अमेरिकामा कार्यालयहरु खुला गर्न नयाँ निर्देशिका जारी



न्यूयोर्क ।

कार्यस्थलमा कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार नयाँ नियमहरु समेटिएको निर्देशिका सार्वजनिक गरेको छ ।

प्रस्तावित निर्देशिकामा कार्यालय पुग्नासाथ कर्मचारीहरुले कोविड–१९ का लक्षणहरु भए नभएको परीक्षण गराउनु पर्ने उल्लेख छ । उनीहरुले कार्यालयमा प्रवेश गर्नुअघि आफ्नो शरीरको तापक्रम जाँच्नु पर्नेछ । दोस्रो, कार्यालयमा कार्यस्थलका डेस्कहरु कम्तीमा ६ फिटको दूरीमा राख्नु पर्नेछ ।

यदि ६ फिटको दूरी कायम गर्न नसकिए आआफ्ना डेस्कहरुको वरिपरि कडा प्लास्टिक ठड्याउनु पर्नेछ ।

तेस्रो, कोरोनाभाइरस संक्रमणबाट बच्न कार्यालयका खुला स्थानहरुमा बस्दा निश्चित दूरी कायम गर्नुपर्नेछ । पटकपटक छुनुपर्ने सामानहरु जस्तै कफीका भाँडा, पानी चिस्याउने उपकरण, साझा खाजाहरु अलग अलग हुनुपर्ने व्यवस्था गर्न निर्देशिकामा भनिएको छ ।

कार्यालयका लिफ्ट चढ्दा आलोपालो गर्ने वा सकभर प्रयोग नगर्नेतर्फ ध्यान दिन सिडिसीले जोड दिएको छ । अमेरिकाका कतिपय राज्यहरुले महिनौंदेखि जारी कडा लकडाउन हटाउनेतर्फ कार्य गरिरहेकै अवस्थामा सिडिसीले नयाँ नियम सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्