाएपछि बस त्यहाँ रोकिराख्न दिनै हुँदैन । त्यसैले स्मार्ट स्ट्रीट साइन बोर्डबारे महानगरपालिकाले छिट्टै निणर्य गर्नु जरुरी छ । ध्यान जाओस् ।
– स्वरुप बलायर, पुतलीसडक, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्