जीवनमा वास्तविक सफलता र आभार



प्रेम रावत
जीवनमा सफलता पाउने चाहना हरेक मानिसमा हुन्छ । कोही राम्रो जागिर पाएर सफलता पाउन चाहन्छन् भने कोही ठूलो घर बनाएर । तर यी सबै कुराहरूसँगै हामीलाई के पनि थाहा हुनुपर्छ भने, वास्तविक सफलता भनेको के हो ? यस्तो के गर्न सकिएला, जसबाट जीवनमा वास्तविक सफलता प्राप्त गर्न सकिन्छ ? हरेक नयाँ दिनले आफैँमा एउटा नयाँ आशा र उमङ्गका साथमा यस जीवनलाई सफल बनाउने एउटा अर्को मौका प्रदान गर्दछ । त्यसकारण के बुझ्न आवश्यक छ भने, हामीले यस जीवनको सफलताका लागि छानिरहेको विकल्प के ठीक छ त ?

प्रायः मानिस के विश्वास गर्ने गर्छन् भने, कोही न कोही विशिष्ट व्यक्ति अवश्य पनि प्रकट हुनेछन् र आफ्ना सबै समस्यालाई चुट्कीका भरमा समाधान गरिदिन्छन् । तर यथार्थ भने त्यस्तो छैन । सत्य के हो भने, आफ्ना समस्या सुल्झाउनका लागि तपाईं आफैँ सबैभन्दा योग्य व्यक्ति हुनुहुन्छ । अतः तपाईं स्पष्ट भएर हेर्न शुरु गर्नुहोस् । उचित विकल्प चुन्नुहोस् अनि छान्नुभएको विकल्पलाई व्यवहारमा ल्याउनुहोस् । जीवनमा हामीले अवश्य पनि विकल्पलाई रोज्नुपर्छ । हामी अत्यन्तै निराशाजनक अवस्थामा भए पनि विकल्पलाई छनोट गर्नुपर्छ । कहिलेकाहीँ यो गाह्रो हुन सक्छ तर असम्भव भने हुँदैन । किनभने हामीमध्ये हरेक व्यक्तिभित्र शक्तिको एउटा ठूलो स्रोत छ ।

यसै सन्दर्भमा एउटा सानो सिंहको कथा छ । जङ्गलमा आगो लागेका कारण एउटा सिंहको बच्चो (डमरु) आफ्नी आमाबाट विछोडिएको थियो । उसकै छेउबाटै एकजना भेडा गोठालो गइरहेका थिए । उनले त्यो सानो सिंहको बच्चालाई देखेर आफूसँगै घरमा लिएर गए । उनले त्यो सिंहको बच्चालाई भेडासँगै राखिदिए । समय बित्दै गयो अनि त्यो सिंहको बच्चो भेडासँगै ठूलो हुँदै गयो ।
एक दिन एउटा ठूलो सिंह आयो अनि जोडसँग गर्जिन थाल्यो । यसै कारणले सबै भेडाहरू आफ्नो ज्यान जोगाउनका लागि यताउता लुक्न लागे । सबैलाई लुकेको देखेपछि त्यो सिंहको बच्चो पनि लुक्न गयो । ठूलो सिंहले यस्तो देखेर सोध्यो, ‘तिमी किन लुकिरहेका छौ, तिमी त सिंह हौ ।’

सानो सिंहले भन्यो, ‘त्यो त ठीक हो तर तपाईं मलाई नखानुहोस् !’
यो कुरा सुनेर ठूलो सिंहले सबै कुरा बुझ्यो । भेडासँगै बस्दा–बस्दा यो सानो सिंहले आफूलाई भेडो नै भनेर मान्न थालेछ । उसले त्यसलाई नदीको किनारमा लगेर भन्यो, ‘हेर तिमी को हौ ?’
त्यसपछि सानो सिंहले भन्यो, ‘म त ठ्याक्कै तपाईंजस्तै छु ।’
ठूलो सिंहले भन्यो, ‘हो, तिमी सिंह हौ ! आफ्नो शक्तिलाई चिन अनि जोडले गर्जना लगाऊ ।’

यो कथाको सार के हो भने, आफ्नो शक्तिलाई चिन्नुहोस् । आफ्नो साँचो स्वरूपलाई पहिचान गर्नुहोस् । वास्तविक सफलतालाई प्राप्त गर्न सबैभन्दा उत्तम विकल्पलाई चुन्नुहोस् । जुन विकल्पलाई तपाईंले चुन्नुहुन्छ, त्यसलाई व्यावहारिकरूपले आफ्नो जीवनमा ल्याउन प्रारम्भ गर्नुहोस् ।

अर्को कुरा, आभार प्रकट गर्नु, आनन्द लिनु, यी मानिसका वास्तविक प्रकृति हुन् । मानिसको जीवनमा हरेक दिन ती सृष्टिकर्ताप्रति यस्तो आभार हुनुपर्छ– ‘तपाईंले मलाई एउटा नयाँ दिन दिनुभयो । म यो दिनलाई आनन्दका साथ बिताउन चाहन्छु ।’

एउटा समयको कुरा हो । एकजना मानिस राजाको दरबारमा जागिर खानका लागि आए । राजाले उनलाई जागिर दिए । उनी राजाको एकदम धेरै सेवा गर्थे । राजाका लागि पनि उनी निकै प्रिय पात्र थिए । राजाले उनको काम र इमानदारीलाई मूल्याङ्कन गरेर उनलाई आफ्नो देशको सेनापति बनाइदिए ।

त्यसपछि दरबारमा सबैले उनलाई ईष्र्या गर्न थाले । कसरी हुन्छ, उनलाई त्यो सेनापति पदबाट हटाउने भनी हात धोएर पछि लागे । मानिसहरूले उनको जासुसी गर्न सुरु गरे । उनीहरू चाहन्थे, ‘सेनापतिलाई राजाका अघि कमजोर साबित गर्नुपर्छ ।’ मानिसले एउटा कुरा पत्ता लगाए– हरेक दिन सेनापति दरबारको काम सकिएपछि एकदम सुनसान ठाउँमा एउटा बन्द कोठाभित्र गएर घण्टौँ बिताउँदा रहेछन् ।

यो घटनालाई देखेपछि मानिसहरूले सोचे– यो कुरा राजालाई बताइदिनुपर्छ । त्यसपछि त राजाले यिनलाई नोकरीबाट निकालिदिनेछन् । मानिसहरूले राजाकहाँ उजुरी गरे । ‘महाराज, सेनापति हरेक दिन दरबारको काम सकिएपछि एउटा सुनसान स्थानमा गएर एउटा कोठाभित्र घण्टौँ बिताउँछन् । थाहा छैन, उनी के गर्छन् ?’

राजालाई बिस्तारै–बिस्तारै शङ्का बढ्न थाल्यो । केही त यसमा गडबडी अवश्य हुनुपर्छ ! एकदिन राजाले वास्तविकतालाई पत्ता लगाउने निर्णय गरे । त्यसपछि सेनापतिका पछि–पछि गए । उनले देखे– साँच्चै नै सेनापति एउटा सुनसान ठाउँमा गएर एउटा कोठाभित्र पसे । घण्टौँपछि मात्र कोठाबाट बाहिर निस्के ।

दोस्रो दिन पनि राजाले फेरि उसै गरी तिनको पिछा गरे । यसपटक उनी कोठाभित्र पसेपछि राजाले ढोका ढकढक्याए । सेनापतिले ढोका खोले । अनि, राजालाई त्यहाँ देखेर उनी आश्चर्यचकित भए । उनले भने, ‘महाराज, हजुर यहाँ के गरिरहनुभएको छ ? यो ठाउँ हजुरका लागि उपयुक्त छैन ।’

राजाले भने, ‘म हेर्न चाहन्छु– तिमी यहाँ के गरिरहेका छौ ?’ राजा कोठाभित्र पसे । उनले देखे– त्यहाँ कोठाको बीचमा एउटा ठूलो बाकस राखिएको छ । राजालाई शङ्का लाग्यो– ‘कतै यसले चोरी गरेर त्यो सामानलाई यहाँ राखेको त छैन ?!’ राजाले भने, ‘यो बाकसलाई खोल ।’ सेनापतिले भने, ‘महाराज, यो बाकसमा हजुरले हेर्नलायक त्यस्तो कुनै पनि चीज छैन ।’ अब त राजालाई अभैm धेरै शङ्का लाग्यो । उनले रिसाउँदै भने, ‘यो बाकसलाई खोल ।’

सेनापतिले बाकस खोलिदिए । बाकसमा पुराना र मैला कपडा मात्र देखेपछि राजाले सोधे, ‘यो के हो ?’ किनभने, राजाले त सोचेका थिए, त्यो बाकसभित्र सुन–चाँदी आदि कुनै चीज राखिएको हुनुपर्छ । तर, थोत्रा–पुराना, मैलो कपडा त्यसमा राखिएको थियो ।
त्यसपछि सेनापतिले भने, ‘महाराज, म तपाईंको दरबारमा आउँदा यिनै कपडा लाएर आएको थिएँ । म हरेक दिन यी कपडा लगाउने गर्छु । अनि, आफूलाई स्मरण गराउँछु– वास्तवमा म को हुँ ! यदि हजुरको दया नहुँदो हो, हजुरको कृपा नहुँदो हो त मेरो हालत यस्तै हुन्थ्यो । वास्तविकतामा मेरो हैसियत यही नै हो । मेरो हैसियत त्यो होइन, जहाँ हजुरले पु¥याइदिनुभएको छ । त्यो त हजुरको दया हो । हजुरको कृपा हो । मलाई सदा हजुरको दया र कृपाको पात्र बनेर रहनु आवश्यक छ । यही कुरालाई याद गर्नका लागि म यो कोठामा आउँछु ।’

सेनापतिको कुरा सुनेर राजाको आँखामा खुशीको आँसु बहन लाग्यो । त्यसपछि उनले प्रफुल्ल भएर आफ्नो देशको मन्त्री पदमा घोषित गरिदिए ।

यो संसारमा थाहा छैन, हामी पनि कहाँ–कहाँ भौँतारिरहन्छौँ । जुन कुरा मानिसले हामीलाई सुनाएका छन्, तिनै धारणाहरूलाई लिएर बसेका छौँ । एक–एक दिन गर्दै हाम्रो यो जीवन बितिरहेको छ । तर, हामीले जीवित हुनुको महत्वलाई बुझिरहेका छैनौँ । हाम्रो एउटा–एउटा श्वासमा अपार आनन्द भरिएको छ । हामीले त्यस चीजलाई जीवित अवस्थामै प्राप्त गर्न सक्छौँ । त्यो शान्ति र आनन्दले आफ्नो हृदयलाई पूर्ण तरिकाले भर्न सक्छौँ । यो शरीरको त प्रकृति नै हो, यसले एक न एक दिन जानै पर्छ । यद्यपि भित्रको जुन चीज छ, यो समयसँग बाँधिएको छैन । त्यसैले हरेक क्षणलाई सृष्टिकर्ताको आशीर्वाद हो भन्ने बुझेर आभार व्यक्त गरौँ अनि आफ्नो जीवनमा पूरा आनन्द लिऔँ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्