खेलका लागि २ अर्ब ३६ करोड विनियोजन



नेपाल समाचारपत्र, काठमाडौं

आगामी आर्थिक वर्ष २ं०७७/७८ को वाार्षिक बजेट प्रस्तुतमा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रकम विनियोजन गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सदनमा बिहीबार प्रस्तुत गरेको बजेटमा सो रकम खेलकुदका लागि छुट्याउनुभएको हो । यो पहिलेको भन्दा कम रकम हो । चालू आर्थिक वर्षमा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ९९ करोड रकम विनियोजन गरिएको थियो । पहिलेको तुलनामा आगामी बजेटका लागि १ अर्ब ६३ करोड कम गरिएको छ ।

अर्थमन्त्री डा. खतिवडाले बजेट भाषणमा बताएअनुसार कर्णाली प्रदेशमा खेलकुद पूर्वाधारको कमी भएकाले त्यहाँ राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्नेछ । यसका लागि कर्णाली प्रदेशमा पूर्वाधार विकास गर्न, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न र थप कभर्ड हल निर्माण गर्नका लागि बजेट व्यवस्था गरिएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा आगामी हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय पूर्वाधार निर्माण र व्यवस्थापना लागि रकम विनियोजन गरिएको छ ।

खेलकुदमार्फत मुलुकको पहिचान र प्रतिष्ठाको लागि यस क्षेत्रको समग्र विकास अघि बढाउन सबै प्रदेशमा संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा खेलकुद पूर्वाधारको निर्माण, प्रतियोगिता आयोजना र प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिनेछ ।

निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा अन्य क्रिकेट रंगशाला, अन्तर्राष्ट्रियस्तरको खेलकुद परिसरको निर्माण एवं अन्य प्रादेशिक रंगशाला निर्माण शुरू गर्न आवश्यक रकम विनियोजन गरेको अर्थमन्त्रीले बताउनुभयो ।

कोरोनाका कारण खेलकुद हुन नसक्ने अवस्थामा बजेट आउन अगाडि खेलकुद मन्त्रालयलाई निकै कम रकम विनियोजन हुने अनुमानित भएको थियो । सो मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बजेट आउँदा त्यो शंका मेटेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिले त १ अर्ब ६१ करोड रकमको थियो तर बढेर आएको छ । यसलाई उत्साहजनक नै भन्नुपर्छ, यदि रकम नपुग भएमा सरकारबाट थपिन सकिनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्