क्वारेन्टिनमा खाना खुवाउने विषयमा विवाद हुँदा दुई घाइते



स्वर्गद्वारी ।

प्युठानमा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्रहरीले दुई युवकलाई कुटपिट गरेको आरोप लगाइएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाँडा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद भएपछि दुई युवकको प्रहरीको निर्घात कुटाइबाट हात भाँचिएको पीडितले बताएका छन् ।

घटनामा स्थानीयवासी ३० वर्षीय झविलाल खत्रीको दायाँ हात भाँचिएको छ भने २० वर्षीय फनबहादुर खत्री गम्भीर घाइते हुनुभएको छ । उहाँको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । जनकल्याण आधारभूत क्वारेन्टिनमा रहेकालाई खाना खुवाउने जिम्मा स्थानीयवासी खत्रीले लिएको र भात खुवाउँदा सबैलाई नपुगेपछि पुनः पकाउने भन्ने विषयमा मल्लरानी गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रबहादुर सार्कीसँग सामान्य विवाद भएको खत्रीले बताउनुभयो ।

सामान्य विवादको विषयलाई लिएर प्रहरी बोलाइएको र आफूहरुको कुरा नसुनी निर्घात कुटपिट गरिएको घाइते खत्री बताउनुहुन्छ । बुधबार बेलुका भएको घटनापछि घाइते आज मात्रै अस्पताल पुगेका छन् । वडाध्यक्ष गिरिराज पौडेलले मदिरा सेवन गरी विवाद गरेकाले प्रहरीलाई आफूहरुले बोलाएको तर क्वारेन्टिनमा कुनै कुटपिट नभएको जिकिर गर्नुभयो । प्रहरीचौकी चुजाँठाटीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भीमबहादुर वलीले आफूले सम्झाइबुझाइ मात्र गरेको र हात भाँचिएको विषय थाहा नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्