मुख्य नदीमा पानीजहाज चलाउन अध्ययन, समुद्रमा आफ्नै ध्वजावाहक पानीजहाज



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालको प्रमुख नदीहरूमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । सरकारले कोशी, नारायणी, कर्णालीलगायत ठूला नदीमा जहाज चलाउन अध्ययन गर्न लागिएको हो ।

आर्थिक वर्ष २०७७–७८ को लागि प्रस्तुत बजेट वक्तव्यमा उल्लेख गर्दै ती नदीमा पानीजहाज सञ्चालनका लागि अध्ययन गर्न लागिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

‘कोशीको चतरादेखि तुम्लिङटार, नारायणीको त्रिवेणीदेखि देवघाट हुँदै राम्दी र कर्णालीको खक्रौलादेखि खिमडीसम्म जलयातायात सञ्चालनको सम्भाव्यता अध्ययनकार्य सम्पन्न गरिनेछ ।’ –उहाँले भन्नुभयो ।

मुलुकभित्रका साथै अन्तर्राष्ट्रियरूपमा पानीजहाज सञ्चालनका लागि पूर्वाधार तथा कानुनी व्यवस्था गरिनेसमेत उहाँले जानकारी दिनुभयो । नेपालको आफ्नै ध्वजावाहक पानीजहाज भारतको आन्तरिक जलमार्गबाट समुद्रसम्म जान सक्ने गरी सञ्चालन गर्ने सरकारको तयारी रहेको उहाँले बताउनुभयो ।

सरकारले २०७५ फागुन २ गते ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गरिसकेको छ । सरकारले पानीजहाज चलाउने भनेपछि कागजको पानीजहाज बनाएर उडाइएको थियो ।

सरकारले ऐनलाई संशोधन गरेर आन्तरिक तथा अन्तर्राष्ट्रियस्तरसम्म जहाज सञ्चालनका लागि बजेट वक्तव्यमा प्रमुखताका साथ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्