सङ्क्रमितको पुनः कोरोना परीक्षण गरिँदै



बैतडी ।

बैतडीका कोरोना सङ्क्रमितको पिसीआर परीक्षण पुनः गरिने भएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने भएको हो । स्वाब सङ्कलनपश्चात परीक्षणका लागि धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो ।

जेठ ९ गतेदेखि आइसोलेसनमा रहेका ती युवकमा कोरोना ठिक भए÷नभएको जानकारी लिन पिसीआर परीक्षण गरिन लागिएको हो । सङ्क्रमित पुष्टि भएको कम्तीमा पनि एक हप्तामा पिसीआर परीक्षण गर्ने गरिन्छ । लगातार दुई पटकसम्म पिसीआर रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमित निको भएको पुष्टि हुने र त्यसपछि डिस्चार्ज गरिने उहाँले बताउनुभयो । सङ्क्रमितको एक हप्तापछि २४ घण्टा लगातार दुईपटक पिसीआर परीक्षण गर्ने गरिन्छ । गत वैशाख १५ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती युवकमा जेठ ९ गते कोरोना पुष्टि भएको थियो । सङ्क्रमित ती युवक चैत ६ गते भारतबाट आएका बुझिएको छ ।

सङ्क्रमितको सम्पर्कमा रहेका सबैको रिपोर्ट नेगेटिभ

बैतडीमा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका र आरडिटी पोजेटिभ देखिएका आठ प्रहरीसहित सबै ९९ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । पिसीआर रिपोर्ट नेगेभिट आउनेमा जिल्ला न्यायाधीशसहित अदालका कर्मचारी, प्रमुख जिल्ला अधिकारीसहित प्रशासनका कर्मचारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकसहित प्रहरी, जिल्ला अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी, सङ्क्रमितका आफन्त र सङ्क्रमितसँगै थुनामा रहेका थुनुवा छन् ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । हिरासतमा रहेका ती युवकमा कोरोना पुष्टि भएसँगै कन्टयाक्ट ट्रेसिङ गरी प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । स्वाब सङ्कलन गरी पिसीआर रिपोर्ट नेगेटिभ आएसँगै प्रहरी कार्यालय पनि सामान्य अवस्थामा फर्कन थालेको जनाइएको छ ।

जिल्ला अस्पतालको आइसोलेसनकक्षको क्षमता विस्तार

जिल्ला अस्पताल बैतडीमा आइसोलेसनकक्षको क्षमता विस्तार गरिएको छ । यसअघि तीन श्ययाको क्षमता रहेको आइसोलेसनकक्षको क्षमता विस्तार गर्दै ८ श्ययाको बनाइएको हो । कोरोनाका शङ्कास्पद र सङ्क्रमित व्यक्ति राख्न सहज होस् भनेर आइसोलेसनको क्षमता विस्तार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्